आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

प्रदेश १ का स्थानीय तहमा धमाधम उम्मेदवार सिफारिस गर्दै एमाले, ८५ पालिका जित्ने दाबी

आइतबार, २७ चैत २०७८, १५ : ००
आइतबार, २७ चैत २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले प्रदेश १ का महत्त्व राख्ने पालिकाहरुमा धमाधम उम्मेदवार गर्न थालेको छ । एमालेले विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र दमक नगरपालिकामा उम्मेदवार सिफारिस गरिसकेको छ।  

एमाले प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले दिएको जानकारी अनुसार कतिपय पालिकामा एकल उम्मेदवार सिफारिस भएका छन् भने कतिपय पालिकामा भने अझै उम्मेदवार सिफारिसको क्रममा रहेका छन् । अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक नगर प्रमुखमा अहिलेकी उपप्रमुख गीता अधिकारी, प्रदेश सदस्य अम्बिका खनाल र होम थापालाई सिफारिस गरिएको छ । यस्तै झापाका केही पालिकामा एमालेले शुक्रबार निर्वाचन गरेको थियो ।  बिर्तामोडको मेयरका लागि भएको मतदानमा बहालवाला उपप्रमुख पवित्रा महतारा प्रसाईले सबैभन्दा बढी मत ल्याएर पहिलो भएकी छन् । दोस्रो नम्बरमा प्रदेश सांसद एकराज कार्की र तेस्रो नम्बरमा बिर्तामोड–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला छन् ।

मेचीनगरको मेयरका लागि भएको मतदानमा प्रदेश १ का सांसद गोपाल बुढाथोकी, निलकण्ठ तिवारी र मिना पोखरेल उप्रेतीको नाम सिफारिश भएको छ । मिना पोखरेल उप्रेती बहालवाला उपप्रमुख हुन् । अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ । एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारका रुपमा सिफारिस गर्ने निर्णय भएको हो । 
भद्रपुरमा असारु राजबंशी, चन्द्रा श्रेष्ठ र कालीचरण बस्नेतको नाम अग्रस्थानमा आएर सिफारिस भएको छ ।

यसैबीच एमालेले धरान उपमहानगरपालिकामा पनि उम्मेदवार सिफारिस गरिसकेको छ । सिफारिस हुनेहरुमध्ये पहिलो नम्बरमा हालका उपमेयर मञ्जु भण्डारीको नाम उल्लेख छ । धरानमा एमाले अध्यक्ष हर्कजंग एभेङका अनुसार १ जना केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्व जिल्ला समिति सदस्यको नाम सिफारिस गरेको हो । जसमा भण्डारी, पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, प्रदेश सदस्यहरु विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, जिल्ला सदस्यहरू मिन सुब्बा, नारायण सुवेदी, राजमणी निरौला र पूर्व जिल्ला समिति सदस्य तिर्थ मास्के रहेका छन् । 

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिकामा एमालेले स्थानीय निर्वाचनका लागि प्रमुख र उपप्रमुखका उम्मेदवार सिफारिस गरेको छ । सिफारिसमा पर्नेहरुमा द्वारिकालाल चौधरीसहित केन्द्रीय सदस्य तैयाब हुसेन, लक्ष्मी गौतम, अमृता सुब्बा, प्रदेश सदस्य रामप्रसाद चौंलागाई, जिल्ला सदस्य तथा नगर अध्यक्ष यामकुमार सुब्बा र जिल्ला सदस्य रेवती घिमिरे रहेका छन् । प्रदेश १ को एकमात्रै महानगरपालिका विराटनगरमा पनि एमालेले उम्मेदवार सिफारिस गरिसकेको छ । जसमा केन्द्रीय सदस्य रामलाल साह, मोरङका उपाध्यक्ष बाबुराम कार्की, नगर अध्यक्ष सागर थापा, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराई रहेका छन् । 

अन्य पालिकाहरुको उम्मेद्वार सिफारिसको काम धमाधम भइरहेकोले कतिको टुंगियो भन्ने विषय अहिले एकिन नहुने न्यौपानेले बताए । ‘हामी अनगोइङमा छौं, अहिले नै कति सकियो भन्ने अवस्था छैन,’ न्यौपानेले भने, ‘हामी केही दिनमा नै सबै उम्मेदवार सिफारिसको काम सम्पन्न हुन्छ ।’

एमालेले ८५ पालिका जित्ने दाबी
नेकपा एमाले प्रदेश १ का १३७ पालिकामध्ये ८५ पालिका जित्ने दाबी गरेको छ । यसअघि एमालेले ६९ वटा पालिकामा जित निकालेको थियो । कांग्रेसले ५१ र माओवादीले ९ वटा पालिका जितेको थियो । एमाले प्रदेशका अध्यक्ष न्यौपानेले भने, ‘हाम्रो पार्टीमा मान्छे आएका आऐ छन्, थपिएका थपिएै छन्, हामीले यस अघि पार्टीमा बुझाएको रिपोर्ट भन्दा बढी जित्ने अवस्था छ, ८५ भन्दा बढी जित्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप