शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मनाइयो चैतेदशैँ

शनिबार, २६ चैत २०७८, २० : ५४
शनिबार, २६ चैत २०७८

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले शक्तिपीठसहित घर–घरमा नवदुर्गा भवानीको पूजा आराधना गरी मनाएका छन् ।

चैतेदशैँका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लागेको थियो । मन्दिरसम्म नजाने भक्तजनले भने घरघरमै देवीको आराधना गरी मीठा–मीठा परिकार बनाएर भोजन गरी परिवारका सदस्यबीच रमाइलो गरेर चैते दशैँ पर्व मनाएका छन् ।

बडा दशैँजस्तै चैते दशैँको पूजा उपासनाको मुख्य उद्देश्य पनि यो लोकमा सुख, शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वाद लिनका लागि हो । बडा दशैँमा जस्तै चैते दशैँमा पनि परिवारका सदस्यबीच जमघट हुने गर्छ ।

यस अवसरमा उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत शक्तिपीठमा चैतेदशैँका अवसरमा विशेषपूजा गरिएको छ ।

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, उग्रतारा, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिएको जनाइएको छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँ घरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई रामनवमी पर्वका रूपमा मनाइन्छ ।

हनुमानढोकामा दिइयो बलि 

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दशैँ घरमा चैते दशैँका दिन पनि बलिसहित पूजा गर्ने गरिएको छ । हनुमानढोकाको मूल चोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । यसैगरी दशैँ घरमा नौवटा बोकाको बलिसहित पूजा गरिएको उनले सुनाए ।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ । चैते दशैँमा भने यो क्रम चैत्र शुक्ल अष्टमीकै दिन समापन गर्ने परम्परा रहेको छ । वि.सं २०६३ सम्म नारायणहिटी राजदरबार अन्तर्गत रहेको हनुमानढोकाको दशैँ घर त्यसपछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप