जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार घरदैलोमा
अहिले धेरै राजनीतिक दलले जनकपुरमा आ–आफ्नो उम्मेदवार टुंगो लगाउन छलफलमै व्यस्त रहेका छन् । केहीले अहिलेसम्म सम्भावित उम्मेदवारको नाम मात्र सिफारिस गरेका छन् । धेरै दलले सम्भावित उम्मेदवारको नाम पनि सिफारिस गर्न भ्याएका छैनन् । तर जनमत पार्टीबाट जनकपुरधाम उपमहानगरपालिका वडा नं। ९ का उम्मेदवार रामबाबु साह विगत ५ दिनदेखि घरदैलोमा व्यस्त छन् ।
उनले तयार गराएको १३ बुँदे चुनावी घोषणापत्र लिएर वडाको हरेक घर घरमा पुगेर आफुलाई जिताउन मत माग्न थालेका छन । आकर्षक नारा लिएर हे भैया, हे भउजी, हे काका, हे काकी भन्दै मतदाताको घरदैलोमा आफ्नो लागि भोट माग्न थालेका छन् । वडाको लागि आफु नै योग्य उम्मेदवार भएको दाबी गर्दै उनले मतदातालाई रिझाउन थालेका छन् ।
धेरै ठाउँमा त उनी स्वर्गवासी दाजु राजकुमार गुप्ताको भाई हुँ भन्दै आफुलाई चिनाउँदै यसपाला मलाई नै भोट दिनुहोला भन्दै उनी घरदैलोमा व्यस्त भएका हुन् । वडामा भोट माग्दै गरेको अवस्थामा भेटिएका रामबाबुले अहिलेसम्म वडाको ७५ प्रतिशत घरमा पुगेर मत मागिसकेको दाबी गरे ।
‘एक÷दुई दिनमा वडाको सबै घरमा पुगिहाल्छु,’ उनले भने, ‘त्यसपछि फेरि घुमिसकेको सबै घरमा दोहो¥याएर पुग्छु ।’ एक पटकमा मतदाता प्रभावित हुन सक्दैन नि । मतदातालाई आफ्नो चुनाव चिन्ह र नाम स्मरण गराउन बारम्बार मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको उनले जानकारी दिए ।
लामो समयदेखि व्यपार व्यवसाय गर्दै रामबाबुले जनताको आग्रहलाई स्वीकारेर वडाध्यक्षमा चुनाव लड्न तयार भएको जानकारी दिए । सिके राउत र आफ्नो फोटो राखेर उनले मैथिली भाषामा तयार गरेको घोषणापत्रमा एक घर– एक रोजगार, मतदाताको घर घरमा पुगेर काम गर्ने, वडाभरि नाला, सडक ढलान, सोलार बत्ती जडान लगायत विषयलाई जोड दिएका छन् ।
त्यतिमात्र होइन । वडाका हरेक विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्ने, महिला किशोरीका लागि सिलाई मेसिन वितरण गर्ने, सीपमुलक कार्यक्रमका लागि जनचेतना फैलाउने, एक–एक पाईको हिसाब किताब लिने विषयलाई पनि घोषणापत्रमा प्राथमिकता दिएका छन् । जय जय श्री राम, सबके साथ, सबके विकास जस्ता नारा लिएर उनले घरदैलो सुरु गरेका हुन् । अहिलेसम्म कुनै दलका उम्मेदवारले घरदैलो सुरु गर्न पाएका छैनन् ।