सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सुर्खेत : १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण

शनिबार, २६ चैत २०७८, ०६ : ५१
शनिबार, २६ चैत २०७८

राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले यहाँका दुई सरकारी कार्यालयसहित १३८ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितिमा आज भेरीगङ्गा नगरपालिकाका १०२ र गुर्भाकोट नगरपालिकाका ३६ घरपरिवारलाई पुर्जा वितरण गरिएको हो । आयोगले वितरण गरेकामध्ये दुई पुर्जा नेपाल सरकारका नाउँमा छ ।

अध्यक्ष निरौला, आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्याल, भेरीगङ्गा नगरपालिकाका उपप्रमुख रेणु आचार्यलगायतले जग्गाधनी पुर्जा वितरण गरेका थिए । सुर्खेतमा २०३९ सालयता भूमिहीनलाई जग्गाधनी पुर्जा वितरण गरिएको थिएन । वर्षौँपछि पुर्जा पाउँदा स्थानीयवासी खुसी देखिन्थे । जग्गाधनी पुर्जा नहुँदा विद्युत्, बैंकिङलगायत अन्यसेवा उपभोग गर्नबाट उनीहरू वञ्चित हुँदै आएका थिए । 

अध्यक्ष निरौलाले सरकारले भूमिहीन, सुकुम्वासीलाई जग्गा दिनाका साथै व्यवस्थित बसोबासका कामलाई उच्च प्राथमिकता राखेको बताए । जिल्ला अध्यक्ष पौड्यालले कर्मचारी र जनप्रतिनिधिको सहयोगले गर्दा ४० वर्षपछि पहिलोपटक भूमिहीनलाई पुर्जा वितरण गर्न आफूहरू सफल भएको धारणा व्यक्त गरे । उप–प्रमुख आचार्यले भने, “ नागरिकको वर्षौँदेखिको ठूलो समस्या समाधान भएको छ । अब नगरभित्रका बाँकी भूमिहीन सुकुम्वासीलाई जग्गा दिनाका साथै पुर्जासमेत प्रदान गर्न पहल गर्छौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप