मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाकै निर्देशनमा भरतपुरको मेयर दाबी गरेका हौं, काँग्रेसले नपाए चितवनमा तालमेल हुँदैन : खनाल

शुक्रबार, २५ चैत २०७८, २१ : २६
शुक्रबार, २५ चैत २०७८

नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयरका लागि तीव्र लबिङ थालेको छ । त्यसका लागि जिल्ला सभापति राजेश्वर खनाल नेतृत्वको टोली सानेपा र बालुवाटारको दौडधुपमा छ ।

विहीबार पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा लगायतलाई खनालको टोलीले ध्यानाकर्षण पत्र नै बुझाएको छ ।

शुक्रबार विहान १० बजे चितवन काँग्रेसको उक्त टोली प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई पत्र बुझाउन बालुवाटार हानियो । गठबन्धन दलको बैठकमा व्यस्त देखाउँदै देउवाले समय नदिएपछि बालुवाटारमा निवेदन छाडेर खनालको टोली फर्किएको छ । सभापति देउवालाई भेटेर मात्रै चितवन फर्किने उनीहरुको तयारी छ ।

भरतपुरको मेयरमा माओवादी केन्द्रले सार्वजनिक रुपमा सशक्त दाबी प्रस्तुत गरेपछि काँग्रेस चितवनले सभापति देउवामाथि दबाव बढाएको हो । ०७४ मा माओवादी केन्द्रलाई मेयर दिएको काँग्रेस चितवन यसपटक कुनै हालतमा छोड्ने मुडमा छैन ।

रातोपाटीसँगको कुराकानीमा जिल्ला सभापति खनालले भरतपुरमा प्रमुख नपाए गठबन्धनबीच चितवनमा चुनावी तालमेल नहुने दाबी गरे । साथै उनले सभापति देउवाकै निर्देशन अनुसार मेयरका लागि दबाव बढाएको पनि सुनाए ।

प्रस्तुत छ काँग्रेस चितवनका सभापति खनालसँग गरिएको कुराकानीको सम्पादित अंश –

नेपाली काँग्रेस चितवनको टोली काठमाडौंमा आएको छ । पार्टीका शीर्ष नेतालाई पनि भेटिराख्नुभएको छ, यसको रहस्य के हो ?

नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिबाट काँग्रेस चितवनलाई परिपत्र गरिएको छ । उक्त परिपत्रअनुसार राष्ट्रिय रुपमा रहेका गठबन्धनका दलका बीचमा चितवनका ७ वटा पालिकामा चुनावी तालमेल अगाडि बढाउनू र नेतृत्व काँग्रेसले गर्नू भनिएको छ ।

त्यही परिपत्रका आधारमा नेपाली काँग्रेस चितवनले त्यहाँको वस्तुस्थितिबारे तल्लो तहदेखि माथिल्लो तहकासम्म छलफल गर्यो । यहीबीचमा नेपाली काँग्रेस चितवनको सभापतिको अध्यक्षतामा गठबन्धन सम्वद्ध पाँच दलको बैठक बस्यो ।

०७४ को निर्वाचनमा हामीले भरतपुर महानगरपालिका प्रमुखमा मतदान गरेर चुनाव जिताएका थियौं । ०७९ को निर्वाचनमा चितवनमा गठबन्धनलाई जिवित राख्नका लागि नेपाली काँग्रेसको उम्मेदवार महानगरको उम्मेदवार हुनुपर्ने नेपाली काँग्रेस चितवनको निर्णय  छ ।

उक्त निर्णयसहित मेरो नेतृत्वमा पार्टीका केन्द्रीय सदस्य, पूर्व जिल्ला सभापति लगायत हामी केन्द्रका शीर्ष नेतालाई डेलिगेसन बुझाउन आएका हौं । सभापति, वरिष्ठ नेता, उपसभापति महामन्त्री लगायतलाई नेपाली काँग्रेस चितवनको निर्णय र आशय सुनाउन आएका हौं ।

भरतपुर महानगरमा माओवादीको सशक्त दाबीपछि सशंकित भएर केन्द्रीय नेताहरुलाई गुहार्न आउनुभएको हो ?

चितवन क्षेत्र नम्बर ३ का माननीय हुनुहुन्छ, माओवादी केन्द्रका राष्ट्रिय अध्यक्ष पुष्पकमल दाहालज्यू । उहाँले पटक–पटक चितवन पुगेर आफ्नो भनाइ राखिराख्नुभएको छ । त्यसैले गठबन्धन दलका बीचमा तालमेल गर्ने भन्ने कुरामा केही समस्या आउन सक्छ भन्ने हाम्रो बुझाइ छ । काँग्रेसको केन्द्रीय समितिको निर्णयलाई भरतपुरमा हामीले मेयर पाउने मोडालिटीमा अगाडि बढाइदिन भन्नका लागि हामी आएका हौं ।

सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको प्रमुख माओवादीलाई छाड्ने बचन दिएको चर्चा छ । सभापतिले माओवादीलाई प्रमुख दिन तयार भइसकेपछि तपाईंहरुको डेलिगेसनको अर्थ होला र ?

मलाई यो विषयमा जानकारी छैन । म चितवनको सभापति भएपछि पार्टी सभापतिलाई भेटेको छु । उहाँसँग मेरो छलफल र कुराकानी भएको छ । पार्टी र त्यहाँका साथीहरूबारे चिन्ता र समस्या मैले उहाँलाई राखेको छु । उहाँले मेरो कुरा सकारात्मक रुपमा लिनुभएको छ । साथै, मलाई पार्टीगत रुपमा निर्देशन पनि गर्नुभएको छ । त्यो निर्देशनबाट उहाँले व्यक्तिगत रुपमा पनि माओवादीलाई भरतपुरको प्रमुख दिने विषयमा केही कुरा गर्नु भएको छैन भन्ने कुरामा म विश्वस्त छु ।

म प्रचण्डसँग विशेष आग्रह गर्दैछु– उहाँ गठबन्धनको दोस्रो नेता हो । उहाँ माओवादी केन्द्रको अध्यक्ष मात्र होइन, गठबन्धनको एउटा जिम्मेवार नेता हो । यी सबै कुरालाई मध्यनजर राखेर नेपाली काँग्रेस र माओवादी केन्द्र दुबै पार्टीलाई चितवनको हकमा समान दृष्टिकोण राखेर हेर्न जरुरी छ ।

सभापतिले तपाईंलाई बालुवाटार बोलाएर भरतपुरमा माओवादीलाई मेयर छोड्नुपर्ने स्थिति छ, त्यसका लागि पार्टीको माहोल बनाउन भन्नुभएको थियो भन्ने पनि चर्चा छ नि ?

त्यो कुरा गलत हो । म नेपाली काँग्रेस चितवनको सभापति भइसकेपछि जिल्ला सभापतिको हैसियतमा मैले केन्द्रीय सभापतिलाई भेटेको थिएँ । उहाँसँग बसेर मैले लामो कुराकानी गरेँ । यस्तो कुनै पनि कुरा भएको छैन । नेपाली काँग्रेस र चितवनको काँग्रेसलाई परेको पीर मर्का मैले उहाँसँग राखेँ । उहाँले त्यसलाई गम्भीर रुपमा सुन्नुभएको छ । उहाँले त्यसको केही निकास पनि भन्नुभएको छ । म त्यही निकासका आधारमा अगाडि बढिरहेको छु । बाहिर आएको कुरा गलत हो ।

जुन लगानी र योगदानका आधारमा आज उहाँ नेपाली काँग्रेसको सभापति र मुलुकको प्रधानमन्त्री भएर बस्नुभएको छ, उहाँले कार्यकर्ताको संवेदनशीलताका कुरालाई सजिलै स्वीकार गर्नुहुन्छ भन्ने लाग्छ । म उहाँको निर्देशनअनुसार नै आफ्ना काम कर्तव्य अगाडि बढाइरहेको छु । यसपटक भरतपुरमा नेपाली काँग्रेसको मेयर हुने कुरामा म शतप्रतिशत विश्वस्त छु ।

सभापतिले नै भरतपुरमा काँग्रेसले मेयर पाउने विश्वास दिलाउनुभएको छ भने डेलिगेसन बोकेर काठमाडौं किन आउनुभएको त ?

त्यहाँ साथीहरुको कुरा सुनियो । त्यहाँ बैठक गरियो । गठबन्धन गरेर अगाडि बढ्ने कुरा आयो । त्यसैले नयाँ घटनाक्रमपछि अब पार्टीलाई यसरी अगाडि बढाउन जरुरी छ भनेर भन्न आएका छौं । हिजो म एक्लै आएको थिएँ भने आज संस्थागत रुपमा आएको छु । संस्थागत निर्णय केन्द्रीय सभापति र पदाधिकारीलाई राख्न काठमाडौं आएका हौं ।

केन्द्रको संस्थापन र इत्तर नभनी चितवन काँग्रेस एकढिक्का भएर आएको हो कि इत्तरसँग निकट भएका नेता मात्रै आउनुभएको हो ?

नेपाली काँग्रेस चितवनमा २८ हजार २ क्रियाशील सदस्य हुनुहुन्छ । त्यसमध्ये दुई सयलाई जानकारी नहुन सक्छ । २८ हजार क्रियाशील सदस्य यसमा सहभागी हुनुहुन्छ । त्यसमा पनि भरतपुर महानगरपालिकामा हाम्रा १६ क्रियाशील सदस्य छन् । ६० प्रतिशत काँग्रेस क्रियाशील सदस्य रहेको क्षेत्र महानगरले ओगट्छ । त्यसैले यो ठाउँ संवेदनशील छ ।

चितवनबाट प्रतिनिधित्व गर्ने नेतृ उमा रेग्मी यो टोलीमा देखिनुभएको छैन नि ? उहाँहरु कार्यव्यस्तताले नआएको कि तपाईको अभियानमा उहाँहरुको विमति हो ?

अस्ति हामीले चितवनमा बैठक गर्दा वर्तमान मन्त्री तथा काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य आदणीय उमा रेग्मी प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यहाँबाट उहाँहरुको बीचमा छलफल गरेर कुराहरु ल्याएर आएका हौं । आज (विहीबार) उहाँ कार्यव्यस्तताले पार्टी कार्यालय आउन सक्नुभएन । यसमा यो वा त्यो भन्ने केही छैन । यो चितवन काँग्रेसको समग्र आवाज हो ।

अर्को कुरा, म नेपाली काँग्रेस चितवनको सर्वसम्मत सभापति हो । निर्वाचन दोस्रो चरणमा जाँदा म सर्वसम्मत सभापति भएको थिएँ । नेपाली काँग्रेस चितवनले भोगेको पीडाबाट मुक्ति दिलाउनका लागि सबैको एकमत छ । हामी एक ढिक्का र एक ठाउँमा छौं । यो आवाजलाई नेपाली काँग्रेसको केन्द्रीय समितिले सुन्छ र निर्णयमा पुर्याउँछ भन्ने कुरामा विश्वस्त छु ।

पछिल्लो घटनाक्रमका कारण डेलिगेसन बोकेर काठमाडौं आएको भन्नुभयो, तपाईले नेताहरुलाई बुझाएको पत्रमा के छ ?

नेपाली काँग्रेसका कार्यकर्ता साथीहरुले जे बोलेका छन्, त्यही भावनालाई नेपाली काँग्रेस चितवन जिल्ला कार्यसमितिले निर्णय गरेको थियो । त्यही कुरा केन्द्रीय सभापतिलाई बुझाउन आएका हौं ।

भरतपुर महानगरमा आदरणीय रेणु दाहाल मेयर हुनुहुन्छ । उपमेयरमा पार्वती शाह हुनुहुन्छ । नेपाली काँग्रेसका १३ जना वडाअध्यक्ष हुनुहुन्छ । माओवादीका तीनजना वडाध्यक्ष हुनुहुन्छ । ०७४ मा हामीले गठबन्धन गर्दा प्रमुख र उपप्रमुखमा गरेका थियौं, वडामा गरिएको होइन । तीनवटा वडामा हामी थोरै मतले पराजित भएका थियौं । चारवटा वडामा हाम्रो पार्टीको आन्तरिक कारणले गर्दा वडाअध्यक्षका उम्मेदवार हार्नुभएको छ । तर, चारजना वडा सदस्य जित्नुभएको छ । त्यसैले २९ वटा वडामध्ये २० वटा वडामा नेपाली काँग्रेसको बर्चस्व छ ।

तपाईको डेलिगेसन पत्रको सार के हो भनिदिनु न ?

आशन्न स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख नेपाली काँग्रेसको उम्मेदवार रहने बटमलाइनबाट चुनावी तालमेल प्रक्रियालाई अगाडि बढाउनका लागि आवश्यक व्यवस्था मिलाइदिन विशेष आग्रह गरिएको छ ।

अहिले यो विषय निकै उचाल्नुभयो । नेता–कार्यकर्ताका लागि पनि प्रतिष्ठाको विषय बनेको छ । भरतपुरमा माओवादीलाई नै मेयर दिने केन्द्रबाट निर्णय भइदियो भने कार्यकर्तालाई कसरी सम्हाल्नुहोला ? त्यो  पनि सोच्नुभएको छ कि ?

पछाडि के होला भन्ने विषयको आकलन गरेका छैनौं ।

त्यसोभए माओवादीले मेयर नछोड्दा काँग्रेसले चितवनमा तालमेल गर्छ कि गर्दैन ?

काँग्रेसले मेयर पाएन भने चितवन काँग्रेस एकल निर्वाचनमा जान्छ । हाम्रो वृहत सहमति त्यही नै छ । तर, केन्द्रले निर्णय लिँदा के गर्ने भनेर पछि सोच्छौँ ।

वर्तमान मेयर रेणु दाहालले भरतपुरमा काम राम्रो गरेकी छु, छोड्न सकिन्नँ भनिराख्नुभएको छ । माओवादीले पनि भरतपुर नछोड्ने बटमलाइन बनाएको देखिन्छ नि ?

भरतपुर महानगरमा आदरणीय रेणु दाहाल मेयर हुनुहुन्छ । उपमेयरमा पार्वती शाह हुनुहुन्छ । नेपाली काँग्रेसका १३ जना वडाअध्यक्ष हुनुहुन्छ । माओवादीका तीनजना वडाध्यक्ष हुनुहुन्छ । ०७४ मा हामीले गठबन्धन गर्दा प्रमुख र उपप्रमुखमा गरेका थियौं, वडामा गरिएको होइन । तीनवटा वडामा हामी थोरै मतले पराजित भएका थियौं । चारवटा वडामा हाम्रो पार्टीको आन्तरिक कारणले गर्दा वडाअध्यक्षका उम्मेदवार हार्नुभएको छ । तर, चारजना वडा सदस्य जित्नुभएको छ । त्यसैले २९ वटा वडामध्ये २० वटा वडामा नेपाली काँग्रेसको बर्चस्व छ ।

हामीले त्यो खालको सांगठनिक धरातललाई कायम राख्नका लागि प्रमुखमा दाबी गरेका हौं । हामीले जितेको ठाउँ सुरक्षित हुनुपर्छ भन्ने जहाँ सम्मको कुरा छ, उहाँको जितको हिस्सामा ७५० प्रतिशत काँग्रेसको योगदान छ । उहाँले जुन विकास गर्नु भएको छ, माओवादी केन्द्रले मात्र गरेको हो र ? त्यसमा काँग्रेसका वडाध्यक्ष र उपमेयरको पनि योगदान छ । उहाँले राम्रो काम गर्नुभएको छ, त्यसप्रति हामी आभारी छौं । त्यसमा काँग्रेसको शेयर हुँदैन ? काँग्रेस त्यसको भागिदार बन्न सक्दैन ?

सत्ता गठबन्धन देशव्यापी तालमेलमा जाँदैछ । उहाँले राम्रो काम गर्नुभएको छ भने नदोहोर्याउनुपर्ने कारण के त ?

गठबन्धनको मूल मर्म एकै ठाउँमा एउटै मान्छे पटक–पटक होइन । आलोपालोमा जानुपर्छ । ०७४ मा हामीले सहयोग गर्यौं । त्यो खालको सहयोग हामी ०७९ मा चाहन्छौं । अर्को इस्युमा हामीसँगै बसेर सहयोग गर्न सक्छौं । उहाँले हामीलाई यसपटक प्रमुखमा सहयोग गर्नुभयो भने यो बीचमा नमिलेका मनहरुलाई मिलाएर अगाडि बढ्ने वातावरण माओवादी केन्द्रले बनाउनुपर्दछ भन्ने नेपाली काँग्रेस चितवनका तर्फबाट विशेष आग्रह गर्दैछु ।

त्यसमा पनि माओवादी केन्द्रका केन्द्रीय अध्यक्ष आदरणीय पुष्पकमल दाहाल चितवनकै माननीय हुनुहुन्छ । म उहाँसँग पनि विशेष आग्रह गर्दैछु– उहाँ गठबन्धनको दोस्रो नेता हो । उहाँले यो कुरा बुझ्न जरुरी छ कि उहाँ माओवादी केन्द्रको अध्यक्ष मात्र होइन, गठबन्धनको एउटा जिम्मेवार नेता हो ।

यी सबै कुरालाई मध्यनजर राखेर नेपाली काँग्रेस र माओवादी केन्द्र दुबै पार्टीलाई चितवनको हकमा समान दृष्टिकोण राखेर हेर्न जरुरी छ । यदि उहाँले माओवादी केन्द्र मात्र हेरेर नेपाली काँग्रेसलाई बेवास्ता गर्ने र फरक ढंगबाट विश्लेषण गर्ने प्रयत्न गर्नुभयो भने दुर्भाग्य हुन्छ ।

भरतपुरमा मेयर पाए प्रतिनिधिसभामा प्रचण्डलाई सहयोग गर्न चितवन काँग्रेस तयार हो ?

०७४ भन्दा अगाडि उहाँहरूसँग हाम्रो सम्बन्ध फरक थियो । ०७४ मा तालमेल भएर माओवादीलाई प्रमुखमा हामीले जितायौँ । त्यसपछि छोटो समयमै हाम्रो सम्बन्ध धमिलियो । त्यो धमिलिएको सम्बन्धलाई यो निर्वाचनमा माओवादी केन्द्रले सफा बनाउन जरुरी छ । धमिलिएको मन  सफा भएपछि आगामी यात्रा सहज हुनसक्छ । त्यो परिस्थिति निर्माणका लागि माओवादी केन्द्रका केन्द्रीय अध्यक्षलाई विशेष आग्रह गर्छु ।

संघमा प्रचण्डलाई सहयोग गर्न काँग्रेस प्रतिबद्ध हुन्छ त ?

वैशाख ३० गते उहाँहरुले नेपाली काँग्रेस चितवनलाई गर्ने सहयोग के हुन्छ ? त्यसका आधारमा त्यसपछिको यात्रा तय हुन्छ । अहिले मन धमिलिएको छ । उहाँले मन सफा बनाउनुभयो भने हामी पनि कुरा बुझ्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप