शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महिलाले नै महिला नेतृत्व जन्माउनुपर्छ : उपमेयर सत्याल

आइतबार, २७ चैत २०७८, १३ : ४८
आइतबार, २७ चैत २०७८

ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्याल गठबन्धन हुँदा महिला प्रतिनिधिको सहभागिता घट्छ कि भन्नेमा डर भएको बताएकी छन् । सत्यालले यो विषयमा पार्टीभित्र नेतृत्व तहमा नै लबिङ हुनुपर्ने बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले निर्वाचनमा पुरुषलाई मात्र मेयर र उपमेयर उठाइदिने हो भने महिलाको कोटा कम हुने बताइन्  ।

उनले भनिन्, ‘जुनसुकै पार्टीले तालमेल गरेपनि महिलाको कोटा पुर्याउनै पर्छ । महिलाको कोटा पुगे नपुगेको निगरानी निर्वाचन आयोगले राख्नुपर्छ ।’ संविधानले सुरक्षा गरेको महिला कोटामा गठबन्धनकै कारणले महिलाले नपाउने स्थिति सिर्जना हुन नुहने उनले बताइन् ।

महिलाले पारदर्शी, सुशासन र जवाफदेहिता सहित नेतृत्व हाँक्न सक्ने उनको दाबी थियो । उनले भनिन्– ‘हिजोका दिनमा महिलाले के गर्न सक्छन् भन्ने थियो तर महिलाले दोस्रो तहमा रहेर पनि कुशलतापूर्वक नेतृत्व गर्न सक्ने देखाइसकेका छन्, अब महिलाले चुनाव जित्दैनन् कि भनेर पार्टी नपत्याउने अवस्था छैन ।’ 

आगामी चुनावमा पनि आफ्नो दाबी नगर प्रमुख नै रहने उनले बताइन् । ‘अब महानगरपालिका कसरी सञ्चालन गर्ने भन्ने कुरा ज्ञानको हासिल भएको छ । हिजो महिलालाई राजनीतिमा ल्याउन धेरै चुनौती थियो । आज त्यो चुनौती अवसरका रुपमा परिणत भएको छ । अब प्रमुखमा ३३ प्रतिशत महिला आउनुपर्छ र त्यसमा आफू पर्छु भन्ने विश्वास छ।’ गठबन्धनको विषयमा केन्द्रको निर्णयलाई समर्थन गर्ने बताउँदै उनले भनिन्, ‘केन्द्रको निर्णयलाई मान्छु तर मेरो क्षेत्रको हकमा काँग्रेसले कसैसँग गठबन्धन नगरेपनि चुनाव जित्छ भन्ने कुरामा ढुक्क छु ।’

समग्रमा पाँचवर्षे कार्यकाल एक सिकाइको रुपमा रहेको उनको भनाइ छ  । सत्यालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को धारा ४७ (१) र (२) ले दिएका अधिकार र कर्तव्यमा रहेर काम गरेको सुनाइन् । न्याय निरुपणमा मेलमिलापको विषयलाई जोड दिएर काम गरेको बताउँदै उनले सम्बन्धविच्छेदका मुद्दा, जमिन मुनिको पानी उत्खनन गरेर बिक्री वितरण गरेको विषय र लिभिङ टुगेदर जस्ता मुद्दामा आफुले काम गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप