सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

हेटौँडामा मेयर र उपमेयरका उम्मेदवार छान्न एमाले उपमहानगर कमिटीको बैठक बस्दै

आइतबार, २७ चैत २०७८, १२ : ०९
आइतबार, २७ चैत २०७८

हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–८, कमानेमा एमालेको उपमहानगर कमिटी बैठक बस्ने तय भएको हो ।

बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने तयारी भएको एमालेको उपमहानगर कमिटीका एक नेताले जानकारी दिए । सहमति जुट्न नसकेको खण्डमा भने मतदानको प्रक्रियाबाट उम्मेदवार टुङ्गो लगाउने उनको भनाइ छ ।

मेयरका लागि ७ आकाङ्क्षी

हेटौँडा उपमहानगरपालिकामा मेयर पदका लागि एमालेभित्र ७ जना आकाङ्क्षी देखिएका छन् । एमालेबाट पूर्व संविधानसभा सदस्यदेखि जिल्ला सचिवालय समितिका सदस्य गरी सात जनाले मेयरमा आकांक्षा व्यक्त गरेका छन् ।

२०७० सालमा निर्वाचित संविधानसभाका सदस्य अनन्त पौडेलदेखि एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरू मदनकुमार दाहाल र ध्रुव प्रसाद चौलागाई, बहालवाला मेयर हरिबहादुर महत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना र एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले पनि मेयरमा आकांक्षा देखाएका छन् ।

पछिल्लो समय मकवानपुरको राजनीतिमा संविधानसभा सदस्य पौडेल र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एमालेका लागि अभिभावकीय र निर्णायक भूमिका खेल्दै आएका छन् । मेयर पदका उम्मेदवार चयनमा पनि उनीहरूको भूमिका निर्णायक हुने बताइएको छ । संविधानसभा सदस्य पौडेलले मेयर पदमा आकांक्षा व्यक्त गरेपछि उम्मेदवार छनौटमा समस्या देखिएको एमाले नेताहरू बताउँछन् ।

जिसस मकवानपुरका प्रमुख खुलाल पूर्वमुख्यमन्त्री पौडेलको पहिलो रोजाईका पात्र हुन् । पूर्वमुख्यमन्त्री पौडेल निकटकै केन्द्रीय सदस्य रानाले पनि मेयर बन्ने आकांक्षा देखाएपछि भने एमालेभित्र समस्या देखिएको छ ।

यता अघिल्लो निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई हराउँदै हेटौँडाको मेयर बनेका महत आफ्ना अधुरा काम पुरा गर्न भन्दै थप एक कार्यकाल आफूलाई अवसर दिनुपर्ने तर्क गर्दै आएका छन् ।

५ जनाको उपमेयर बन्ने इच्छा

हेटौँडाको उपमेयर पदका लागि एमालेबाट पाँच जनाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् । उपमेयर पदका लागि अनेम संघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्ले, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाल लगायतकाले इच्छा व्यक्त गरेका छन् ।

मेयर र उपमेयर पदका उम्मेदवारहरु आ–आफ्नो दाबी कसेर बसेकाले सहमति हुन सक्ने अवस्था नरहेपछि शनिबार बसेको उपमहानगरपालिका कमिटीको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्नेहरू एक–अर्कालाई सहयोग गरेर जाने अवस्था अझै नबनेकाले उम्मेदवार छनौट पनि निर्वाचन प्रक्रियाबाट गर्नुपर्ने अवस्था आएको नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीका नेता बताउँछन् । एक अर्कालाई सहयोग गर्ने अवस्था नबनेको खण्डमा निर्वाचन प्रक्रियाबाट उम्मेदवार छनौट गरेर जिल्ला कमिटीमा सिफारिस गर्ने तयारी रहेको उनले बताए ।  

यी हुन् एमालेबाट हेटौँडाका वडाध्यक्ष उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीले १९ वटै वडाका लागि वडाध्यक्षसहित सदस्यहरूको नाम टुङ्ग्याएर जिल्ला कमिटीमा सिफारिस गरेको छ । एमाले हेटौँडा उपमहानगरपालिकाको सबै वडा कमिटीको बैठकले वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको नाम सिफारिस गरेको हो । जसअनुसार निम्न वडामा निम्न व्यक्तिलाई अध्यक्षको उम्मेदवार सिफारिस गरिएको छ ।

वडा १ – उत्तम प्रसाद पौडेल

वडा २ – हरिबहादुर राउत

वडा ३ – रामकुमार पुडासैनी/परेशमान विडारी/कल्पना लामा

वडा ४ – नवीन सिग्देल

वडा ५ – सुशील घिमिरे

वडा ६ – विश्वराज राई

वडा ७ – राजन थापा

वडा ८ – बोलबहादुर कार्की/यशोदा उप्रेती/रमेशकुमार पौडेल

वडा ९ – नरेन्द्र भण्डारी/लक्ष्मणप्रसाद भण्डारी/गोमा शाह

वडा १० – धर्मराज बस्नेत/साधना श्रेष्ठ/फूर्वादोर्जे लामा/किताप सिं लामा

वडा ११ – जुना दाहाल/रामचन्द्र न्यौपाने/दीपक शिवाकोटी

वडा १२ – राजेश नगरकोटी

वडा १३ – पेम्बा लामा

वडा १४ – दीपक खड्का

वडा १५ – सुनिल मोक्तान

वडा १६ – बसन्त प्रसाद लामिछाने

वडा १७ – भैरवबहादुर राई/लक्ष्मण खुलाल

वडा १८ – अनिल बानियाँ

वडा १९ – नरनाथ सुवेदी/इन्दिरा तामाङ/रत्नबहादुर ब्लोन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप