शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भक्तजनको चहलपहल नबढ्दा जनकपुरका व्यवसायी निराश

आइतबार, २७ चैत २०७८, १८ : ३०
आइतबार, २७ चैत २०७८

जनकपुरकी कारी देवी हलुवाईको मिठाई बनाउने र बिक्री गर्ने पुख्र्यौली पेशा हो । यही पेशाबाट उनी परिवारको गुजारा चलाउँदै आएकी छन् । उनको आम्दानीको मुख्य श्रोत राम मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन नै हुन । मन्दिरमा भक्तजनको संख्या बढ्यो भने उनको व्यापार बढ्छ । यदी मन्दिरमा आउने भक्तजनको संख्या घट्यो भने उनको आम्दानी पनि मर्छ । राममन्दिरको गेट अगाडीको फुटपाथमा उनले विगत ४० वर्ष देखी मिठाई पसल थापेर व्यापार गर्दै आएकी छन ।

विगतको मधेश आन्दोलन र कोरोना माहामारीका कारण थलिएको व्यापारले यसपाली पनि लयमा फर्किन नसक्दा उनी झन्न निराश बनेकी छन् । ‘कोरोना पनि मत्थर भएको कारण यसपाली भक्तजनको भीडभाड बढ्ने सम्भावना थियो,’ उनले भनिन, ‘तर खै के कारण हो, यसपाली पनि भक्तजनको संख्या बढ्न सकेन ।’ रामनवमीको दिन पहिला मन्दिरको कुरै छोडौं बाहिरको सडकमा पनि खुट्टा राख्ने ठाउ हुँदैनथ्यो । भक्तजनको चहलपहल निकै बढेको देखिन्थ्यो । यसपाली त पहिलाको तुलनामा धेरै कम भक्तजन आएको उनले आफ्नो अनुभव सुनाइन् । उनी जस्तै दर्जनौं मिठाई पसले सन्तोषजनक व्यापार नभएपछि निराश भएका छन् ।

मिठाई पसलेको मात्र होइन । फुल पसल थापेर बसेकाहरुको पनि व्यापार मन्दी भएको गुनासो छ । रामनवमीको मेलाको दिन मात्र कम्तीमा ५ हजार भन्दा बढीको फुल, फुलको माला बिक्री गर्दै आएका बिन्देश्वर भण्डारीले यसपाली व्यापार चौपट भएको बताए ।

‘भक्तजन नै नआएपछि व्यापार चल्ने कुरै भएन,’ उनले भने, ‘यसपाली भक्तजन बढ्ने अनुमान गरेका थियौं ।’ तर भक्तजन नबढेको उनले जानकारी दिए । राम मन्दिरमा भक्तजनको आगमन पातलिएसँगै व्यापार घाटा बढेको उनले बताए । यसपाली मुश्किलले २ हजार÷ २५ सयको फुल मात्र बिक्री गर्न पाएको उनले सुनाए । ‘धेरै फुलका माला बिक्री गर्न बाकी नै छन,’ उनले थपे, ‘फुललाई लामो समय सम्म जोगाएर राख्न सकिदैन, त्यसैले खेर जाने फुलमा गरिएको लगानी हाम्रो लागी घाटा हो ।’ यसपाली फुल व्यापारमा धेरै नोक्सानी व्यहोर्नु परेको उनले गुनासो गरे ।

मधेश आन्दोलन र कोरोना महामारीको कारण विगत २ वर्षदेखि अवरुद्ध हुँदै आएको रामनवमी मेला यसपाली लाग्नु नै ठूलो कुरा भएको स्थानीय व्यपारीहरुको भनाइ छ । मेला सुचारु भइसकेकाले यसपछि विस्तारै भक्तजनको संख्या बढ्दै जाने विश्वास स्थानीय व्यवसायीले व्यक्त गरेका छन् । मधुवन, दरभंगा, फुलवारी लगायतका गाउ तथा नेपालकै कुनाकाप्चा र भारतको विभिन्न स्थानबाट रामनवमीको अवसरमा मेला भर्न भक्तजन जनकपुर आउने गरेका थिए । रामनवमी मेलाकै अवसर पारेर भारतको मोतीहारीबाट बस रिजर्भ गरी जनकपुर आइपुगेका लखिन्द्र महतोले पनि पहिलाको जस्तो मेलामा चहलपहल नरहेको बताए ।

गंगासागरमा स्नान गरेर मन्दिर तर्फ पूजाआजा गर्न जान लागेको बेला रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै उनले विगतमा देखिएको चहलपहललाई उनले स्मरण गरेका थिए । ‘कोरोनाको कारण धेरै श्रद्धालु भक्तजन नआएको हुन सक्छ,’ उनले भने, ‘तर अब दिन राम्रो हुदै गएको छ, विस्तारै मेलामा पनि चहलपहल बढ्ने छ ।’ राम मन्दिरभन्दा बढी राजदेवी मन्दिर र जानकी मन्दिरमा भक्तजनको चहलपहल बढी देखिएको उनले जानकारी दिए ।

रामायणकालिन इतिहास अनुसार, जानकी माताको जन्मथलो र अयोध्यापति मर्यादा पुरुषोत्तम रामको ससुराली भएकै कारण जनकपुरलाई पावन भूमी मानिन्छ । जनकपुरलाई धार्मिक दृष्टिकोणले विशेष महत्व दिने गरिन्छ । मठमन्दिर र पोखरी नै पोखरी भएको शहरको रुपमा जनकपुरलाई चिनिने गरिन्छ । रामनवमी कै अवसरमा जानकी मन्दिर परिसरमा धार्मिक प्रवचनको आयोजना गरिएको छ । धार्मिक गुरु श्रीमज्जगदगुरु–शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीजी महाराजले दिएको प्रवचन भक्तजनले अभिरुचि पूर्वक श्रवण गरेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप