शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको चुनावी अभियान : पूर्वदेखि पश्चिमसम्म ओलीको दौडधुप

‘उम्मेदवार सिफारिस, घोषणापत्र र पार्टी प्रवेश एकैसाथ’
सोमबार, २८ चैत २०७८, ११ : ०२
सोमबार, २८ चैत २०७८

नेकपा एमालेले स्थानीय तहमा उम्मेदवार सिफारिस, चुनावी घोषणापत्र तयार र पार्टी प्रवेश कार्यक्रमलाई एकैसाथ अघि बढाएको छ । पछिल्लो पटक चैत १० मा बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्ने निर्णय गर्दै नेता कार्यकर्ताहरूलाई सम्बन्धित, प्रदेश, जिल्ला, क्षेत्र, गाउ नगर र वडा तहसम्म चुनावी कार्यक्रम लिएर जनतामाझ जान निर्देशन दिएको थियो । उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङले पार्टी निर्देशन अनुसार सवै नेताहरु आआफ्नो जिल्ला र क्षेत्रका चुनावी अभियानमा सक्रिय भएको बताए । चुनावी अभियानअन्तर्गत सम्बन्धित जिल्ला र प्रदेशका केन्द्रीय नेताहरु खटिएको गुरुङको भनाइ छ ।

‘केन्द्रको निर्देशन अनुसार चुनावी अभियानमा खटिएका सम्बन्धित पार्टी कमिटीहरुले उम्मेदवार सिफारिस, चुनावी घोषणापत्र तयार र पार्टी प्रवेश कार्यक्रम एकैसाथ अघि बढीरहेको छ’ नेता गुरुङले जानकारी दिए । एमालेले स्थानीय तहको उम्मेदवार छनोटका लागि ६ वटा मापदण्ड तय गरेको छ । सोही मापदण्डभित्र रहेर देशैभरका स्थानीय तहमा उम्मेदवार सिफारिस गर्ने क्रम चलिरहेको नेताहरुको भनाइ छ । चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न केन्द्रले दिएको निर्देशनअनुसार कही सर्वसम्मत त कतै मतदानमार्फत धमाधम उम्मेदवार सिफारिसको काम अघि बढेको प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ ।

एमालेले वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले निर्णय गर्ने, गाउँ नगरपालिकाको जिल्लाको सिफारिसमा प्रदेशले निर्णय गर्ने मापदण्ड बनाएको छ । त्यस्तै महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्ने मापदण्ड छ ।

घोषणापत्र मस्यौदा अन्तिम चरणमा

एमालेले निर्वाचनका लागि घोषणापत्र तयार गर्ने कामलाई पनि सँगसँगै अघि बढाएको छ । कम्युनिष्ट पार्टी स्थापना दिवसका दिन (वैशाख ९ गते) केन्द्रमा घोषणापत्र र सात सय ५३ स्थानीय तहमा एकैदिन प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी अनुसार ति काम भइरहेको मस्यौदा कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।

निर्वाचन घोषणापत्र मस्यौदा तयार गर्न गठित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल संयोजकत्वको कार्यदलले मस्यौदालाई अन्तिम रुप दिने काम भइरहेको उपाध्यक्ष युवराज ज्ञवालीको भनाइ छ । मस्यौदा कार्यदलमा ज्ञवालीसहित उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजङ्ग थापा, युवराज खतिवडा, प्रभा बराल, डा दिनेशचन्द्र देवकोटा रहेका छन् ।

कार्यदल सदस्य ज्ञवालीले एमाले नेतृत्वको तीनै तहका सरकारले गरेका काम र वर्तमान सरकारले गरेका कामको तुलना गर्दै पछि गर्ने कामलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गर्ने काम भइरहेको बताए ।

‘तीनै तहका हाम्रो नेतृत्वको सरकारले गरेका कामहरु जनतामा लैजाने, पछि गर्ने कामको रुपरेखा दिने र अहिलेको सरकारभन्दा राम्रा काम केके गरेका थियौ भनेर जनतालाई बुझाउने गरी विषयबस्तु घोषणापत्रमा समेटिन्छ’, ज्ञवालीले भने, ‘शिक्षा, स्वास्थ्य, विद्युत, सडक, सिंचाई, रोजगारी, आवास, लगायतका विकास र सेवा प्राथमिकतामा पर्ने विषय हुन् ।’

ओलीको देश दौडाहा तीव्र

बैशाख ३० को चुनावी मिति नजिकिएसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको चुनाव लक्षित पार्टी प्रवेश कार्यक्रममा दौडधुपमा लागेका छन् । मतदान मिति नजिकिएसँगै अध्यक्ष ओलीको जिल्ला दौडाहाले एमालेप्रतिको आकर्षण थप बढेको सो पार्टीका नेताहरुको दावी छ । अध्यक्ष ओली पछिल्ला दिनमा दैनिक ५ वटासम्म चुनावलक्षित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न विभिन्न जिल्लामा पुग्ने गरेका छन् ।

‘अध्यक्षले सामान्यतया दैनिक पाँचवटा सम्म कार्यक्रमलाई सम्बोधन गर्न भ्याउनुभएको छ । उपत्यका बाहिरका कार्यक्रममा पनि सम्भव भएसम्म अध्यक्षको उपस्थिति हुने गरेको छ’, ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाईंले रातोपाटीसँग भने,‘सुदुर पूर्वदेखि सुदुर पश्चिमसम्म हुने कार्यक्रममा सम्बोधनका लागि अध्यक्ष सम्भव भएसम्म पुग्ने गर्नुभएको देखिएकै विषय हो ।’

अध्यक्ष ओली आज सोमबारमात्रै सुदूरपश्चिमको बझाङ जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाँदैछन् । यसअघि चैत ६ गते अध्यक्ष ओलीले सुदूरपूर्वको इमालस्थित फिक्कलमा भएको कार्यक्रमलाई सम्बोधन गरेका थिए । त्यसबीचमा ओलीले मधेस प्रदेश, लुम्बिनी, गण्डकी, कर्णाली लगायत प्रदेशका दर्जन बढी जिल्लामा पुगेर पार्टी प्रवेश र चुनावी सभालाई सम्बोधन गरिसकेका छन् ।

त्यसो त अध्यक्ष ओलीले पार्टी प्रवेश कार्यक्रमलाई उच्च महत्व दिएर आफै उपस्थित हुने गरेका छन् । नीजि निवास बालकोटदेखि देशका विभिन्न भागमा हुने पार्टी प्रवेश कार्यक्रममा ओली आफै पुगेबाट पनि उनले पार्टी प्रवेश कार्यक्रमलाई उच्च महत्व दिएको पुष्टि हुन्छ । सरकारले गएको माघ २४ गते २०७९ बैशाख ३० गते स्थानीय तह निर्वाचन सम्पन्न गर्नेगरी मिति घोषणा गरेपछि ओलीको सक्रियता थप बढेको हो । त्यसो त एमालेको मंसिरमा सम्पन्न महाधिवेशनले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लैजाने निर्णय गरेको थियो ।

एमाले भर्सेस पाँच दल

स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दल तालमेल गरेर  जाने भएपछि यस पटकको चुनावमा मुख्यगरी पाँच दल भर्सेस एमालेबीच प्रतिस्पर्धा हुने निश्चित छ । हुन त एमाले अध्यक्ष ओलीले पाँच दललाई पाँच किलोको ढक र एमाले एक्लै एक क्वीन्टल भनेर आफ्ना नेता कार्यकर्ताको मनोबल बढाउने काम गर्नुका साथै ७० प्रतिशत स्थानीय तह एमाले जित्ने दावी गर्दै आएका छन् । तर ओलीको भाषण र दावीजस्तो वस्तुगत अवस्था भैदिएको भए ओलीलाई यसरी आफै दौडधुपमा निस्कनु जरुरी थिएन ।

किनभने गत स्थानीय तह निर्वाचनमा पहिलो पार्टी बनेको एमाले विभाजनसँगै गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्नु र विगतको विरासत कायम गर्नु एमालेका सामु फलामको च्युरा चपाए सरह भएको विश्लेषकहरुको भनाइ छ ।

‘संगठनको आधार भनेको स्थानीयस्तरमै हुन्छ । स्थानीय तहमा जतिसक्दो धेरै जित्न सके संसदीय निर्वाचनमा त्यसको प्रभाव स्वत पर्छ । त्यसैले अहिले हाम्रो मेहनत स्थानीयस्तरमा बढी भइरहेको छ’, एमाले सचिव समेत रहेका रघुवीर महासेठको भनाइ छ । महासेठले विगतको भन्दा यो पटक एमालेले मधेससहित देशभरबाट बढी सिट जित्ने दावी समेत गरे ।

पाँच दलीय गठबन्धन एकातिर र आफ्ना उम्मेद्वार अर्कातिर हुँदा उनीहरुसँग प्रतिस्पर्धा गर्न एमालेलाई धेरैजसो स्थानमा कठिन हुने भएकाले पनि जसरी हुन्छ मतदाता आफ्नो पक्षमा पार्ने एमाले रणनीति छ । त्यसका लागि अध्यक्ष ओली आफै विभिन्न कार्यक्रममा खटिनेमात्र नभई आफ्नो नेतृत्वको सरकारले गरेका राम्रा कामको प्रचारप्रसारसहित प्रतिस्पर्धीमाथि कडा प्रहार गर्ने गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गरेर ७५३ स्थानीय तहमध्ये २९३ स्थानीय तहका प्रमुख जितेको थियो । एमाले चोइट्याएर माधव नेपालले फरक पार्टी बनाएसँगै पुरानो विरासत जोगाउन एमालेलाई कठिन रहेको आँकलनकाबीच ओलीको देश दौडाहा तीव्र बनेको हो । पछिल्लो केन्द्रीय कमिटी बैठकमा नेताहरुले पहिलो पार्टी बनाउन सकिने बताएपनि आँकडा पेश गर्दा करिव २ सय स्थानीय तहभन्दा बढी जित्न नसकिने तथ्य पेश गरेका थिए ।

केपी ओलीमात्रै किन ?

स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम लिएर अध्यक्ष ओलीको दौडधुप तीव्र भएपनि ओलीबाहेकका नेताहरुको भने खासै सक्रियता र दौडधुप देखिदैन । एमालेमा बरिष्ठसहित सात उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव रहेका छन् । अध्यक्ष बाहेकका पदाधिकारी आ आफ्नो निर्वाचन क्षेत्रमा सिमित बन्दा ओली भने सुदुर पूर्वदेखि सुदुर पश्चिमसम्म आफै पुगिरहेका छन् । एमाले केन्द्रीय सदस्य समेत रहेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल एमालेलाई जति चुनावी चटारो अरुलाई नभएको बताउँछन् ।

‘अहिले कसैको चुनावी अभियान छ भने नेकपा एमालेको मात्रै छ । नेकपा एमालेमा मानिसहरु प्रवेश गर्ने क्रम बढेको छ । देशभर नेकपा एमालेले सभा गरिरहेको छ’, प्रचार विभग उपप्रमुख रिजालको भनाइ छ । सत्तारुढ पार्टीहरु कोठे बैठकमा सिमित भएको भन्दै उनीहरु सत्ताको भागबण्डा र लुछाचुडीमा रमाइरहेको रिजालको आरोप छ । उनले अध्यक्ष ओलीको आकर्षण रहेकै कारण देशका विभिन्न स्थानमा हुने कार्यक्रममा पुग्ने गरेको पनि बताए ।

‘यो देशमा कसैको आकर्षण छ भने केपी शर्मा ओलीको मात्रै आकर्षण छ र कसैलाई चुनाव लागेको छ भने एमालेलाई मात्रै लागेको छ’, रिजालले भने,‘एमालेले सातै प्रदेशमा प्रदेशस्तरीय तीन हजार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनेदेखि अगुवा कार्यकर्ता भेला, १३ वटा जनसंगठनको राष्ट्रिय भेलादेखि सवै जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ ।’

उनले बाहिरबाट हेर्दा एमालेलाई गठबन्धन चुनौतीजस्तो देखिएपनि एमालेले गठबन्धनलाई चुनौतीका रुपमा नलिने दावी गरे । ‘एमालेप्रतिको आकर्षण, संगठन परिचालन बढ्दो छ भने गठबन्धनभित्रै ठुलो समस्या छ । त्यसैले हामीले खासै चुनौति महशुस गरेका छैनौ’, गुरुङले भने, ‘काँग्रेसले आफ्नो जित निश्चित भएका स्थान माओवादी र समाजवादीलाई छोड्दैन । यस्तो अवस्थामा उनीहरुलाई चुनाव जित्ने आधार अत्यन्त कम हुन्छ । त्यसो भएकाले हाम्रो प्रतिस्पर्धा काँग्रेससँगै हुन्छ ।’

उनले देशभर पार्टी प्रवेशको लहर चलेको भन्दै जनतामा एमालेप्रतिको आकर्षण बढ्नुका साथै एमालेको विचारबाट मात्रै मुलुकमा शान्ति र विकास सम्भव छ भन्ने बुझेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप