बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

मुक्तिनाथमा बढ्न थाले पर्यटक

आइतबार, २७ चैत २०७८, १९ : ०९
आइतबार, २७ चैत २०७८

प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । कोरोनाको जोखिम कम भएसँगै पछिल्लो समय मुक्तिनाथमा दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको हो । नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ । हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँसीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने व्रतालुहरूको भीड लाग्ने गर्छ ।

यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढीरहेको स्थानीयहरु बताउछन् । नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको बद्रिनाथ र केदारनाथ जत्तिकै महत्वपूर्ण भएपनि ‘नजिकको तीर्थ हेला’ झैँ भइरहको स्थानीयहरु बताउछन् । अरु सबै क्षेत्रमा गएर धार्मिक कार्यक्रम गरेपनि अन्तिममा मुक्तिनाथ धाममा गएर दर्शन गरेपछि मात्रै मुक्ति मिल्ने विश्वास रहेको छ । पितृ उद्धारका लागि भक्तजनहरूले सोह्र श्राद्धमा कागबेनीमा पिण्डदान गरेर मुक्तिनाथ मन्दिरको दर्शन गरे पितृहरूको उद्धार भइ स्वर्गमा वास पाउने शास्त्रोक्त कथन छ । वैदिक सत्य सनातन हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान विष्णुको पुण्यभूमि मानिन्छ ।

विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती पनि प्रचलित छ । उक्त १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ । प्राचीनकालदेखि नै मुक्तिनाथ स्थलमा विसं १८७१ मा मन्दिर बनाइएको थियो । यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मन्दिरमा ब्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन् । हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गरेको पाइन्छ । त्यसैले पनि मुक्तिनाथ धाम पर्यटक र भक्तालुहरुका लागि पवित्र मानिन्छ । मुक्तिनाथ क्षेत्रलाई अझै विश्वस्तरमा प्रचारप्रसार गर्न सके यसको महत्व र महिमा झनै बढ्ने स्थानीयहरु बताउछन् ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप