ad
x
विज्ञका कुरा

हाइब्रिड ‘एक्स ई’ अर्थात् ओमिक्रोनको ‘मिक्सड अप’ भाइरस !

person explore access_timeचैत २७, २०७८ chat_bubble_outline0

केहि समय अगाडिसम्म कोरोना भाइरसमा देखिने म्युटेसनलाई बढी चासोका साथ हेरिने गरिन्थ्यो । तर भाइरसमा समयक्रमसँगै हुने यस्ता म्युटेसनलाई प्राकृतिक मानिन्छ र तसर्थ देखिनु/हुनु अस्वाभाविक मानिँदैन । सबै म्युटेसन खराब हुँदैन । तर म्युटेसन मानव समुदायलाई नै प्रभावित पार्ने वा मानवीय क्षति गर्न सक्ने क्षमताको रहेछ भने त्यसको फैलावट जतिसक्दो चाँडो रोक्न गम्भीर भई योजनाहरू तीव्र बनाउनु पर्ने हुन्छ । जस्तै "भेरिएन्ट अफ कन्सर्न" अन्तर्गत पर्ने अल्फा, बेटा, गामा, डेल्टा र पछिल्लो समय देखिएको ओमिक्रोन कोरोना भाइरसहरू मानव समुदायको लागि जोखिमयुक्त मानिन्थ्यो । यी भेरिएन्टहरु मध्य डेल्टाले नेपालमा सबैभन्दा ठुलो मानवीय क्षति (सबैभन्दा घातक) गरेको थियो भने ओमिक्रोनले सबैभन्दा धेरैलाई सङ्क्रमित (सबैभन्दा सङ्क्रामक) गरेको तथ्याङ्क छ । एक भन्दा बढी फरक भाइरसले एकै व्यक्तिलाई सङ्क्रमण गरेको अवस्थामा दुई भाइरस बीच जीन साटासाट हुन सक्दछ । र फलस्वरूप नयाँ स्वरूपको भाइरस विकास हुन जान्छ । लेखकले यस्तो भाइरसलाई "हाइब्रिड भाइरस" र टेक्निकली " रिकन्भीनेन्ट भाइरस वा पुनः संयोजन" भएको भन्ने गरेको छ । हाल कोरोनाको "हाइब्रिड भाइरस" देखिने क्रम बढ्दै गएको देखिन्छ । पछिल्लो समय यस्ता "हाइब्रिड भाइरस" लाई एक्स "डी",एक्स "ई",एक्स "एफ" जस्ता नामहरू दिएका छन् । यी "हाइब्रिड भाइरस" हरू मध्ये पछिल्लो समय एक्स "ई" को चर्चा बढी देखिन्छ ।


                  
एक्स "ई" भाइरस कसरी बन्यो?
"एक्स ई" भाइरस ओमिक्रोन भेरिएन्ट म्युटेसन भएर बनेको दुई फरक उप-प्रजातिका भाइरसहरू BA.1 र  BA.2 को सम्मिश्रणबाट विकास भएको भाइरस हो । "युके हेल्थ सेक्युरिटी एजेन्सी" का अनुसार बेलायतमा गत मार्च २५ सम्ममा ६३७ एक्स "ई" भाइरसका सङ्क्रमितहरू देखिएका थिए । एक्स "ई" भाइरस हालसम्म देखिएको ओमिक्रोनको उप-प्रजातिका भाइरसहरू भन्दा बढी सङ्क्रामक अथवा तीव्र गतिमा फैलन सक्ने भनिएको छ ।  हङकङमा २ व्यक्तिमा आयातित एक्स "ई" भाइरस देखिएको एक अनुसन्धानले पुष्टि गरेको छ । तर हालसम्म एक्स "ई" भाइरस विगतको भन्दा बढी घातक देखिएको पुष्टि वा जानकारी भने छैन ।



के एक्स "ई" भाइरसको विकास नेपालमा सम्भव थियो/छ?
माथि उल्लेख गरे झैँ दुई वा दुई भन्दा बढी फरक भाइरस एकै ठाउँ र समयमा फैलिरहेको छ र एकै व्यक्तिलाई सङ्क्रमण गरेको अवस्थामा "हाइब्रिड भाइरस" विकास सम्भव हुन्छ यद्यपि यस्तो अवस्थालाई दुर्लभ नै मानिन्छ । कोरोनाको तेस्रो लहरमा डेल्टा, "एस जीन" नेगेटिभ ओमिक्रोन र "एस जीन" पोजेटिभ ओमिक्रोन भाइरस गरी तीन प्रकारका कोरोना सँगै फैलिएका थिए । एक्स "ई" हाइब्रिड भाइरस "एस जीन" नेगेटिभ र "एस जीन "पोजेटिभ ( BA.1  र BA .2 ) ओमिक्रोन मिलेर बनेको भाइरस भएकोले नेपालमा नै विकास हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । तर तेस्रो लहरको अवधिमा गरिएका कोरोनाका जिनोम सीक्वेन्सिङको नतिजाहरूले भने "हाइब्रिड भाइरस" को बारेमा उल्लेख गरेका थिएन । यद्यपि लेखकले हाइब्रिड भाइरसको सम्भावनालाई भने व्यक्त गर्दै आइरहेको थियो । सङ्क्रमित हुनेको सङ्ख्या दैनिक पाँच अङ्कबाट झरेर हाल दुई अङ्कमा पुगेर पनि होला जिनोम सीक्वेन्सिङ गरेको वा नतिजा प्रकाशित भएको देखिँदैन । जिनोम सीक्वेन्सिङ बिना "हाइब्रिड भाइरस वा रिकन्भीनेन्ट भाइरस" पत्ता लगाउन सम्भव हुँदैन ।  



"एक्स ई" कति चिन्ता योग्य भाइरस हो?
"एस जीन" नेगेटिभ र "एस जीन "पोजेटिभ ओमिक्रोनको मिलनबाट एक्स "ई" भाइरसको उत्पत्ति भएको र यी दुई फरक म्यूटेटेड ओमिक्रोनका भाइरसहरू नेपालमा तेस्रो लहरको कारक भएकोले अर्थात् यसलाई अझ अर्को शब्दमा भन्नु पर्दा धेरै मानिसहरू यी दुई फरक भाइरसहरूबाट सङ्क्रमित भैसकेको (लक्षण सहित/ लक्षण विहीन) हुनसक्ने भएकोले तत्काल चिन्ता लिनु पर्ने देखिँदैन । सम्भवतः, अधिकांशमा ओमिक्रोनका यी दुई फरक भाइरस बिरुद्धका एन्टीबडी बनिसकेको हुनुपर्दछ । त्यसमा पनि बिगतमा भन्दा धेरैले खोपको कम्तीमा दुई मात्रा लगाइसकेका पनि छन् ।



अन्तमा, "एक्स ई" भाइरस भारत लगायत विश्वका विभिन्न देशहरू देखिँदै गइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारका माध्यमहरूले जनाएका छन् । नेपालको छिमेकी देश भारतमा पनि देखिएको भनिएकोले विगतको अनुभवहरूलाई आधार मान्ने हो भने नेपालमा पनि ढिलो चाँडो देखिन सक्दछ । यसको संक्रामकता ओमिक्रोनको भन्दा बढी भनिएता पनि घातकता भने नदेखिएकोले आत्तिइहाल्नु पर्ने अवस्था भने देखिँदैन ।



लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।          



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।