शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ छु : भुवन केसी

शनिबार, २६ चैत २०७८, १४ : ०२
शनिबार, २६ चैत २०७८

अभिनेता भुवन केसीले आफू काठमाडौँ महानगरपालिकाको मेयर उठ्न नसक्ने बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै केसीले सो कुरा बताएका हुन् ।

केसीले आफू हालका दिनसम्म कुनै पनि पार्टीमा नरहेको पनि बताएका छन् । साथै मेयर बन्ने विषयमा ठोस निर्णय नभएको उनको जिकिर छ । उनले भने, ‘स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।’

यसअघि उन्नत लोकतन्त्र पार्टीले आसन्न स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर उठाउने निर्णय गरेको थियो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले काठमाडौंको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष स्वागत नेपालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख थियो।

आफू उम्मेदवार बन्ने समाचारप्रति आएको नाकारात्मक प्रतिक्रियाबारे पनि केसीले दुखेसो पोखेका छन् । ‘यस महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रूपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरू आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु,’ उनको भनाइ छ ।

​उनले सामाजिक सञ्जालमा लेखेका छन्, आदरणीय आम नेपाली नागरिक, कला क्षेत्रका सम्पूर्ण शुभचिन्तक तथा मलाई माया गर्ने सम्पूर्ण दर्शकहरू !

उन्नत लोकतन्त्र पार्टीले मलाई आफ्नो चुनाव चिन्ह खुला किताब मार्फत काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने निर्णय गरी मप्रति देखाएको विश्वास र सद्भावका लागि म आफ्नो तर्फबाट मात्र नभई पुरै कलाक्षेत्रको तर्फबाट सम्पूर्ण कला क्षेत्रको सम्मान हो भन्ने बुझी आभार तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । उन्नत लोकतन्त्र पार्टीको सो साहसिक निर्णय पनि थियो । उक्त निर्णयको स्वागत गर्ने आम नागरिकहरूप्रति पनि म हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु ।

यस बीचमा धेरै भ्रम अनावश्यक चर्चा र आरोप प्रत्यारोपहरू पनि सार्वजनिक भए सो क्रममा मविरुद्ध अनावश्यक र अनर्गल रूपमा उठाइएको टिप्पणीहरूको वस्तुपरक रूपमा धेरै सकारात्मक र केही नकारात्मक दुवै टिप्पणी गर्ने सबै साथीहरू प्रति पनि म आभार व्यक्त गर्दछु । मैले यो काठमाडौँ उपत्यकाको पुस्तैनी रूपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात् गरेको छु । त्यसैले यस महानगरको मेयरको रूपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु । तर एउटा कलाकारले जनप्रतिनिधिको रूपमा जनताको सेवा गर्ने सक्तैन भन्ने प्रकारका टिप्पणीहरू आएको देख्दा चाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु । तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र यसै पत्रमार्फत् हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहन्छु । स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।

मैले हालसम्मको जीवनमा राजनीतिलाई नजिकबाट नियालेर निकालेको निष्कर्ष अनुसार नेपालमा राइट टु रिजेक्ट र राइट टु रिकलसहितको उन्नत लोकतन्त्रबिना जनताका अधिकारहरू स्थापित हुन र सुशासन कायम हुन सक्तैन । आशा एवम् विश्वास छ सबै नागरिकहरूबाट राइट टु रिजेक्ट र रिकलको जनताको अधिकारका लागि साथ समर्थन र सहयोग प्राप्त हुनेछ । यो अभियानको नेतृत्व गर्ने उन्नत लोकतन्त्र पार्टी र अध्यक्ष मेरा प्रिय मित्र मैले मेरो भाइ भनेर सम्बोधन गर्ने अधिवक्ता स्वागत नेपालप्रति मेरो नैतिक समर्थन रहनेछ । तर अबको दिनमा राजनीति कहाँ, कुन पार्टीबाट गर्ने भन्ने मैले निधो गरिसकेको छैन । गरेको दिन यहाँहरूलाई सहर्ष जानकारी गराउँदै, यहाँहरूको साथ र सहयोगको अपेक्षा राख्ने नै छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप