‘नेपालको कूल निर्यातले पेट्रोलियम पदार्थको आयात पनि धानेको छैन’
अर्थतन्त्रमा सुधारका प्रारम्भिक संकेतहरु देखिन थालेको अवस्थामा २०७६ को अन्त्य देखि फैलिएको ‘कोभिड १९’ महामारीको संक्रमणले मुलुकको अर्थतन्त्रको प्रत्येक क्षेत्र प्रभावित हुन पुग्यो । अब त्यसको नकारात्मक असरबाट अर्थतन्त्रलाई पुनर्जीवित गर्ने कार्यमा सक्रिय हुनु सम्पूर्ण जिम्मेवार पक्षको प्रमुख दायित्व भएको छ ।
तसर्थ राज्यले अविलम्ब अर्थतन्त्रको पुनरुत्थानको लागि पुनकर्जा, पुनर्तालिका लगायत आर्थिक विकासको विषेश प्याकेज घोषणा गर्ने र निकट भविष्यमा नै जारी हुने आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत त्यसलाई निरन्तरता दिने र विस्तार गर्ने कार्य गर्नुपर्छ ।
विद्यमान अवस्थामा मुलुकमा विद्युत आपूर्तिको समस्या उत्पन्न भएको छ । तरलताको चरम अभाव देखिएको छ । ब्याजदर बढेको छ । पूर्वी युरोपमा चलेको सशस्त्र द्वन्द्वले पेट्रोलियम लगायतका केही अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या उत्पन्न हुनुका साथै उच्च मूल्य वृद्धि भएको छ ।
आम नागरिकले सहभागिता बढाउँदै गरेको र भर्खर विकसित हुन लागेको पूँजी बजार एक्कासि ओरालो लाग्न थालेको छ । आम नागरिकसँग रहेको स–सानो पूँजी एकीकृत भई मेगा परियोजनाहरूमा परिचालन गर्न सकिने यो क्षेत्रलाई प्रोत्साहित गरिनुपर्छ । शेयर बजारको अवस्थाले नै वाह्य लगानीलाई पनि आकर्षित गर्ने हुँदा यसलाई प्रवद्र्धन गर्ने विषयमा जिम्मेवार पक्षको ध्यान जानु अति आवश्यक छ ।
मुलुकको कूल निर्यातले पेट्रोलियम पदार्थको मात्रै पनि आयात धान्न सकेको छैन । विगत केही वर्षदेखि पर्यटन क्षेत्र ठप्प छ । पछिल्लो समयमा विप्रेषण घटेको छ । निरन्तरको बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा ह्रास आएकाले केही वस्तुहरुको आयातलाई कटौती गर्ने रणनीति सरकारले लिएको देखिन्छ । तर पूँजीगत वस्तुहरु, औद्योगिक कच्चा पदार्थको रुपमा प्रयोग हुने वस्तुहरु एवं सदैव मूल्य अभिवृद्धि भइरहने वस्तुहरुको आयातलाई समेत निरुत्साहित गर्दा अर्थतन्त्रमा थप नकारात्मक असर पर्ने तर्फ पनि गम्भीरतापूर्वक ध्यान जानु आवश्यक छ ।
साथै परिवत्र्य विदेशी मुद्रा आर्जनको स्रोत वृद्धि नगरे सम्म आयात कटौतीले मात्रै विदेशी मुद्राको सञ्चिति बढ्न सक्तैन । मुलुकको वाह्य व्यापारमा निर्यातको आकार साँघुरो हुँदै गएको छ । परम्परागत वस्तुहरु हराउँदै गएका छन् । नयाँ वस्तुहरु देखा पर्न सकेका छैनन् । उत्पादन र उत्पादकत्व घट्दै गएको छ । लागत बढ्दै गएको छ ।
कृषिजन्य एवम् वनजन्य वस्तुहरुको समेत ठूलो परिमाणमा आयात हुन थालेको छ । आयातमुखी एवं उपभोगमुखी प्रवृत्ति बढेकोले वाह्य व्यापारमा असन्तुलन बढ्नुका साथै अर्थतन्त्र कमजोर बन्दै गएको छ । त्यसैले स्वदेशी उत्पादनको खपतलाई प्रोत्साहन गरी हरेक क्षेत्रमा आयात प्रतिस्थापनको लक्ष किटान गर्ने र निर्यात प्रवद्र्धनका सम्पूर्ण उपायहरु अवलम्बन गर्नु जरुरी छ ।
वाह्य व्यापारमा मुलुकले वर्षेनी ठूलो घाटाको सामना गरिरहेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ८ महिनामा कूल बस्तु निर्यात १ खर्ब ४७ अर्ब ७४ करोड रुपैयाँ र आयात १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ छ । समीक्षा अवधिमा कूल बस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । उक्त विवरणअनुसार कुल वस्तु व्यापार १४ खर्ब ५६ अर्व ६४ करोड रुपैयाँ छ । यसमा आयातको हिस्सा ९० र निर्यात १० प्रतिशत मात्रै देखिन्छ ।
विश्व व्यापार संगठन एवं विभिन्न सम्झौताहरूमा मुलुकले जनाएको प्रतिवद्धताअनुसार भन्सारका दरवन्दीहरु समायोजना गरिनु जरुरी छ । एलसीमार्फत हुने आयातमा शत प्रतिशत सम्मको मार्जिन राख्नुपर्ने प्रावधानले व्यवसायका लागत बढ्न गएको छ । मूल्य अभिवृद्धि करमा समदर लागू हुनाले मिसम्याचको समस्या देखिएको छ । तसर्थ यस्ता विसंगतिहरुको समय सापेक्ष अन्त्य गरिनुपर्दछ ।
एलसी एवम् भन्सारमा कारोवार मूल्यलाई मान्यता दिइनुपर्दछ । आयकरको अधिकतम सीमा व्यक्तिगततर्फ ६ लाख रुपैयाँ र दम्पतीतर्फ ८ लाख पुर्याइनुपर्छ । कारोबारको आधारमा आयकर निर्धारण गर्ने र मूल्य अभिवृद्धि करको खाता राख्ने थ्रेस होल्ड ५० लाखबाट बढाई १ करोड रुपैयाँ गरि करको दर ०.५ प्रतिशत गरिनुपर्दछ । यसले साना व्यवसायीलाई राहत पुग्ने र राजश्व पनि वृद्धि हुनेछ ।
सन २०२६ देखि नेपाल अति कम विकसितबाट विकासोन्मुख मुलुकको श्रेणीमा स्तरोन्नती हुँदैछ । त्यसपछि अतिकम विकसित राष्ट्रले उपभोग गर्दै आएको सहुलियत छोड्नुपर्ने हुन्छ । यसबाट विशेषत ः अमेरिका र युरोपेली मुलुकमा हुने निर्यात व्यापारमा थप जटिलता आउने देखिन्छ । तसर्थ नकारात्मक असर कम गर्न अहिलेदेखि नै गृहकार्य हुनुपर्छ । यसभित्र भूपरिवेष्टित मुलुकले पाउने सुविधा लिने प्रयास गरिनुपर्छ ।
तुलनात्मक लाभ लिन सकिने कृषि, पर्यटन, जलस्रोत, खानी तथा बहुमूल्य पत्थर, आदि क्षेत्रको प्रवद्र्धनका लागि राज्य र निजी क्षेत्र बीच थप सहकार्य हुनु आवश्यक छ । जडिबुटी एवं अन्य कच्चा पदार्थको निर्यात भन्दा स्वदेशमै प्रशोधन गरि निर्यात गर्ने व्यवस्था गरिनुपर्छ ।
समग्रमा, मुलुकको सर्वाङ्गीण आर्थिक सम्बृद्धि एवम् उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धन र सहजीकरणका लागि गनुपर्ने थुपै कार्यहरु छन् । साथै आर्थिक क्षेत्रमा केही विसंगतिहरु छन् । साथै आर्थिक क्षेत्रमा गरिनुपर्ने सुधार र चालिनुपर्ने कदमका विषयमा चेम्बरको यस ७१ औं वार्षिक साधारणसभाले थप विचार विमर्श गरी निर्णय गर्नेछ ।
(चेम्बरको ७१ औं वार्षिकोत्सवमा मल्लले राखेको भनाइको सम्पादित अंश)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु
-
सहकारी अनुसन्धानका लागि ‘आर्थिक अनुसन्धान ब्यूरो’ आवश्यक
-
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना