शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाल्पामा गठबन्धन भर्सेस एमाले : कसको अवस्था कस्तो ?

आधाभन्दा धेरै स्थानीय तहमा नेपाली काँग्रेसको दाबी
आइतबार, २७ चैत २०७८, १५ : ३४
आइतबार, २७ चैत २०७८

स्थानीय तहको निर्वाचन नजिक आउँदै गर्दा विभिन्न दल आ–आफ्नो लेखाजोखामा व्यस्त छन् । पाल्पा जिल्लामा पनि दलहरु उम्मेदवार चयन तथा चुनावी तालमेलको गृहकार्यमा जुटेका छन् । सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले पाल्पामा पनि तालमेल गर्ने भएका छन् । कुन स्थानीय तहमा कुन दलले कुन पदमा उम्मेदवारी पाउने हो भन्नेमा पनि गठबन्धन घटकभित्र चासो बढेको छ ।

अघिल्लो निर्वाचनमा काँग्रेसले जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको थियो । काँग्रेसले रामपुर नगरपालिका, माथागढी गाउँपालिका, बगानसकाली गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको नेतृत्व हासिल गरेकोमा आसन्न निर्वाचनमा ती पालिकाका अतिरिक्त उसले थप तीन वटा पालिकामा दाबी गरेको छ ।  बाँकी ३ वटामा चाहिँ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सघाउने काँग्रेसको मनसाय छ ।

काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सत्तारुढ गठबन्धनबीच तालमेलका आधारमा उम्मेदवारी दिइने बताए । पाल्पामा नेपाली काँग्रेसले जितेका स्थानीय तह सुरक्षित राख्दै एमालेले जितेका ठाउँमा गठबन्धनभित्रका दलहरुबीच जनाधारका आधारमा प्रतिस्पर्धा गरिने उनको भनाइ छ ।

नेपाली काँग्रेसले अघिल्लो निर्वाचनमा पाल्पाका चार स्थानीय तहमा जित हासिल गरेको थियो । पाल्पामा खासगरी नेपाली काँग्रेस र नेकपा एमालेबीच नै प्रतिस्पर्धा हुने गरेको छ । गठबन्धनभित्रका दलहरुमध्ये पाल्पामा नेपाली काँग्रेसकै जनाधार बढी रहेका कारण उसले अधिक पालिकामा दाबी गरेको छ ।

तानसेन नगरपालिका

पाल्पाका दुई नगरपालिकामध्ये तानसेनमा विगतमा एमालेले प्रमुख पद जितेको थियो । अहिले यहाँ नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा दाबी गरेका छन् । गठबन्धनभित्रका प्रमुख तीन दलले नै आफू यो पालिकामा बलियो रहेको दाबी गर्दै प्रमुख पद आफूले पाउनुपर्ने दाबी गरेका हुन् ।

अघिल्लो निर्वाचनमा यो पालिकाको प्रमुख पदमा एमाले १० हजार ४५० मत ल्याएर विजयी भएको थियो भने काँग्रेसले ८ हजार ६७ र माओवादी केन्द्रले एक हजार १३७ मत हासिल गरेको थियो । नेपाली काँग्रेस थोरै मतान्तरले एमालेसँग पराजित भएको थियो । एमाले विभाजित भइसकेको र एमालेका जनप्रतिनिधिले खासै प्रभावकारी काम नगरेका कारण अब यो पालिकामा आफूले सहजै जित्ने काँग्रेसको दाबी छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पनि यो पालिकामा आफ्नो संगठन बलियो रहेको दाबी गरेका छन् । पाल्पाका माओवादी सह–इन्चार्ज तथा पार्टीका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले नेपाली काँग्रेसलाई रामपुर नगरपालिका र माओवादी केन्द्रलाई तानसेन नगरपालिका प्रमुख पद दिनुपर्ने बताउँछन् ।

काँग्रेसले रामपुर नगरपालिकाको प्रमुख पद लिएपछि तानसेन नगरपालिकाको प्रमुख पद माओवादी केन्द्रले पाउनुपर्ने उनले बताए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेले तानसेनमा विगतमा एमालेले जित हासिल गरेको र हाल एमालेका कयौं कार्यकर्ता आफ्नो पार्टीमा रहेका कारण पनि यो पालिकाको प्रमुख पदमा स्वाभाविक रुपमा आफ्नो दाबी रहने बताए ।

रामपुर नगरपालिका

रामपुर नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । यो नगरपालिकाको प्रमुख पदमा ८ हजार ८८५ मतसहित काँग्रेस विजयी हुँदा एमालेले ७ हजार ६७६ र जनमोर्चाले ११४ मत हासिल गरेको थियो ।

गठबन्धनभित्र अहिले पनि यो पालिकाको प्रमुख पद काँग्रेसलाई दिने करिब करिब निश्चित छ । नेपाली काँग्रेसले विगतमा पनि जितेको र जनाधार पनि बलियो भएकाले मेयर पद आफूले नै पाउने दाबी गर्दै उम्मेदवार छनौटको तयारी थालिसकेको छ ।

यहाँ उपप्रमुख पद कसले पाउने हो भन्ने टुङ्गो लागिसकेको छैन । गठबन्धनभित्र घटक राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामीले आफ्नो पार्टीले केही वडाका अध्यक्ष पद माग गरेको रातोपाटीलाई बताए ।

तिनाउ गाउँपालिका

विगतमा एमालेले जितेको तिनाउ गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । यहाँ नेपाली काँग्रेसले पनि पालिका अध्यक्ष पदमा दाबी गरिरहेको अवस्था छ । जनमोर्चा र नेकपा एकीकृत समाजवादीले भने यो पालिकाका केही वडामा अध्यक्ष पदका लागि आकांक्षा राखेका छन् ।

माओवादी केन्द्रका जिल्लाका सहईन्चार्ज अनिल किशोर घिमिरेले तिनाउ र रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा आफ्नो पार्टीको मुख्य दाबी गरेको बताए । यो पालिकाको वडा नम्बर ३ मा भने जनमोर्चाले दाबी गरेको छ ।

अघिल्लो निर्वाचनमा यो पालिकाको प्रमुख पदमा एमालेले २ हजार ८१० मत हासिल गरेको थियो । यस्तै, काँग्रेसले २ हजार ७०७ र माओवादी केन्द्रले २ हजार ३८८ मत हासिल गरेको थियो ।

निस्दी गाउँपालिका

निस्दी गाउँपालिका विगतमा एमालेले जितेको स्थानीय तह हो । यो पालिकामा काँग्रेसले खासै चासो राखेको छैन । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमध्ये कुनै एकलाई यो पालिकाको अध्यक्ष पद दिन सकिने काँग्रेसका स्थानीय नेताहरु बताउँछन् ।

नेपाली काँग्रेस आफैले प्रमुख पद नलिने भएपछि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमध्ये कुनै एकले यो पालिकाको प्रमुख पद पाउने भएका छन् । तर, ती दुईमध्ये कुन दलले यो पालिकाको प्रमुख पदमा उम्मेदवारी दिने भन्नेबारे टुङ्गो लाग्न बाँकी नै छ ।

निस्दी गाउँपालिकामा अघिल्लो निर्वाचनमा एमालेले ५ हजार ३२० मत ल्याएर अध्यक्ष पदमा जित हासिल गरेको थियो भने काँग्रेसले २ हजार ९२३ र संघीय समाजवादीले ५३ मत ल्याएको थियो ।

पूर्वखोला गाउँपालिका

यो पालिका पनि एमालेले जितेको ठाउँ हो । यहाँ सत्तारुढ गठबन्धनबाट अध्यक्ष पदमा कुन दलले उम्मेदवारी दिने भन्ने टुङ्गो लागेको छैन । गठबन्धन घटकका नेताहरुका अनुसार यो पालिकामा पनि नेपाली काँग्रेसले दाबी नगर्ने देखिएको छ । अघिल्लो निर्वाचनमा यो पालिकामा एमालेले ५ हजार ६३६ मतसहित अध्यक्ष पदमा जित हासिल गर्दा काँग्रेसले एक हजार ७३२ र स्वतन्त्र उम्मेदवारले १७३ मत हासिल गरेका थिए ।

बगनासकाली गाउँपालिका

यो गाउँपालिकामा नेपाली काँग्रेसले जितेको थियो । अहिले पनि काँग्रेसले नै पालिका अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको छ । आफूले जितेको र फेरि पनि जित्ने आधार बलियो भएको ठाउँमा चुनावी तालमेलकै आधारमा अरुलाई जिम्मेवारी दिँदा झन् समस्या आउने नेपाली काँग्रेसका जिल्ला सभापति श्रेष्ठले बताए । अन्य दलले यो पालिकाको प्रमुख पदमा खासै चासो राखेका छैनन् ।

अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेस र एमालेबीच कडा टक्कर हुँदा झिनो मतान्तरले काँग्रेस विजयी भएको थियो । यो पालिकाको अध्यक्ष पदमा काँग्रेस ५ हजार ५९४ मतका साथ विजयी हुँदा एमालेले ५ हजार ३४६ र जनमुक्ति पार्टीले १४६ मत हासिल गरेको थियो ।

माथागढी गाउँपालिका

यो गाउँपालिकामा नेपाली काँग्रेसको पकड राम्रो मानिन्छ । विगतमा पनि यो पालिकामा काँग्रेसले नै जितेका कारण गठबन्धनका अन्य दलले यहाँ खासै चासो राखेका छैनन् । विगतमा गठबन्धन घटकबाट जसले जहाँ जितेको छ, त्यहाँ अन्य दलले खासै दाबी नगर्ने नेकपा एकीकृत समाजवादीका एक स्थानीय नेताले बताए । एमालेले जितेका स्थानीय तहमा भने नेकपा एकीकृत समाजवादीले पहिलो दाबी गर्ने र सहमतिका आधारमा कुन पार्टीलाई कुन पदमा जिम्मेवारी दिने भन्ने निर्धारण गरिने उनको भनाइ छ ।

अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेस ५ हजार ७९९ मतसहित विजयी हुँदा एमालेले ३ हजार ८०६ र स्वतन्त्र उम्मेदवारले १८३ मत हासिल गरेका थिए ।

रम्भा गाउँपालिका

रम्भा गाउँपालिकामा विगतमा एमाले जितेको थियो । त्यसैले यो पालिकामा गठबन्धनबाट कसले प्रमुख पदमा उम्मेदवारी दिने भन्नेबारे अन्योल छ । एमालेको पकड रहेको यो पालिकामा गठबन्धनबाट पालिका प्रमुख पदमा काँग्रेसले उम्मेदवारी दिने या नेकपा एकीकृत समाजवादीले भन्नेबारे टुङ्गो लाग्न बाँकी छ ।

नेकपा एकीकृत समाजवादीले यहाँ आफूहरुको संगठन बलियो भएकाले पालिका प्रमुख पद आफूले पाउनु पर्ने दाबी गरेको छ । अघिल्लो निर्वाचनमा एमाले ४ हजार ७६७ मतसहित विजयी भएको थियो भने काँग्रेसले ४ हजार ९८ र माओवादी केन्द्रले ३२३ मत हासिल गरेका थिए ।

रिब्दिकोट गाउँपालिका

यो गाउँपालिकामा नेपाली काँग्रेसले खासै चासो राखेको छैन । उसले यो पालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीमध्ये एकलाई प्रमुख पद दिने गरी सहमति गर्न सकिने काँग्रेसका नेताहरुको भनाइ छ ।

यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र दुबैले दाबी गरेका छन् । यहाँ माओवादी केन्द्र विगतमा तेस्रो स्थानमा थियो । यो पालिकाको केही वडामा जनमोर्चाको दाबी छ । यो पालिकाको अध्यक्ष पदमा विगतमा एमालेले ३ हजार ६९३ मतका साथ जित हासिल गर्दा काँग्रेसले २ हजार ५५६ र माओवादी केन्द्रले २ हजार ४४८ मत हासिल गरेका थिए ।

रैनादेवी छहरा गाउँपालिका

यो पालिकाका विगतमा नेपाली काँग्रेसले जित हासिल गरेको थियो । अहिले पनि काँग्रेसले नै यहाँ प्रमुख पदमा दाबी गरेको अवस्था छ । माओवादी केन्द्रले आफ्नो संगठन बलियो रहेको दाबी गर्दै प्रमुख पद आफूले पाउनुपर्ने भन्दै आएको छ । अघिल्लो निर्वाचनमा यो पालिकामा काँग्रेसले ५ हजार १४६, एमालेले ४ हजार ९४३ र माओवादी केन्द्रले २ हजार ३९ मत हासिल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप