बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा गठबन्धनको बैठक बस्न सकेन

आइतबार, २७ चैत २०७८, २१ : ४७
आइतबार, २७ चैत २०७८

चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनको बैठक विभिन्न प्रदेशमा भइरहेको छ । तर, सात प्रदेशमध्ये मधेश प्रदेशमा भने गठबन्धन दलको प्रदेशस्तरीय बैठक बस्न सकेको छैन । मधेस प्रदेशमा स्थानीय तहमा चुनावी गठबन्धनका लागि जनकपुरधाम स्थित नेपाली काँग्रेसको मधेश प्रदेश कार्यालयमा एक साता अघि बैठक थियो । सो बैठकबाट २२ गते सम्ममा आ–आफ्नो पार्टीको पालिका कमिटी देखि जिल्ला पार्टीसँग आ–आफ्नो संगठनको अवस्था बारे बुझेर चैत २७ गते बैठक बस्ने गरी स्थगित भएको थियो । तर आज पनि बैठक बस्न सकेको छैन । 

बैठकका लागि अगुवाई गरेका काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादवले पहलकदमी नलिँदा बैठक हुन नसकेको गठबन्धनका घटक दलहरूको भनाइ छ । गठबन्धनका घटक दल नेकपा माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले विभिन्न जिल्लामा गठबन्धन दलवीचको बैठक हुन बाँकी रहेकाले आज भनिएको बैठक हुन नसकेको बताए । 

अध्यक्ष बुढाथोकीले भने, ‘आठ वटै जिल्लामा बस्नुपर्ने मध्ये अधिकांश जिल्लामा गठबन्धनको बैठक बस्न नसकेकाले आजको बैठक हुन नसकेको हो ।’  धनुषा, महोत्तरीलगायतका केही जिल्लामा जिल्लास्तरीय गठबन्धनको बैठक बसेपनि पर्सा, बारा, सप्तरीलगायतका जिल्लामा गठबन्धनको बैठक बस्न सकेको छैन ।

जिल्लास्तरमै गठबन्धनको बैठक बस्न नसकेपछि मधेश प्रदेशस्तरको गठबन्धनको बैठक अन्योल भएको हो । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले बैठकका लागि काँग्रेसले अहिलेसम्म अन्य दलसँग छलफल नगरेको बताए । उनले भने, ‘बैठक डाक्ने जिम्मा काँग्रेसको हो, तर बैठक आज बस्न सकेन ।’

यता नेपाली काँग्रेस मधेश प्रदेशका अध्यक्ष कृष्ण यादव भने सम्पर्कमा आएनन् । मधेस प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ पालिका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप