बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा गठबन्धनभित्रका दलहरू आआफ्नै तालमा

प्रतिपक्ष एमाले अन्य सानाको साथ लिएर चुनावमा जाँदै
शनिबार, २६ चैत २०७८, १४ : ३१
शनिबार, २६ चैत २०७८

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) केन्द्रले गठबन्धन गर्ने सहमति जनाए पनि नवलपरासीका सत्ता रहेका दलहरूका बीच अझैसम्म स्पष्ट खाका आएको छैन । गठबन्धनभित्रका दलहरू आआफ्नै तालमा रहेका छन् । उनीहरूले गठबन्धन गर्ने कि एक्ला एक्लै प्रतिस्पर्धा गर्ने भन्ने निर्णय अझैसम्म लिन सकेका छैनन् ।

गठबन्धन जिल्ला स्तरको बैठकले पालिका स्तरबाट आआफ्नो रिपोर्ट तयार पार्ने  अनि २४ गतेसम्म बुझाउन निर्देशन दिए पनि अझैसम्म कुनै सुरसार नभएको नेपाली काँग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘नेपाली काँग्रेसभित्र पनि एक्ला एक्लै जाने कि भन्ने विषयमा केही साथीहरूको मत आएको छ । अझै अन्तिम निर्णय भएको छैन ।’

नेपाली काँग्रेसले विगतमा पनि धेरै ठाउँमा जितेको र अहिले पनि जनाधार बलियो भएकोले धेरैमा एक्लै जाने मनसाय देखाएको छ । जिल्ला स्तरको संयन्त्र बनाए पनि पालिकाहरू सबै ठाउँमा सहकार्य नगरी आआफ्ना ढंगले गर्ने अवस्था देखिन्छ । नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बृहस्पति अधिकारीले नेपाली काँग्रेसले खासै चासो नदेखाएकोले गठबन्धन तीव्र रूपमा अगाडि नबढेको रातोपाटीलाई बताए । उनले भने, ‘काँग्रेस कमजोर भएको ठाउँमा हामीसँग सहकार्य गर्न खोजेका छन् । जिल्लाभर सबै सहकार्य गर्नको लागि इच्छुक देखिएको छैन ।’

सत्तामा रहेको गठबन्धन दलहरू अन्योल रहँदै गर्दा प्रतिपक्ष एमाले चाहिँ गठबन्धन भन्दा बाहिर रहेका साना दलहरूसँग सहकार्य गरेर चुनावमा जाने रणनीति बनाएको छ । त्यसको लागि पटक पटक जिल्ला बैठक बसेको छ ।

७  वटा स्थानीय तह रहेको नवलपरासी जिल्लामा धेरै स्थानमा नेपाली काँग्रेसले जितेको थियो । रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा नेपाली काँग्रेस जितेको थियो । बर्दघाट नगरपालिका भने एमालेले जितेको थियो ।

पाल्ही नन्दन गाउँपालिका नेकपा माओवादी, प्रतापपुरमा नेपाली काँग्रेस, सुस्ता गाउँपालिका एमालेले जितेको थियो । सरावल गाउँपालिकामा तत्कालीन फोरमले  जितेको (विजय गच्छदार)ले जितेको थियो । त्यहाँपछि पार्टी नेपाली काँग्रेसमा आएपछि पदाधिकारीहरू नेपाली काँग्रेसमा आएका छन् ।

माओवादी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम यादवले गठबन्धन गर्ने  कि नगर्ने भन्दा पनि पहिलो आफूहरूको र अरूको अवस्था पत्ता लाउने अनि त्यस आधारमा दुई चार दिनभित्र कुनै निर्णयमा जाने रातोपाटीलाई बताए । उनले अहिले माओवादीले वार्डहरूमा आफ्नो धरातल बुझ्ने काम गरेको बताए ।

यदि गठबन्धन भएका माओवादी आफूले पहिला प्रमुख जितेको पाल्हीनन्दन  गाउँपालिका नछाड्ने मनसाय देखिन्छ । नेपाली काँग्रेसले हाल जितेका र एमालेले जितेका ठाउँमा गठबन्धनको साथ लिएर अगाडि जाने छ । यदि माओवादीले नेपाली काँग्रेससँग सहकार्य गरेको अन्य सुनवल, बर्दघाट र रामग्राम नगरपालिकाका केही वार्डहरू आफूहरूले लिएर नेपाली काँग्रेससँग तालमेल गर्न सक्ने छ ।

यस्तै जिल्लाको सरावल गाउँपालिका नेकपा एकीकृत समाजवादीले पनि सुनवल र बर्दघाटमा उपप्रमुख मागेको छ । अन्य ठाउँमा वार्डहरू भए पनि लिएर मिलेर जान सकिने सम्भावाना रहेको नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज वृहस्पति  अधिकारीले रातोपाटीलाई बताए । उनले आफूहरूको संगठन अलि कमजोर रहेकोले प्रमुखमा दाबी गर्ने अवस्था नभएको बताए । यहाँ जनमोर्चाको अवस्था पनि कमजोर रहेको छ ।

यद्यपि यसको औपचारिक छलफल भएको छैन । त्यहाँ माओवादी र नेकपा एकीकृत समाजवादीबीच प्रमुख र उपप्रमुख बाँडफाँड हुने छ ।

काँग्रेसभित्र पनि दुई धार

नेपाली काँग्रेसले जिल्लाका सबै ठाउँमा गठबन्धन गरेर जानको लागि चासो देखाए पनि ठोस काम भएको छैन । नेपाली काँग्रेसले गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने अन्योल जस्तै देखिन्छ ।  तर  जिल्ला सभापति सहितको  गठबन्धन दलहरूको  जिल्लाले केन्द्रको मर्मअनुसार तल्लो तहको रिपोर्ट माग गरेको थियो । नवलपरासीमा नेपाली काँग्रेस सबैभन्दा धेरै स्थानीय तह जितेको दल हो । त्यहाँ गठबन्धन नगरे पनि एमालेलाई जित्न सकिने भन्ने नेपाली काँग्रेसको एउटा तप्काको बुझाइ रहेको छ । एमालेले विगतमा जितेका तीन ठाउँका लागि काँग्रेस  कडा प्रतिस्पर्धामा जान सक्ने अवस्था रहेको नेपाली काँग्रेसको बुझाइ रहेको छ । सभापति पोखरेलले फेरि एक–दुई दिनमा बैठक बसेर पालिका स्तरको रिपोर्ट भनेर सोध्ने रातोपाटीलाई बताए ।

यता माओवादीले पनि गठबन्धनको लागि जोड दिएको छैन । ‘भए ठिकै छ, नभए आफ्नो आधारमा लड्ने’ मनसाय देखिन्छ ।  जिल्ला इन्चार्ज यादवले पालिकाहरूलाई आफू अनुकूल निर्णय गर्न स्वायत्तता प्रदान गरेको रातोपाटीलाई बताए ।

प्रतिपक्ष एमालेको तयारी यस्तो

नवलपरासीमा पालिकामा नेपाली काँग्रेस र एमाले बीच नै मुख्य प्रतिस्पर्धा हुने हो । गठबन्धन हुने मनोभाव भएको बेला एमाले विगतमा नेपाली काँग्रेसले लिएका सिटहरु आफूले ल्याउनको लागि साना दलहरूसँग गठबन्धनका लागि छलफल चलाएको छ । एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चाज वैजनाथ चौधरीले लोसपासँग रामग्रामसहित अन्य स्थानीय तहमा गठबन्धन गरेर पद बाँडफाँड गरी चुनाव लड्ने तयारी गरेको बताए । यद्यपि अझै औपचारिक निर्णय नभएको खुलाए । उनले एमाले एक्लै चुनाव लड्न सक्षम भए पनि आवश्यकता अनुसार विभिन्न पालिकामा गठबन्धन हुने बताए । चौधरीले लोसपासहित अन्य साना दलसँग पनि गठबन्धनको विषयमा छलफल भइरहेको जानकारी दिए । जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको असन्तुष्ट पक्षसँग गठबन्धन गरी चुनाव लड्ने  छ ।

विगतको आधार

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)

१. सुस्ता गाउँपालिका– एमाले (३५११), काँग्रेस (२९५२), माओवादी (१४१३)

२. पाल्हीनन्दन गाउँपालिका– माओवादी (४४१०), काँग्रेस (३९२४), संघीय समाजवादी (२११४)

३. प्रतापपुर गाउँपालिका– काँग्रेस (४४३६), मधेसी जनअधिकार (३७२७), एमाले (१५६३)

४. बर्दघाट नगरपालिका– एमाले (१२८१४), काँग्रेस (११७७४), माओवादी (१८५०)

५. रामग्राम नगरपालिका– काँग्रेस (५८५६), एमाले (४५३०), राप्रपा (३८४४)

६. सरावल गाउँपालिका– मधेसी जनअधिकार (५०४५), काँग्रेस (३९१६), एमाले (१८४१), माओवादी (१६३३)

७. सुनवल नगरपालिका– काँग्रेस (९७०७), एमाले (९१८२), माओवादी (३५३५)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप