बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी महानिरीक्षकको सकियो कार्यकाल, को बन्ला नयाँ आईजीपी ?

सोमबार, २८ चैत २०७८, ११ : ४६
सोमबार, २८ चैत २०७८

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सोमबारदेखि अवकाशमा जाँदैछन् । महानिरीक्षकको ४ वर्षे पदावधि पुरा गरेर उनी अवकाशमा जान लागेका हुन् । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा सोमबार मध्यान्ह उनको बिदाइ समारोह आयोजना गरिएको छ ।

सरकारले खनाललाई २०७४ चैत २९ बाट लागू हुनेगरी आईजीपीको जिम्मेवारी दिएको थियो । खनालको अवकाशसँगै उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आईजीपीका प्रतिस्पर्धी हुन् । 

नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका पुष्पराम केसी वरियतामा अगाडि छन् । पौडेल वरीयताको दुई नम्बरमा छन् । सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले सशस्त्रको आईजीपी नियुक्त गर्ने बताइएको छ । शैलेन्द्र खनालकै ब्याचका केसी र पौडेलमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् । 

अर्ध सैन्य संगठन सशस्त्र प्रहरीमा बरियता नमिच्ने परम्परा छ । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरु बताउँछन् । पुष्पराम केसी अहिले कार्य तथा सिमा सुरक्षा विभागको प्रमुख छन् । रामशरण पौडेल मानवस्रोत विभाग प्रमुख छन् । सेवा परिवर्तन गरेर सशस्त्र प्रहरीमा आएका उनीहरु दुवैजना २०७९ वैशाख १८ मा अवकाशमा जाँदैछन् ।

२० दिनका लागि आईजीपी नियुक्त गरेपछि रिक्त हुने एआईजीको सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल वरीयतामा अगाडि छन् । वरीयताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् । 

अर्याल र पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम चाहिँ २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् । मेरिट लिस्टको एक नम्बरमा रहेका अर्याललाई भावी महानिरीक्षकको रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप