आर्थिक अवस्थाले धान्न सक्दैन, स्थानीय चुनाव स्थगित गर्नुपर्छ : सरिता गिरी
लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको नक्सा परिमार्जन गर्न संविधान संशोधन प्रस्ताव ल्याइँदा असहमति राखेका कारण तत्कालीन समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्नुका साथै संसद्‍बाट पनि बर्खास्त गरेको थियो । आफू सांसद नरहेपछि उनी काठमाडौँ छाडेर सिरहाको लहान नगरपालिकास्थित आफ्नो घरमा बस्न थालेकी छन् ।
सरिता गिरीले मेयरमा चुनाव लड्ने घोषणा पनि गरेकी थिइन् । पछिल्लो समय उनको भूमिका र राजनीतिक लक्ष्य के छ भन्ने प्रस्ट हुन सकेको छैन । त्यसैले मेयरमा चुनाव लड्ने उनको केही अघिको घोषणा, राजनीतिक यात्रा, लक्ष्य लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले उनीसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, सरिता गिरीसँग गरिएको कुराकानीको सम्पादित अंशः
लहान नगरपालिकाको मेयरमा चुनाव लड्छु भनेर केही अघि तपाईंले आफ्नो फेसबुकमार्फत भन्नुभएको थियो, के छ त्यसको तयारी ?
–हो, म संसद्बाट बाहिरिएपछि आफ्नो घर लहान बस्न थालेको थिएँ । लहान नगरपालिकाको काम हेर्दा मलाई दिक्क लागेको थियो । हाटबजार र जग्गाको विवाद चलिरहेको थियो । त्यो अवस्था देखेपछि मेयरमा उठ्छु र अहिलेका मेयर मुनी साहको अतिवादलाई चुनौती दिन्छु भन्ने सोचेको थिएँ । तर पछि जग्गाको केही विवाद समाधान भयो । अवस्था केही साम्य भयो ।
स्थानीय तहको चुनाव दलीय हुनुपर्छ भनेर कुनै कानुनले भनेको छैन । हाम्रो संविधानले पनि स्थानीय निकायलाई एउटा कम्युनिटीको रूपमा लिएको छ । राजनीतिक दल सम्बन्धी ऐन संसद्ले पास गरेको छ । त्यो ऐनमा ‘प्रदेश स्तरसम्म आफ्नो पार्टीको शाखा खोल्ने छन्’ भनिएको छ । स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दलहरूको संगठनलाई हाम्रो संविधान र ऐनले ‘रिकोग्नाइज’ गर्दैन । अर्थात् स्थानीय तहमा दलगत चुनाव हुँदैन ।
मेयर मुनि साह सच्चिएर आउनु भयो, त्यही कारण तपाईं चुनावबाट पछाडि हट्नुभएको हो कि कानुनी उल्झनका कारण चुनावबाट पछाडि हट्नुभयो ?
–पहिलो कुरा त मुनि साह सच्चिएको होइन, उहाँ नियन्त्रित हुनुभयो । अर्को कुरा के हो भने मैले संसद्बाट निस्किँदा बोलेका कुरा मेरो बटमलाइन हो । यदि म पुनः राजनीतिमा आएँ भने मेरो सुरुवात त्यहीँबाट हुन्छ । पर्सामा चुनाव लडेको अनुभव पनि मसँग छ । त्यहाँ त यो मधेसी होइन, पहाडिया हो, यो इण्डियन हो, यहाँको मधेसी होइन जस्ता आरोप ममाथि त्यतिबेला लगाइएको थियो । केही ठुलाहरू मिलेर रातारात मेरो मत किनेर मलाई हराउने काम गरे । त्यही कुरा अहिले दोहोरिने खतरा मैले देखेको छु । यदि स्वतन्त्रमा भए पनि म चुनाव लडेको भए यहाँका राष्ट्रवादी भनाउँदा दलहरू मिलेर मलाई चुनाव हराउने थिए । लिपुलेक र लिम्पियाधुराका लागि मत दिनेहरू पुनः एकमत भएर मलाई हराउने अभियानमा लाग्नु हुन्थ्यो ।
संसद्‍मा आफूले गरेको कुरा ठिक हो भन्ने लाग्छ भने जनताले पनि साथ दिनुपर्ने हो, तपाईंंलाई मेयरमा पत्याउँथे होला नि ? किन पछाडि हट्नु भयो त ?
–होइन, संसदमा मैले जे कुरा बोलेँ, त्यसमा अहिले पनि म अडिग छु । र, मेरो राजनीतिको बटमलाइन पनि त्यही नै हुनेभयो । तर मैले के कारणले संसद् छाडे, त्यहाँ के के कुरा उठ्यो । त्यसको सैद्धान्तिक र वैचारिक पक्ष के हो लगायतका कुरा मैले जनतालाई बुझाउन सकिनँ । किनभने मसँग अहिले न कुनै संस्था छ, न कुनै दल छ । त्यही भएर मैले जनतालाई आफ्नो बारेमा बुझाउन सकेको छैन । जनतालाई नबुझाईकन त्यतिकै पराजित हुनु राम्रो कुरा होइन नि । भोलिपर्सी जनतालाई सबै कुरा बुझाएर चुनावमा गएँ भने त्यसको परिणाम एकखालको हुन्छ । मैले जनतालाई बुझाउन नसकेको कारण मेयर पदमा चुनाव नलड्ने निधोमा पुगेँ । यदि म चुनाव लडेको भए हण्ड्रेड पर्सेन्ट मलाई हराउने छन् । यसमा कुनै दुई मत छैन ।
तपाईं संसद् छाडेपछि काठमाडौँ छाडेर गाउँमा बस्नु थाल्नुभयो । स्थानीय तहलाई नजिकबाट हेर्ने मौका पाउनुभयो । चुनावी चहलपहल पनि बढेको छ । स्थानीय तहमा कसरी काम हुँदो रहेछ ?
–म अहिलेको स्थानीय चुनावमा सहभागी छैन र म दलीय चुनावको पक्षमा पनि छैन । स्वतन्त्र उम्मेदवारहरू चुनावमा आउनुपर्छ भन्ने मेरो धारणा हो । यो कुरा मैलेमात्र होइन, नेपालको संविधान र नीति तथा कानुनले पनि भनिरहेका छन् । गैर दलीय उम्मेदवारलाई मात्र म सपोर्ट गर्छु ।
अर्को कुरा, अहिले स्थानीय तहको चुनाव स्थगित हुनुपर्छ । नेपालको अर्थतन्त्रले चुनावलाई थेग्न सक्दैन । रुस र युक्रेनको युद्ध कसरी टुङ्गिन्छ, त्यसको बारेमा अनिश्चितता छन् । त्यसलाई हेरेर पनि चुनावको मिति घोषणा गर्नुपर्छ । श्रीलङ्कामा अहिले जुनखालको आर्थिक क्राइसिस सुरु भएको छ, त्यसलाई पनि नेपाल सरकारले मध्यनजर गर्नुपर्छ । नेपालको पनि आर्थिक अवस्थाले राम्रो बाटो लिएको छैन । नेपालका विज्ञहरूले पनि यो कुरा भन्दै आइरहेका छन् ।
अस्ति भर्खर नेपाल राष्ट्र बैंकले गाडीलगायत अन्य केही सामान आयात गर्न रोक लगायो । अरू के के कुरामा पनि रोक लगाउने भन्ने चर्चा छ । चुनाव गराउन सरकारले ऋण नै लिनुपर्छ । तसर्थ यी सब कुरा हुँदाहुँदै जानीजानी आर्थिक भार बढाउन चुनावमा जानु हुँदैन, त्यसलाई केही समयका लागि स्थगित गर्नुपर्छ भन्ने मेरो मान्यता हो । अवस्था सहज भएपछि मात्र चुनाव गराउँदा राम्रो ।
अर्को कुरा, पाँच वर्षसम्म यो स्थानीय निकाय रह्यो तर समाजको अवस्था जस्ताको त्यस्तै छ । कृषिमा त्यत्रो बजेट आयो तर किसानको अवस्था जस्ताको त्यस्तै छ । शिक्षा र स्वास्थ्यको अवस्था त्यस्तै छ । समग्रमा हेर्ने हो भनी प्रगति शून्य छ । स्थानीय तहले के कति काम ग¥यो, त्यसको मूल्याङ्कन कहीँ कतैबाट भएको छैन । कसैले गरेको छैन । कुनै निकायले गरेको छैन । पालिकाका मेयर तथा अध्यक्ष निकै पावरफुल छन् । उनीहरूलाई थुप्रै अधिकार दिइएको छ । तर उनीहरूले ती अधिकार र पावरलाई कसरी सदुपयोग गर्ने भन्नेबारे प्रशिक्षण कसैले दिएको छैन ।
त्यसो भए मतदाताले उम्मेदवार कसरी छान्ने त ?
–उम्मेदवारको छनौट वा पहिचान समुदायले गर्छन् । स्थानीय तहमा काम गरिसकेकाहरू पुनः उम्मेदवार बन्नुभयो भने ती पहिचान भइसकेका व्यक्ति हुन् । समाजले उनीहरूलाई पहिचान गरिसकेका छन् । उनीहरूको बारेमा मतदाताले ‘क्विक डिसिजन’ लिन्छन् । नयाँ आउनेको बारेमा पनि समाजले थाहा पाएका हुन्छन् । अर्को कुरा, स्थानीय तह भ्रष्टाचारको स्रोत भएको छ । त्यहाँ हुने भ्रष्टाचार माथिसम्म जान्छ । स्थानीय तहको भागबण्डा माथिसम्म पुगेका हुन्छन् । त्यसलाई नियन्त्रण गर्न एउटा उपाय भनेको स्थानीय चुनाव गैर दलीय प्रकृयाबाट गराउनुपर्छ । राजनीतिक दलका प्रतिनिधिले चुनाव लड्नु हुँदैन । स्वतन्त्र व्यक्तिलाई चुनाव लड्न दिनुपर्छ ।
तपाईं लामो समयदेखि लहानमा बस्नु भएको छ, यो पाँच वर्ष लहानका मेयरले के के गर्नुभयो ?
–लहान नगरपालिकाले देखिने गरेको एउटा काम हो त्यो हो घडीसहितको टावर बनाउनु । त्यो पनि विवादमा परेको छ । चौबाटोमा जहाँ ट्राफिक प्रहरीको बिट हुनुपर्थ्यो, त्यहाँ बाङ्गो ढल्किन लागेको टावर बनाइएको छ । त्यसबाहेक अरू केही काम देखिने गरी भएको छैन । नगरपालिकाले रिङरोडको उद्घाटन गरेको भन्ने पनि सुनियो । रिङरोड त त्यहाँ चाहिन्छ, जहाँ इकोनोमिक कारोबार धेरै हुन्छ । तर लहानमा त्यस्तो केही छैन, अनि किन चाहियो रिङरोड । गाईवस्तु चराउन, बालबच्चालाई खेल्न रिङरोड चाहिएको हो त ? कमिशनका लागि मात्र त्यो रिङरोड बनाउन लागिएको हो । त्यसले लहानको जनतालाई कुनै फाइदा हुने छैन । नगरपालिकाका बासिन्दाले न राम्रो शिक्षा पाएका छन्, न राम्रो उपचार पाएका छन्, न किसानले सिँचाई पाएका छन् न बीउ विजन पाएका छन्, न मल पाएका छन् अनि तपाईं नै भन्नुस्, आखिर नगरपालिकाले यो पाँच वर्षमा के ग¥यो त !
तपाईं चुनाव नै स्थगित गर्नुपर्छ भन्नुहुन्छ, चुनाव भयो भने गैरदलीय हुनुपर्छ भन्नुहुन्छ । यदि यही अवस्थामा चुनाव भयो भने तपाईं मत दिन जानुहुन्छ ?
–मेरो सहयोग गैरदलीय उम्मेदवारलाई हुन्छ । यदि कोही गैरदलीय उम्मेदवार हुँदैन भने म मतदान नगर्न पनि सक्छु । स्थानीय तहमा गैरदलीय चुनाव हुनुपर्छ भन्ने अभियानमा हिँडिरहेको छु । त्यसैले गैरदलीय उम्मेदवारको पक्षमा म हुन्छु ।
तपाईं सांसद पद गुमाउने बित्तिकै एकाएक काठमाडौँ छाडेर मधेसमा बस्न थाल्नुभयो, किन त्यस्तो ?
–मैले काठमाडौँमा बसेर गर्ने भनेको ‘नेशनल पोलिटिक्स’ नै थियो । तर अहिले त्यो नै रहेन भने त्यहाँ बसिराख्नुको औचित्य पनि मेरोलागि रहेन । म ग्रासरुटमा बसेर, जनताको बीचमा बसेर केही गर्ने, केही बुझ्ने कोशिस गरिरहेको छु । मलाई कृषि फार्म गर्ने रहर सानैदेखि थियो । मैले धेरै पहिला नै त्यसका लागि लहानमा जग्गा किनेर राखेको थिएँ । २०४२/०४३ सालमै जग्गा किनेर राखेको थिएँ । संसद्बाट निस्किनु भनेको मेरो लागि अवसर हो । अहिले म कृषिमा समय दिइरहेको छु ।
अब राजनीति छाडेर कृषिमै लाग्नु हुन्छ ?
–होइन, म लङटाइम कृषिमा हुने छैन । पुनः राजनीतिमै आउनेछु । अहिले राजनीतिलाई नयाँ ढंगबाट बुझ्ने प्रयास गरिरहेको छु । फुर्सदमा छु, त्यसलाई विभिन्न कोणबाट अध्ययन गर्ने काम गरिरहेको छु । जसलाई मैले कुनैबेला बाहिर ल्याउँछु । तपाईंंहरूले पनि थाहा पाउनुहुन्छ । अहिलेलाई यति भनौं, जहाँबाट मैले राजनीति छाडेको थिएँ, म पुनः त्यहीँबाट सुरु गर्छु । मैले एकपटक मन्त्री छाडेको हुँ, अर्को पटक संसद् छाडेको हुँ । यो मामुली कुरा होइन । यी सब एउटा सन्यासी मनले मात्र गर्न सक्छ र म सन्यासी नै हो । अन्ततः म मधेसकै मुद्दामा केन्द्रित भएर राजनीतिमा आउँछु । कुन रूपमा आउँछु, त्यो स्थानीय चुनावपछि मात्र डिसिजन लिन्छु ।