शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतन्त्रमा पुरानो तथ्यांकको आधारमा जनमत प्रक्षेपण गरिनु आउटडेटेट विषय हो : शंकर पोखरेल

आइतबार, २७ चैत २०७८, १९ : ३९
आइतबार, २७ चैत २०७८

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय सञ्चारमाध्यमहरूले पुरानो तथ्यांकलाई आधारमा मानेर जनमत प्रक्षेपणको गरि जनतालाई भ्रमित गरिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित स्थानीय निर्वाचन केन्द्रित प्रचार भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले लोकतन्त्रमा पुरानो तथ्यांकका आधारमा जनमत प्रक्षेपण गरिनु आउटडेटेट विषय भएको टिप्पणी गरेका हुन्। 

‘एक पटकको जनादेश सधैंका लागि हुँदैन, बद्लिरहन्छ । त्यसअर्थमा विगतको जनादेश आजको विश्लेषणको आधार होइन’, पोखरेलले भने, ‘आजको विश्लेषण आधार भनेको पाँच वर्षको अवधिमा भए गरेका कामहरू, त्यसले जनतामा पारेको प्रभाव र भविष्यमा गरिने योजनामा जनताको धारणा हो। विश्वव्यापी रूपमा प्रक्षेपणको आधार यही हो।’

महासचिव पोखरेलले गठबन्धनवालाहरूले पुरानो मतका आधारमा दृष्टिकोण निर्माण गर्ने प्रयास गरिरहेकाले त्यसको प्रतिवाद गर्न पनि पार्टी पंक्तिमा आग्रह गरेका छन् ।  २०७४ को स्थानीय निर्वाचनमा काँग्रेस र माओवादीको गठबन्धनका बीचमा एमालेले ४० प्रतिशतमाथि मत ल्याएको दृष्टान्त प्रस्तुत गर्दै नेता पोखरेलले अब पनि एमाले कमजोर नरहेको कुरा प्रष्ट हुने उनको भनाइ थियो । यससँगै नाकाबन्दीको बेला केपी ओली नेतृत्वको सरकारले गरेको काम, चुच्चे नक्सालाई संविधानमा लेख्न र निशान छापमा राख्ने विषयले पनि एमालेको कामलाई पुष्टि गर्ने र त्यसले जनमतको आधार तयार गर्ने महासचिव पोखरेलको भनाइ छ । 

राष्ट्रिय हितका पक्षमा आफ्नो अडान कायम राख्ने र केही हदसम्म भारत र चीनसँग नमिलेका विषय मिलाउने काम पनि एमाले नेतृत्वको सरकारले गरेको उनको दावी थियो । यस्तै संविधान जारी भएपछि अहिलेको अवस्थासम्म राजनीतिलाई बदल्ने काम केपी शर्मा ओलीको नेतृत्वमा नै सम्भव भएको तथा सिके राउत र विप्लवलाई शान्ति प्रक्रियामा ल्याउने काम पनि एमाले नेतृत्वको सरकारले नै गरेकाले पनि एमालेप्रति जनताको विश्वास रहेको पोखरेलको दावी छ । 

महासचिव पोखरेलले काँग्रेसको आड लागेर गएकाहरूलाई कम्युनिष्ट आन्दोलनमा जोड्न आवश्यक नरहेको पनि टिप्पणी गरेका छन् । उनले प्रचण्ड र माधव नेपालमाथि व्यंग्य गर्दै भने, ‘माधव नेपालहरूको नारा यात्रा समृद्धिको लक्ष्य समाजवाद भन्छन्, यो भन्दा मजाक केही हुन्छ ? माओवादीको पनि नारा हेरौं न। व्यवस्था हामीले बदलियौँ, अब अवस्था बदल्न माओवादीलाई भोट हालौँ रे ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप