सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चैतेदसैंको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

शनिबार, २६ चैत २०७८, १५ : २७
शनिबार, २६ चैत २०७८

आज चैते दसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दसैंको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैते दसैंको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।

कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैते दसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैते दसैंको मुख्य दिनमा बिहान तीन बजे देखिनै दर्शनार्थीको लाइन लागेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

‘चैते दसैं सुरु भएसँगै दर्शनार्थीको चाप बढेकै थियो, आज मुख्य दिन दर्शनार्थीको निकै चाप छ, दर्शनार्थीको व्यवस्थापनका लागि सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरिएको छ’, अध्यक्ष खड्काले भने, ‘गण्डकी प्रदेशमा चैते दसैंको अवसरमा बागलुङ कालिका दर्शन निकै महत्वपूर्ण मानिँदै आएको छ, पछिल्लो समय भइरहेको प्रचारप्रसारका कारण विभिन्न जिल्ला र भारतबाट समेत दर्शनार्थी आउने गरेका छन् ।’

चैते दसैंका अवसरमा गुठी व्यवस्थापन समितिले चैत्राष्टमी मेलाको समेत आयोजना गरेको छ । मेला  यही चैत २८ गतेसम्म चल्नेछ । चैते दसैंका अवसरमा कालिका मन्दिर परिसर दुलहीझैँ सिँगारिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप