शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पागलपनको औषधी

शनिबार, २६ चैत २०७८, ०७ : ४७
शनिबार, २६ चैत २०७८

एक घण्टा भइसक्यो ममा छट्पटी छाएको । मेरा रक्तनलीमा रगत प्रवाहको गति बढेको निकै समय भइसक्यो । भित्रबाट केही खबर आउँदैन । म पर्खिरहेछु, कसैको जबाफ सुन्नलाई ।

अश्वमेधीको मुखबाट जबाफ सुन्नु थियो । भलै मैले इसारा गरेको उनले बुझेकी होलिन् या नहोलिन् । कलेजभरिका साथीले बुझिसकेका छन् । अश्वमेधीका लागि सुहाउँदो लकिर केटो मै हुँ । कलेजमा दिनभरी उनलाई नियाल्नु, घर पुगेर फोनमा उनको तस्बिरलाई नियाल्नु । यी दुई कार्य मेरा लागि दैनिकी भइसकेका थिए । उनी कलेज आउने, नआउने म अघिल्लो दिन नै पत्तो लगाउँथे । उनलाई पनि केही न केही मेरो मनको चाल पत्तो हुनैपर्ने हो, आखिर उनका ल्याब फाइल र रिपोर्टहरू म बाइन्डिङ गरी मज्जाको बनाएर उनकै हातमा थमाइदिन्थे । क्यान्टिनमा उनको पछिदेखि क्वारेन्टाइनमा उनको गोटीको पछि । क्या रमाइलो समय थियो त्यो बेला, उनीसँग दिनभरी लुँडोमा झुम्थ्यौँ । उनका गोटी नकाट्दा नि खुसी छुट्टै मिल्थ्यो । उनले जितेपछि देखाउने शानमा पनि अपरिचित आफ्नै नाम देख्थेँ ।  क्यान्टिनका दाइले पनि चाल पाइसक्थ्या थिए, म के गर्दै थिएँ भनेर । बेलाबेला उनलाई एक्स्ट्रा खाजाको बन्दोबस्त गरिदिएको उनलाई जानकारी नि नहोला । तर जुनकीरीले अश्वमेधीलाई त्यो खाजा कसले स्पोन्सर गरेको थियो चाहिँ पक्का सुनाएकी होली । यत्तिकैमा स्नातक तहको एक वर्ष अश्वमेधीलाई सँगै राखेर ब्याचलर पार्टी गराउने तुनामुना बुन्दाबुन्दै गयो । प्रेमको बुट्यानलाई मैले मलजल गरिरहन्थेँ । आखिर लक्ष्य त एउटै थियो, उनको मनमा भित्रिने र आफ्नो घरमा भित्र्याउने । समयसँगै मेरो एकलौटी प्रेमले पनि बेलाबेला मोड लिन्थ्यो । उनको पछाडि रोजिनले मेरो नाम लेखेको कागज टाँसिदिएको बेला बहुत रिसाएकी थिइन् । मलाई सम्बन्ध जोगाउन धौ धौ नै परेको थियो । बल्लबल्ल फकाएँ, त्यो कुकर्ममा मेरो केही हात थिएन भनेर । आखिर मनमा नाम लेखाउने चाहना बोकेको मान्छेले उनको पछिल्तिर आफ्नो नाम टाँस्दैन किन हिँड्थ्यो होला र ? टाँस्नै परे पनि उनीसँगको विवाहका तोरन र फ्लेक्स टाँगिन्थ्यो नि । त्यसपछि सम्बन्ध सुमधुर नै रह्यो । मसँग पनि खुब जिस्किन्थिइन उनी । ‘अकबरी सुनलाई कसी लाउन पर्दैन’ यही उखानलाई सेरोफेरोमा राखेर मैले उनलाई समय दिँदै सम्बन्धलाई खुल्ला बग्न दिइरहेँ । आखिर हाम्रो सम्बन्ध पनि सुनको मोलभन्दा कम्ता कहाँ हो र ? अझ सपनाको त झन् कुनै मोल नै हुन्न । उनलाई आफ्नो बनाइछाड्ने सपनाको मोलको त कुरै आएन ।

आज क्लासको एक पेरियड सक्किन लागिसक्यो, अश्वमेधी आउँदिनन् । उनी नआउँदा यो मनमा उत्साह आउँदैन । उनलाई थाहा छ अब मेरो उपचार र मेरो पागलपनको औषधि उनी नै हुन् । मन खिन्न भइसक्यो मेरो । मलिन छ अनुहार । ग्रेनेसले सोध्यो, “के हो दाइ, आज भाउजू बिदामा हुनुहुन्छ ?” म झसङ्ग भएँ, हिजो त उनले नआउनुपर्ने कारण केही बताएकी थिइनन् त । फेरि किन आज उनी कलेज यो बेलासम्म नआएकी ? मेरो शरीरबाट खलखली पसिना बगिरहेको थियो । सायद तनाव र बाहिर सूर्य जस्तो तेज दुवैको प्रभाव उत्तिकै हुनुपर्छ । आफूलाई मन परेको मान्छे आफ्नो नयनको परिधिभित्र नदेख्दा असह्य हुनेरहेछ । म हत्तपत्त कलेजको गेटतिर निस्किएँ । चोकसम्म चिहाएर हेरेँ, आधा किलोमिटर पर भीड जम्मा भएको देखेँ । म दगुर्दै त्यहाँ पुगेँ, मेरो होस् रहेन । अघिको तेजिलो सूर्य अब ब्रह्माण्डमा खसेर विध्वंश गरिसकेको छ । त्यसको चोट कति गहिरो होला, म गहिराइ कुनै यन्त्रले नाप्न सक्दिनँ । हत्तपत्त मेरो मुखबाट, “मेरी अश्वमेधी के भयो तिमीलाई” भन्ने फुत्किहालेछ । “हेर कलिली केटीलाई बाइकले छुसुक्क हानेर कुलेलाम ठोक्यो बाइकवाला,” भीडमा केही बोलिरहेथ्यो । अश्वमेधीको अचेत अवस्था देखेर म आत्तिरहेको थिएँ, मस्तिष्कले केही काम गर्न सकिरहेको थिएन । यत्तिकैमा अस्ति अङ्कलले मलाई आफ्नो हस्पिटलको एम्बुलेन्स ड्राइभरको फोन नम्बर दिनुभएको थियो । हतारमा त्यो फोन नम्बर खोज्न नि निक्कै समय लागेझैँ भइरहेथ्यो मलाई । पाँच मिनेटमै एम्बुलेन्स आइपुग्यो र हस्पिटल लिएर गयौँ । उनलाई इमर्जेन्सी कक्षामा भित्र राखिएको छ ।

एक घण्टापछि एउटा खुसीको खबर । बेहोसीमा रहेको मलाई होसको खबर । कुर्दा कुर्दा म भित्रभित्रै गलेको छु, सेकिएको छु, अनेकौँ तापले अनेकौँ रापले । यो प्रेमको रापताप साह्रै असहनशील हुने रहेछ । अश्वमेधीको त्यो हालतमा मेरो हालत बेहाल भएको छ । अब मैले फेरि अश्वमेधीलाई कलेजमा कहिले देख्न पाउने हो । उनी मुस्कुराएको मुहार हेरेर, मनमा ऊर्जा भर्ने कहिलेबाट हो ? अनेकौँ प्रश्न छन् तर जबाफ दिने इमर्जेन्सी कक्षबाट कोही निस्किएको छैन । आशाको किरणको प्रतीक्षा गर्दा गर्दै सूर्यास्त हुने समय हुन लागिसक्यो । उनको आमाबुबा पनि हस्पिटलमा आइपुगिसक्नुभएछ । मैले अश्वमेधीको मुस्कुराएको मुहार हेर्न पर्खिएको २ घण्टा भएपछि भित्रबाट नर्स आउनुभयो, “उहाँलाई होस आएको छ, भित्र गएर भेट्न सक्नुहुनेछ ।” म सोझै जान सकिनँ । किनकि मैले त केही वर्षयता हो उनलाई प्रेम गरेको । जन्मैदेखि उनलाई प्रेम गर्ने बुबाआमाको झन् कस्तो अवस्था होला ? मैले अङ्कलआन्टीलाई भित्र जान भने । केही समयपछि उहाँहरू आउनुभयो । अनुहार मलिन, अनेकौँ बोझका रेखाहरू निधारमा स्पष्ट उत्रिएका थिए । म हत्तपत्त भित्र पस्दा, अश्वमेधीले बोलिन्, ‘अभियांश’ मेरो होस अघि नै उडेको थियो, अब म पनि उडिरहेको छु । ती आवाज मेरा कानमा पर्नासाथ मेरा सपना पानीको बाफहरू जस्तै उडेर माथि जाँदै सेलाउन थालेँ । म स्तब्ध थिएँ । रोकिएँ, मनलाई हडबडाउन नदिइ बोलेँ, “अश्वमेधी कस्तो छ अहिले तिमीलाई ? अभियांश आउँदैछ है । तिमीलाई भेट्नका लागि कलेजका अरू साथीहरू नि आउँदैछन् ।” अभियांश मेरो घर नजिकैको साथी हो र कलेजको क्लासमेट पनि । म त्यहाँबाट बाहिर निस्किएँ । बाहिर निस्किएर आयो म भित्रको प्रेमको क्रोध पनि । कसैलाई प्रेम गरेर भन्न नसक्नुको पीडा, कसैलाई चोट पु¥याउनुभन्दा गहिरो हुनेरहेछ । उनले पनि त कहिल्यै इसारा गरिनन् । गरिन्न मैले उनलाई जिस्क्याउँदा कुनै प्रतिकार । म अघिसम्म उनको शीघ्र अवस्थाको कुरुवा थिएँ । हस्पिटलमा केवल एक घाइते (बिरामी) को कुरुवा । यतिबेला सब प¥यो सत्यका वाणी मेरो कानमा, म फेरि कुरुवा बन्न पुगेको छु– अश्वमेधीलाई आफ्नो जीवनमा ल्याउन पछिपरेको कुरुवा । अर्थात् अश्वमेधीको साथ कुरुवा । अघिसम्म म खुसीको खबर कुरेर बसेँ, खासमा दुःखको महासागर मलाई कुरेर बसेको रहेछ । थाहा छैन कतिऔँ माइलपछिको यात्रामा उनी मेरो सहयात्री हुने मौका मैले पाउनेछु र यो पनि थाहा छैन कि उनले कहिले चाल पाउँछिन् चोकदेखि एम्बुलेन्स हुँदै म हस्पिटलमा उनका लागि कुरुवा बसेको र बसेको यत्तिका वर्ष उनको प्रेम कुरेर ।

अनेकौँ भावनासहितको कुरुवा । पर्खिनु पनि त फलदायी हुनेरहेछ ।

पुल्चोक क्याम्पस, ललितपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप