शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

निबन्ध : मृत्युका प्रतीकहरू

शनिबार, २६ चैत २०७८, १५ : ४४
शनिबार, २६ चैत २०७८

जीवन धन । मृत्यु निधन । 

काहीँ कोही मान्छे मर्‍यो भने “फलानाको त निधन भो नि !” भन्ने गरिन्छ । मान्छेको मूल धनै श्वास हो । मूल पुँजी नै श्वास हो । शरीरमा श्वास चले धन । श्वास उम्केर गए निधन । फोक्सो र नासापुटमा श्वास चले जीवन । चल्न छोडे मरण । 

वास्तवमा मान्छेको मूल धनरूपी श्वास सकिएको दिन मान्छे धनविहीन हुन्छ । निर्धन हुन्छ । निधन हुन्छ । बाहिरी धनको परिपूर्णताले श्वासका चक्र बढाउन सकिन्न । यदि श्वास थप्न मिल्ने भए अरबपति मनुवा सदा अजम्मरी हुने थियो । खरबपति त खनखन सिक्का गनेरै लाख लाख वर्ष बाँचिराख्थ्यो । तर प्रकृतिको विधानले आयु पुगेपछि एक दिन श्वास– नलीमा ओहोरदोहोर गरिरहेको स्वासलाई छिन्दछ । त्यो घडी सुनका सिक्का पनि नकाम बन्छन् । औषध विज्ञानका सारा परिबन्द अपाहिज बन्छन् ।

धन दौलतले श्वास थप्न मिल्ने भए एन्ड्रु कार्नेगी कति बाँच्थ्यो होला ? रकफेलर, टाटा विडला र गोल्छाहरू कति बाँच्थे होला ? जीवन पनि उनकै अधीनमा हुने थियो । मृत्यु पनि उनीहरूकै अधीनमा हुने थियो । बाहिरी धन सकिएर मान्छे हरिकङ्गाल भएको दिन कसैले पनि फलानोको निधन भयो भन्दैनन् । मान्छे कङ्गाल भयो । गरिब भयो । तुम्भीतन्नम भयो भन्ने गरिन्छ । तर मरण भयो भनिन्न । निधन भयो भनिन्न । तर जब शरीरबाट स्वासले बिदा लिन्छ । तब तुरुन्तै उसको मृत्यु घोषणा गरिन्छ । यसबाट अर्थ झिक्न सकिन्छ । मान्छेको सच्चा धन श्वास रहेछ । यही असली धनको वर्तुल चक्र फोक्सोबाट खुस्केपछि जीवन छिनभरमा मरण बन्छ । धनवान्बाट निधन हुन्छ ।

पुर्खाहरूले तरेली तरेलीका विम्बमा मृत्युलाई ढाल्न खोजे । अनेक अर्थका आयामहरूमा यसलाई पर्गेल्न खोजे । किसिम किसिमका प्रतीकमा बुझ्न खोजे । भर्खरै मेरो कानमा केही मान्छेका निधनको खबर यसरी गुन्जियो–

“अमेरिकाकी नान्सी रेगन चौरानब्वे वर्षको उमेरमा खसिन् !”

“उनान्सय वर्षको उमेरमा सुन्तले ठाँइला बाजे खसे अरे !”

“मोथियाहीका ठूलढुङ्गे माइलाबाजे असी कटेर खसेछन् !”

फलाने खस्यो, ढिस्कानु खस्योका आवाजले मलाई झन् बढी आहात तुल्याउँछ । कारण महिना दिनअघि मात्रै आफ्नै वाल्सल्यमयी पिताजीले हामीलाई छोडेर जानुभयो । छोडेर जानु भयो त भनियो तर कहाँ जानुभयो थाहा छैन । बयानन्बेको सीमान्त बार्धक्यमा उहाँ खस्नुभयो । बुबा खसेपछि कसैले बुबा स्वर्ग हुनुभयो भने । कसैले बुबा मर्नु भयो भने । कसैले बुबा बित्नु भयो भने । कसैले बुबाको चोला उठ्यो भने । कसैले बुबा दिवङ्गत हुनुभयो भने । बुबा बित्नुको अर्थलाई जसले जति नै शब्दावलीमा चित्रित गरे पनि मलाई खस्नुको अर्थले खसखस खसखस पारिरहेको छ ।

खस्नुको खास अर्थ कतैबाट कुनै चिज झर्नु भन्ने बुझिन्छ । गिर्नु भन्ने बुझिन्छ । लड्नु भन्ने बुझिन्छ । मृत्युको सन्दर्भमा यी अर्थले खास तालमेल संवहन नगर्लान् तथापि यसलाई रुखबाट फल गिरेको अर्थमा हेर्नु उपयुक्त हुन्छ । किनभने पुर्खाले खस्नुभित्र मृत्यु देखे । मानिसको जीवनरूपी फल स्वासको भेट्नोमा तुन्द्रुङ्ग झुन्डिबसेको छ कतै । जब स्वासको भेट्नु चुडिन्छ तब यो फ्यात्त भुँइमा खस्छ । जसरी भेट्नो चुँडिएर रूखबाट आँप झर्छ । कटहर झर्छ । मेवा झर्छ । त्यसरी नै भेट्नो चुँडिएका दिन जीवन भुँइमा गिर्छ र जीवन माटो हुन्छ । खरानी हुन्छ । अस्तित्वका विभिन्न आयाममा प्रकृतिवत ढङ्गले यो समाहित हुन्छ ।

रुखको फल खस्ने प्रक्रिया र मानिसको जीवन–फल खस्ने प्रक्रिया करिब करिब एकैएकै छ । समय र सिजन आएपछि सुरुमा रुखको डालीमा फूल खिल्छ । अनि फल लाग्छ । समय पुगेपछि त्यो फल पाक्छ । पाकेपछि एक निश्चित समय विन्दुसम्म रुखकै हाँगामा झुन्डिबस्छ । तर एक दिन पाकेको फल पूर्णरूपमा गल्छ । त्यसपछि रुखलाई छोडेर भुइँमा गिर्दछ । गिर्नै पर्दछ । सदाकाल उसले रुखमा झुण्डी बस्न बरदान पाएको हुन्न । फेरि नयाँ सिजन आउँछ । नयाँ फूल फुल्नु पर्दछ । नयाँ चिचिल्लो उमार्नु पर्दछ । नयाँ चिचिल्लोका लागि पनि ठाउँ खाली गर्नैपर्दछ । पुरानो फलले ठाउँ खाली गरेन भने नयाँले रुखमा झुन्डिने अवसर पाउन्न । पुरानो फल त झर्नैपर्दछ । बूढो फल त गिर्नै पर्दछ र पो नयाँ फल अङ्कुरणको आदिभूमि तयार हुन्छ ।

मानिस पनि जीवनको हरियो गाछीमा झुन्डिएको मानौँ एक फल हो । यो पनि आँप कटहर मेवा जस्तै छ । जुन दिन जीवनको हरियो गाछीमा आफ्नो पूरा आयु बाँचिसक्छ । आफ्नो पूरा जीवन भोगिसक्छ । त्यो दिन भेट्नो खुस्केर भुइँमा खस्छ । खस्नु प्राकृतिक नियम हो । यो निसर्ग नियमलाई अहिलेसम्म कसैले पनि चुनौती दिनसकेको छैन ।

नियोजित तवरले फल तोड्नु र भाँच्नु अर्कै कुरा हो । फललाई असमयमै हिर्काएर झार्न पनि सकिन्छ । ढुङ्गो हानेर भेट्नो खुस्काउन पनि सकिन्छ । हँसिया कचियाँ या कुनै हतियार र अतिरिक्त बल प्रयोग गरेर काट्न खसाउन पनि सकिन्छ । तर सृष्टिगाथामा नियम मुताविक पाकेर फल खस्नु जस्तो अनुपम चिज केही छैन । त्यसरी पाकेर खस्नु जस्तो सुन्दरतम दृश्य अरू के हुन सक्ला र ?

हाम्रा पूर्वजहरूले मृत्युलाई फल खस्नुको विम्बमा जसरी हेर्न खोजे, त्यहाँ विज्ञान छ, त्यहाँ कला छ । त्यहाँ सहज निसर्गता छ । उनीहरूले मृत्युलाई सजिलो शब्दमा ग्रहण गरे । सहज प्रतीकमा अनुबन्धित गरे । आखिर मानिसका उडान र उचाइहरू आकाशका अनन्त पत्र छिचोलेर जति नै माथि गए पनि एक दिन जमिनमा गिर्नैपर्छ । एक दिन धर्तीमा पछारि नै पर्छ ।

एक दिन यहीको बगरमा विलाउनै पर्छ; चाहे माटो भएर विलाऊँ, चाहे खरानी भएर विलाऊँ । खस्नु र विलाउनुको विकल्प न विज्ञानले दिन सकेको छ । न अध्यात्मले दिन सकेको छ । त्यसैले त मान्छे मृत्युका अगाडि निरीह छ । लाचार छ । शक्तिहीन छ । मृत्युको छायाँले मानवका समस्त तेजहरू धुलिधुसर पार्दछ । सत्ता, शक्ति र सम्पत्तिको मातले मान्छे धर्ती छोडेर जति नै माथि उचालिए पनि एक दिन त भुइँमा नखसी धर छैन । धर्तीको गर्भमा शरणागत हुनुको अर्काे विकल्प छैन ।

दिन दिनको समृद्धिले मान्छेलाई धर्ती छोड्ने बनाइरहेको छ । रोजरोजको सम्पन्नताले त्यसबाट उद्भव भएको चर्को विलासले आफ्नो धरातल विर्सिने बनाइरहेछ । एक समय ढुङ्गे गुफामा टाँसिएर बसेको मानव चरी सयौँ तले गगनचुम्बी महल उमारेर हावामा शयनकक्ष बनाई सुत्ने भएको छ । जमिनमा दुई पाइला घिसारेर टुकुटुकु हिँड्ने लिलिपुट मनुवा अहोरात्र आकाशे यानमा हुँइकिने भएको छ । आजको मान्छेका हरयात्रा आकाशतिरै अभिमुख छन् । धर्तीमा घरघडेरी र जमिन कम हुँदो छ । आकाशतिरै तलामाथि तल्ला खप्ट्याएर घडेरी फैल्याइरहेको छ । दूर आकाशमा टाँगिएका जुन तारा, ग्रह उपग्रहतिर खोज–अनुसन्धानको रुचि र रस बढिरहेछ ।

यसरी यात्रा आकाशतिर अभिमुख भैरहँदा डरलाग्दो रूपमा धर्ती विस्मरणको रोगले गाँजिरहेको छ । आफ्नो जीवनदायी माटो र आवहवालाई नजरअन्दाज गर्ने बुद्धिले विनाशतर्फ भसाइरहेछ । प्रकृति र पर्यावरणलाई अनादर मात्र होइन, अपघात गर्ने पवृत्तिले मान्छे आफैँले टेकेको हाँगो गिँड्ने मूर्ख कालिदास भइरहेछ । समृद्धि र समानताको जतिसुकै उँचो उडान हासिल गरेको फुटानी लाए पनि मृत्यु रोक्न, छल्न, टार्न कुनै कामयावी सूत्र पहिल्याउन सकेको छैन ।

खोज आविष्कारमा जतिसुकै वायुवेगी उडानहरूलाई मृत्युले नित्य निरन्तर कुरीकुरी गरिआएको छ । मान्छेले प्रकृतिसित सम्बन्ध विच्छेदन गरी ल्याएको समृद्धिलाई मृत्युले खिसी गरिरहेको छ । तँ जतिसुकै माथि चुलिई न तँलाई एक दिन माटोमै खसाल्छु भनेर चेतावनी दिइरहेको छ । मृत्युको यो बोल अहिलेको आधुनिक युगको मान्छेले कति बुझ्न सक्यो ? त्यो सन्देहकै घेरामा छ ।

मृत्यु चिनाउन, मृत्यु बुझाउन हाम्रा पूर्वजहरूले अनेकौँ आलङ्कारिक शब्दहरूको प्रयोग गरे । उनीहरूले मृत्युलाई विम्बमा अथ्र्याउन खोजे । प्रतीकमा ठम्याउन खोजे । सङ्केतमा चिनाउन खोेजे । विश्वका अन्य भाषामा मृत्यु बुझाउन कति सङ्ख्यामा शब्दावली छन् त्यो म भन्न सक्तिनँ । तर नेपाली भाषा वाङ्मयमा मृत्यु जनाउने अनेकन पदावली छन् । मृत्युलाई हाम्रा पुर्खाले एउटा आयामबाट मात्र हेरेनन् । यसलाई अनेक आयामबाट अवलोकनको चेष्टा गरे ।

चलनचल्तीमा रहेका शब्द मात्रै सयभन्दा बढीको सङ्ख्यामा छन् । अनेकन् अर्थ तरेलीहरूमा एउटै मर्नु भन्ने शब्दलाई स्पर्श गर्न सकिन्छ । ती शब्दका सीधा सपाट अर्थ मात्र छैनन् । त्यहाँ लक्षणा लुकेको छ । व्यञ्जना छिपेको छ । त्यहाँ श्लेष र दृष्टान्तको सुवास छ । वक्रोक्ति र यमकको वाणी छ । उत्प्रेक्षा र दृष्टान्तको उदाहरण छ । सन्देह र अपन्हुतिको सम्मिलन छ । उपमा र रूपकको तालमेल छ ।

निधन हुनु र खस्नु शब्दभित्र जसरी अर्थका अनेक आयाम केलाउन सक्छौँ । मृत्यु जनाउने, मृत्यु चिनाउने पदावलीभित्र यसका अनगन्ती अभिप्रायमा लहरिन सक्छौँ । भारी भरकम अर्थहरूमा लहरिन सक्छाँै । त्यसका भाव–गम्भीर्यतामा फुक्न र फैलिन सक्छाँै । यी प्रतीकमा मृत्युप्रति हाम्रा पूर्वजको सहज स्वीकार्य भाव मात्र छैन । यसलाई एक प्राकृतिक परिघटनाको रूपमा आत्मसात गरेको कुरा शब्दबाटै थाहा पाउँछौँ । मृत्युलाई वैज्ञानिक वस्तुवादी कोण–प्रतिकोणबाट मात्र नियाल्न खोजिएको छैन, चेतन विज्ञानका गहिराइबाट पनि मृत्युलाई हेर्न खोजिएको छ, चियाउन खोजिएको छ ।

शब्द शब्दमा जाने हो भने अस्ताउनु, विलीन हुनु, खुस्किन पनि मृत्यु हो । सिलटिम्बुर खानु भगवान्को प्यारो हुनु पनि मृत्यु हो । देहावसान हुनु, धर्ती त्याग्नु पनि मृत्यु हो । आँखा चिम्लिनु, देहत्याग गर्नु, परमधाम हुनु पनि मृत्यु हो । इहलिला समाप्त हुनु, दिवङ्गत हुनु, नुन बोक्न जानु पनि मृत्यु हो । स्वर्ग हुनु, स्वर्ग जानु, स्वर्गारोहण हुनु, स्वर्गवास हुनु, स्वर्गीय हुनु सबै पदावलीले मृत्युलाई नै बुझाउँछन् । यसैगरी माछा मार्न जानु, गोकुलवास जानु, गोलक जानु पनि मृत्यु हो । परमगति प्राप्त गर्नु, दैवको प्यारो हुनु, चीर समाधि लिनु पनि मृत्यु हो । परम्गत हासिल गर्नु, जिब्रो टोक्नु, संसार छोड्नु, मुक्ति पाउनु पनि मृत्यु हो ।

निश्वास हुनु, धामगमन गर्नु, मानो टुट्नु या मानो पुग्नु, सक्किनु, प्राण पखेरु उड्नु पनि मृत्यु हो । जीवनको समय सक्किनु, नफर्किने बाटोमा जानु, प्राणपखेरु उड्नु, मुटुको धड्कन बन्द हुनु पनि मृत्यु हो । बित्नु, बही बुझाउनु, चिरविश्रान्ति लिनु, नर्कलोक त्याग्नु पनि मृत्यु हो । दुःख लुकाउनु, ब्रह्मलीन हुनु, यमपुरीको यात्रा तय गर्नु, सास फेर्न बिर्सिनु पनि मृत्यु हो । निर्वाण प्राप्त गर्नु, मोक्ष हुनु, देहान्त हुनु, चिर शान्ति लिन पनि मृत्यु हो । यमलोक जानु, सास फुत्किनु, दुःख लुकाउनु, नश्वर देह त्याग्नु पनि मृत्यु हो । आकाशमा जानु, तारा हुन, कीर्तिशेष हुनु पनि मृत्यु हो ।

चोला फेर्नु, परलोक हुनु, शून्यमा हराउनु, खरानी बन्नु पनि मृत्यु हो । भारी बिसाउनु, वैकुण्ठ जानु, हंश उड्नु, माटो खानु पनि मृत्यु हो । मास छर्न जानु, चिर विश्रान्ति लिनु, अवसान हुनु, गुम्नु अलबिदा हुनु पनि मृत्यु हो । नफर्किने बाटोमा जानु, गहत छर्न जानु, जीवनको समय सक्किनु, माछाको चारो हुनु, डोको बिसाउनु, पिँजडाबाट पन्छी उड्नु पनि मृत्यु हो । सक्किनु, रक्त सञ्चार बन्द हुनु, मरण हुनु, अन्त्येष्टि हुनु, आत्मा निस्किनु, खलास हुनु पनि मृत्यु हो ।

हामीसित हाम्रो भाषामा सीधै वाचक वाणीमा मृत्यु जनाउने शब्द पनि छन् । लक्षक बोलीमा मृत्यु चिनाउने शब्द पनि छन् । व्यञ्जन बोलीबाट मृत्यु साक्षात्कार गराउने शब्दावली पनि छन् । निधन हुनु र खस्नुका समकक्षीमा उत्रिने यी शब्दावलीले अर्थका अनेक आयाम अवतरण गराइदिन्छन् ।

मृत्युका हर प्रतीकले मरणलाई एक खँदिलो सत्यको रूपमा आत्मसात गर्न बल पुर्‍याउँछन् । तर दुःखद विडम्बना मानव–चरी सामयिक मृत्युदेखि पनि डराउँछ । असामयिक मृत्युदेखि पनि डराउँछ । मृत्युलाई सहज स्वीकार्य भावमा ग्रहण गर्ने चेतनाको उद्विकास औसत चेतनामा अझै राम्ररी पसिसकेको छैन । तर हाम्रा पर्यायवाची शब्दले मृत्युसम्बन्धी विम्ब र प्रतीकले मृत्यु बुझ्न सजिलो बनाउनेबाहेक अरूकेही गरेका छैनन् । जय मृत्यु महात्म्य !!

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुण्य कार्की
पुण्य कार्की
लेखकबाट थप