शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान (संयुक्त वक्तव्यसहित)

सोमबार, २८ चैत २०७८, २२ : ३९
सोमबार, २८ चैत २०७८

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेका छन् । सोमबार बसेको गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य जारी गर्दै पाँच दलले यस्तो आह्वान गरेका हुन् । 

पाँच दलका शीर्ष नेताहरुले वक्तव्यमा देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर आपसी सहकार्य र सहयोग भावनाले अघि बढ्न समेत आह्वान  गरेका छन् । वक्तव्यमा शीर्ष नेताहरुले परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने कतिपय शक्तिहरु परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेकोले सचेत हुन जरुरी रहेको औंल्याएका छन् ।

‘देशको संविधानको उल्लंघन गर्दै संसदमाथि निरन्तर प्रहार, अदालत उपर खेलवाड र संवैधानिक अंगहरूमा पैदा गराइएको बेथितिले स्पष्ट पारेको छ । यो भनेको अहिलेको लोकतान्त्रिक परिवर्तनलाई उल्टाउने दुष्प्रयास हो’, संयुक्त वक्तव्यमा भनिएको छ । 

परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि वक्तव्यमा प्रस्ट पारिएको छ । पाँच दलले लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गरेका छन् । 

‘लोकतन्त्रको फराकिलो बाटोमा नेपाली जनतालाई स्वतन्त्रतापूर्वक अगाडि बढाउन र नेपाली समाजमा न्याय र समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी बिकास र समृद्धि हासिल गर्न पाँच दल प्रतिबद्ध छन् र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं’ वक्तव्यमा भनिएको छ । 

साथै त्यसका लागि देशै भर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अगाडि बढ्न पाँच दलका सम्पूर्ण नेता कार्यकर्ताहरूलाई आह्वान गरिएको छ । उनीहरुले स्थानीय तहको निर्वाचन सफल पार्न पाँच दलीय गठबन्धनका उमेदवारहरूलाई मत दिएर विजयी बनाउन अनुरोध समेत गरेका छन् । 

वक्तव्यमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अशोककुमार राई  र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलको हस्ताक्षर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप