सिन्धुलीमा गठबन्धनबीच चुनावी तालमेलको स्पष्ट खाका बन्न सकेन, दलीय अडान कायमै
आगामी निर्वाचनमा सिन्धुलीमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले जिल्लामा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेपनि तालमेलबारे ठोस प्रगति हुन सकेको छैन । जिल्लाको तल्लो तहसम्म गठबन्धन गरेर आगामी वैशाख ३० मा हुने निर्वाचनमा जाने निर्णय गरेका नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चा बीचको तालमेलको खासै प्रगति भने हुन नसकेको हो ।
गठबन्धनमा आवद्ध दलहरुले जिल्लाको पालिकास्तरसम्म चुनावी तालमेलको स्पष्ट खाका बनाउन नसक्दा अन्यौलता थपिएको हो । स्थानीय तहको निर्वाचन नजिकिए पनि दलहरुले अझै पनि सामान्य छलफल भन्दा बाहेक केही पनि गर्न सकेका छैनन् ।
गठबन्धनका लागि केन्द्रीय निर्देशनअनुसार पालिका स्तरसम्म संयन्त्र बनाएका उनीहरु जिल्लामा गठबन्धन गर्ने कि एकल रुपमा चुनाव लड्ने भन्नेबारेमा अझै अन्योलमा रहेका छन् । सिन्धुलीमा गठबन्धन गर्ने बारेमा केन्द्रको निर्देशनको पालना गर्ने बाहेकका कुनै पनि काम हुन नसकेको एकीकृत समाजवादी पार्टी सिन्धुलीका अध्यक्ष सुर्यबहादुर पाख्रिनले बताए ।
निर्वाचनमा गठबन्धन गर्ने बारेमा दुई ठुला दलले खासै चासो नदेखाएको उनको भनाई छ । आगामी निर्वाचनमा गठबन्धन गर्ने बारेमा जिल्लामा छलफल तथा बैठकहरू भएको भएपनि भागबण्डा, रणनीतिका बारेमा भने कुनै तयारी नभएको उनले बताए ।
यता सिन्धुलीमा गठबन्धनको अभिभावकीय भूमिका निर्वाह गर्ने अवसर पाएको नेपाली काँग्रेसका सभापति उपेन्द्र पोखरेलका अनुसार आगामी निर्वाचनमा गठबन्धन गर्ने विषयमा सामान्य छलफल भएको तर पदीय भागबण्डाका बारेमा कुनै तयारी नै भएको छैन । उनले अझै पनि जिल्लामा गठबन्धनका दलहरूको अवस्था र मत सर्वेक्षणको काम भइरहेको बताए । उक्त मत सर्वेक्षणको निर्णयअनुसार केन्द्रले दिएको निर्णय नै मान्नुपर्ने अवस्था भएकाले आगामी निर्वाचनको भागबण्डाको खाका जिल्लाले तयार नपारेको उनी बताउँछन् ।
उनले प्रतिगमनका विरुद्धमा केन्द्रीय तहमा बनेको गठबन्धनलाई जिल्ला र पालिका तहको निर्वाचनसम्म कायम राखेर संविधानको रक्षाका लागि विभिन्न समयमा गठबन्धनको छलफल भएको र केन्द्रीय निर्देशन अनुसार उम्मेदवार भने सार्वजनीक नगरिएको बताए । गठबन्धनका दलहरूको चित नदुखोस् भन्नका लागि पनि केन्द्रीय निर्देशन नआएसम्म उम्मेदवारहरू सार्वजनिक नगरिने उनको भनाई छ ।
उता गठबन्धनको दोस्रो ठुलो दलका रुपमा रहेको माओवादी केन्द्र सिन्धुलीको हकमा एकल रुपमा निर्वाचन लड्दा पनि जित्नसक्ने थुप्रै आधार भएकाले गठबन्धनको छलफलमा मात्र भाग लिइरहेको छ । माओवादी केन्द्र सिन्धुलीका संयोजक राजन दाहालका अनुसार जिल्लामा गठबन्धनको छलफल भएपनि उम्मेदवार र पालिकाको भागबण्डाको विषयमा ठोस निर्णय भएको छैन । उनले जिल्लामा गठबन्धनका बारेमा भएका गतिविधि निकै नै सुस्त अवस्थामा रहेको बताए ।
आफ्नै पारामा काँग्रेस
यसअघिको निर्वाचनमा जिल्लाको ९ स्थानीय तहमध्ये ४ वटा पालिका जितेको नेपाली काँग्रेस आफ्नै गतिमा निर्वाचनको तयारीमा जुटेको छ । काँग्रेसले २०७४ को निर्वाचनमा सिन्धुलीको गोलन्जोर गाउँपालिका, घ्याङ्खेल गाउँपालिका, घ्याङ्खेल गाउँपालिका र तिनपाटन गाउँपालिकामा जितेको थियो ।
आगामी निर्वाचनका लागि काँग्रेस आफ्नै गतिमा निर्वाचनको तयारीमा जुटेको छ । काँग्रेस केन्द्रीय निर्देशन अनुसार जिल्लामा गठबन्धन गर्ने निर्णयमा पुगे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने गएको देखिँदैन । केन्द्रीय गठबन्धनमा आवद्ध दलहरूको विरुद्धमा बोल्ने र उम्मेदवारी सार्वजानिक गर्ने कामहरु नभएको तर सो बारेमा ठोस खाका भने तयार नपारिएको सभापति पोखरेलले बताए ।
काँग्रेस ठुलो दल भएकाले गठबन्धनको नेतृत्व गरेको भएपनि जिल्लाबाट यसै गर्नुपर्छ भन्दा पनि पार्टीले निर्देशित गरेको ढाँचामा गठबन्धन गर्नेपर्ने भएकाले त्यसबारेको मापदण्ड एकीन नगरिएको उनको भनाई छ । उनका अनुसार जिल्लाका सबै पालिका र वडाहरूमा काँग्रेसले आफ्नो चुनावी कार्यक्रमहरु लगेर काम गरिरहेको र केन्द्रीय निर्देशनअनुसार आगामी दिनमा त्यसलाई तिव्रता दिने उनको भनाइ छ ।
आगामी निर्वाचनको लागि सिन्धुलीका सबै पालिकामा काँग्रेसले आफ्ना उम्मेदवारहरू तयारी अवस्थामा राखेको उनले बताए । उनले गठबन्धन भएको खण्डमा आफ्ना उम्मेदवारहरूलाई फिर्ता बोलाएर गठबन्धनका अन्य दलका उम्मेदवारहरूलाई सहयोग गर्ने वातावरण बनाउने बताए ।
आम कार्यकर्ताको मनोभावना अनुसार सिन्धुलीमा काँग्रेसको उपस्थिति बलियो रहेको र गठबन्धन गर्न नहुने भन्ने भावना रहेपनि संविधानको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई सहयोग गरेर जना उनीहरु तयार रहेको उनको भनाई छ ।
माओवादी केन्द्रमा दुई धार
सिन्धुली जिल्लामा गत निर्वाचनमा ३ वटा पालिकामा नेतृत्व लिन सफल माओवादी केन्द्रमा गठबन्धनमा स्पष्ट दुई धार देखिएको छ । सिन्धुलीमा माओवादी केन्द्रको जनाधार बलियो भएकाले केही नेता तथा कार्यकर्ताहरु एकल रुपमा जानुपर्ने मागमा रहेका छन् भने केही केन्द्रीय निर्देशन अनुसार गठबन्धनका दललाई सघाएर जानुपर्ने बताउँदै आएका छन् ।
माओवादी केन्द्रका संयोजक दाहालका अनुसार पार्टी भित्र भएको विभिन्न छलफलमा दुवै पक्षले गठबन्धनका बारेमा फरक धारणा राखेका थिए । जिल्लामा विगतको निर्वाचनको माओवादी केन्द्रको सफलताले हालको अवस्थामा परिवर्तन आएकाले पनि केही नेताहरु एकल रुपमा निर्वाचनमा जानुपर्ने धारणा राखेका उनले बताए ।
उनले पछिल्लो समय वडा र पालिका तहमा माओवादी केन्द्रको अवस्थामा उल्लेख्य सुधार आएकाले एकल रुपमा जाँदा पनि जिल्ला समन्वय समिति गठन गर्न पुग्नेगरी ५ देखि ६ वटा पालिकामा माओवादी केन्द्रले जित्न सक्ने भएकाले उहाँहरुको मागलाई स्वभाविक मान्नुपर्ने उनी बताउँछन् । तर, अन्य जिल्लाको अवस्था सिन्धुलीको जस्तो नभएकाले केन्द्रको निर्देशन मान्नुको विकल्प नरहेको उनको भनाइ छ ।
सिन्धुलीमा विगतको अवस्था र हालको आधार बुझेर गठबन्धनबाट निर्वाचनमा जाँदा काँग्रेसले माओवादी केन्द्रलाई भाग छुट्याइ दिनुपर्ने आफूहरु भागबण्डाको लागि विवाद नगर्ने उनको भनाई छ ।
‘विगतमा एमालेले जितेका पालिकाहरुमा माओवादी दोस्रो पोजिसनमा रहेको र काँग्रेस धेरै नै पछि परेको अवस्था थियो । हाल सो पालिकाहरुमा माओवादी केन्द्रले जित्नसक्ने आधार बनाएको छ । ३ वटा पालिकामा माओवाद केन्द्र एकल रुपमा जित्न सक्छ । त्यसैले हामी भागबण्डामा विवाद गरेर बस्दैनौ । यी नै आधार हेरेर काँग्रेसले हामीलाई भाग लगाइदिए हुन्छ’ उनले भने ।
समाजवादीको आफ्नो अडान
यता एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीले पनि विगतमा एमालेले जितेको पालिकामा आफूहरुलाई नेतृत्वदायी भूमिका दिनुपर्ने माग राखेको छ । एकीकृत समाजवादी पार्टीका अध्यक्ष पाख्रिनले समाजवादी पनि जिल्लामा कमजोर अवस्थामा नरहेको भन्दै गठबन्धनमा आफूहरुलाई सम्मानजनक भाग दिनुपर्ने बताए । उनले सिन्धुलीमा एकीकृत समाजवादीको जनाधार हेरेर विगतमा एमालेले जितेको एउटा पालिकामा प्रमुख र दुई वटामा उप्रमुख पद दिनुपर्ने बताए ।
उनले सिन्धुलीको कमलामाई नगरपालिकामा एकीकृत समाजवादीलाई प्रमुख पद दिएर अन्य पदमा भागबण्डा हुनुपर्ने बताए । उनले सिन्धुलीकै दूधौली नगरपालिकाको उप्रमुख र गोलन्जोर गाउँपालिकाको उपाध्यक्ष पनि आफूहरुलाई दिनुपर्ने उनको माग छ ।
उनले माग गरेको २ नगरपालिकामा विगतको निर्वाचनमा एमालेले जितेको थियो भने गोलन्जोर गाउँपालिकामा काँग्रेसले जितेको थियो । गोलन्जोरमा एमाले दोस्रो पोजिसनमा थियो । सोही कारणले पनि एकीकृत समाजवादीले सो पालिकाको उपाध्यक्ष पदमा दावी गरेको उनको भनाइ छ ।
यस्तो छ विगत
कमलामाई नगरपालिका– एमाले (१११५२), काँग्रेस (८३८८), माओवादी केन्द्र (४२५१)
दूधौली नगरपालिका– एमाले (८५९८), काँग्रेस (७९००), माओवादी केन्द्र (८२२३)
गोलन्जोर गाउँपालिका– काँग्रेस (३३७६), एमाले (२५८४), माओवादी केन्द्र (२१११)
घ्याङ्खेल गाउँपालिका– काँग्रेस (२४२४), एमाले (६८३), माओवादी केन्द्र (१९५५)
तिनपाटन गाउँपालिका– काँग्रेस (५७०१), एमाले (५६८२), माओवादी केन्द्र (२८८६)
फिक्कल गाउँपालिका– एमाले (३१२६), काँग्रेस (२७२७), माओवादी केन्द्र (११७९)
मरिण गाउँपालिका– माओवादी केन्द्र (४७४१), एमाले (१८६६), काँग्रेस (१७४५)
सुनकोशी गाउँपालिका– माओवादी केन्द्र (३४३३), काँग्रेस (३२१२), एमाले (२६२३)
हरिहरपुरगढी गाउँपालिका– माओवादी केन्द्र (३९३४), एमाले (२९५४), काँग्रेस (२४०६)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री शाह
-
रास्वपाद्वारा सुदूरपश्चिमका ९ जिल्लामा जिल्ला समिति गठन
-
हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ
-
छाया सेन्टरलाई धक्का, भीएफएस ग्लोबल सर्ने तयारी
-
न्यायालयमाथि विप्लवको आक्रोश, प्रकाश सपुतको गीत गुनगुनाउँदै ओलीमाथि पनि प्रश्न
-
कि सच्चिनु पर्यो, कि सकिन तयार हुन पर्यो : गंगानारायण श्रेष्ठ