बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षक खनालले पाए अवकाश, ​नेतृत्वविहीन भयो संगठन​

सोमबार, २८ चैत २०७८, १० : ००
सोमबार, २८ चैत २०७८

सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालले अवकाश पाएका छन् । चार वर्षे कार्यकाल पूरा गरेर महानिरीक्षक खनालले सोमबारबाट अवकाश पाएका हुन् । उनले अवकाश पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्व विहीन भएको छ । खनाल २७ चैत २०७४ मा सशस्त्र प्रहरी बलको महानिरीक्षकमा नियुक्त भएका थिए । उनले अवकाश पाए पनि सरकारले नयाँ महानिरीक्षकको टुंगो लगाउन सकेको छैन । 

सशस्त्र प्रहरीमा अब आउने नयाँ नेतृत्व २१ दिनका लागि मात्रै चयन हुनेछ । हाल एआईजी रहेका दुई जनामध्येबाट सरकारले एकजनालाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गर्नेछ । २१ दिनका लागि नयाँ महानिरीक्षकमा एआईजी पुष्पराज केसी र रामशरण पौडेलको दाबी छ । दुवैजना खनालकै ब्याचमेट हुन् । उमेर हदका कारण १९ वैशाखमा उनीहरूले अनिवार्य अवकाश पाउँदैछन् । त्यसपछि पुनः नयाँ नेतृत्व चयन गर्नुपर्ने छ ।

नयाँ नेतृत्वका लागि बढुवा सिफारिस समितिले सिफारिस गर्नुपर्छ । सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । तर, अहिलेसम्म बढुवा सिफारिस समितिको बैठक बस्न सकेको छैन । लोकसेवा आयोगका अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव र गृहसचिव नेतृत्वमा रहने बढुवा समितिले महानिरीक्षक सिफारिस गर्छ ।

२१ दिने कार्यकाल सकिएपछि नयाँ नेतृत्वका लागि तीब्र प्रतिस्पर्धा देखिएको छ । हालका डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम दौडमा छन् । अर्याल र पौडेल २०५४ चैतमा नेपाल प्रहरीको प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । गौतम भने २०५२ वैशाखमा नेपाली सेनाको सहायक सेनानीबाट आएका थिए । सशस्त्र प्रहरीको स्थापनासँगै उनीहरू २०५८ मा एकैपटक सशस्त्र प्रहरीमा स्थानान्तरण भएका थिए । 

हाल अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो वरीयतामा छन् । वरीयतामा चौथो नम्बरमा रहेका डिआइजी वंशीराज दाहाल पनि एआईजीको दौडमा छन् । सशस्त्र प्रहरी बलमा दुईजना मात्रै एआईजी रहने व्यवस्था छ ।

अहिलेका डीआईजीमध्ये दुईजनालाई एआईजीमा नियुक्त गर्ने र उनीहरूमध्येबाट एकजनालाई आईजीपीमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसका लागि अहिलेदेखि नै प्रक्रिया थाल्नुपर्ने हुन्छ । तर, बढुवा सिफारिस समितिले त्यस्तो गर्न सकिरहेको छैन । 

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ । अर्कोतिर यही समयमा नेतृत्व परिर्वतन हुन गइरहेको छ । नेपाल प्रहरीमा भने हाल आठजना एआइजीको दरबन्दी छ । तीन दरबन्दीबाट बढाएर आठ दरबन्दी पुर्‍याइएको थियो । सशस्त्र प्रहरीमा भने दुईजनाको मात्रै दरबन्दी छ । जसले गर्दा धेरै अधिकारीहरू डीआईजीबाटै घर फर्किनुपर्ने अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप