शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

यात्रुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई गृहमन्त्रीको आग्रह

आइतबार, २७ चैत २०७८, १९ : ४८
आइतबार, २७ चैत २०७८

गृहमन्त्री बालकृष्ण खाँणले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले एकैठाउँमा जाँदा पनि फरकफरक भाडा दर दिने अवस्थामा तत्काल अन्त्य गर्नुपर्ने जरुरी रहेको पनि बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नहुने बाटो अवलम्बन गर्नुपर्ने पनि स्पष्ट पारे । 

 गृहमन्त्री खाँणले यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक पर्ने ऐन, कानुन तर्जुमा गर्न सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि सरकारले सरोकारवाला पक्षहरुसँग बृहत छलफल गरेर अघि बढन चाहेको गृहमन्त्री खाँणको भनाइ थियो । उनले भने,,   ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई । अव यात्रको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ ।’

गृहमन्त्री खाँणले सरकारले सबै खालका उद्योगी, व्यवसायीहरुको लगानीको सुरक्षा गर्ने दायित्वलाई गम्भिरतापूर्वक लिएको बताए । कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले कन्डिशनमा नभएको गाडी संचालनमा रोक लगाउन सरकारले अझै कडाई गर्ने बताए । उनले ब्रेक फेल भएको गाडी चलाउँदा कयौको ज्यान गएको उल्लेख गर्दै त्यस्ता गाडीहरुलाई संचालन गर्न दिन नमिल्ने बताए । मन्त्री यादवले गाडीहरुको नियमित परीक्षण गर्न पनि यातायात व्यवसायीहरुलाई सचेत गराए । 

मन्त्री यादवले प्रदुषण फैल्याउने खालका गाडीहरु संचालन गर्न नहुनेतर्फ पनि व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप