शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

जति वटा पार्टीले गठबन्धन गरे पनि इटहरीमा एमालेले नै चुनाव जित्ने हो : लक्ष्मी गौतम (उपमेयर)

शुक्रबार, २५ चैत २०७८, २१ : १३
शुक्रबार, २५ चैत २०७८

स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनले विभिन्न पालिकामा साझा उम्मेदवार खडा गर्ने तयारी गरिरहेका छन् । खासगरी नेकपा एमालेको बलियो प्रभाव रहेका पालिकामा सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलले साझा उम्मेदवार बनाएर एमालेको पोल्टाबाट जित खोस्ने तयारी गरेका हुन् ।

तर, इटहरी नगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले जति वटा पार्टीले गठबन्धन गरे पनि इटहरीमा चुनाव एमालेले नै जित्ने दाबी गरेकी छन् । उनले इटहरीमा कसैको सहयोग बिना पनि एमालेले चुनाव जितेर देखाइदिने बताइन् । एमाले नै बलियो रहेका कारण सत्तारुढ दलहरुले गठबन्धनमा जोड दिएको उनको भनाइ छ । ‘एमालेलाई गठबन्धनको आवश्यकता छैन,’ उनले भनिन्, ‘एमालेले एक्लै चुनाव जितेर देखाउँछ ।’

अघिल्लो निर्वाचनमा एमालेबाट उपप्रमुख पदमा निर्वाचित भएकी उनले आसन्न निर्वाचनमा नगरप्रमुख पदमा उम्मेदवार बन्न इच्छुक रहेको बताइन् । उपप्रमुखका रुपमा हालसम्म आफूले गरेको कामकै आधारमा पनि पार्टीले अब आफूलाई नगरप्रमुख (मेयर)को उम्मेदवार बनाउने विश्वास रहेको उनको भनाइ छ ।

आफूले पहिले पनि नगरप्रमुख पदमै दाबी गरेको तर उपप्रमुखमा चित्त बुझाउनुपरेको भन्दै उनले अब नगर प्रमुखमा आफ्नो पालो रहेको जिकिर गरिन् । ‘मेरो कामको मूल्याङ्कन जनताले गरेका छन्, मेरो भगवान उनीहरु नै हुन् । काम गर्न पनि सक्छु र जित्छु पनि,’ उनले भनिन्, ‘तर पार्टीले जहाँ आवश्यक ठान्छ, त्यहीँ बसेर काम गर्न पनि तयार छु । आफूले दाबी गरेको कुरा भएन भनेर म पार्टी फेर्दै हिँड्ने मान्छे होइन । म नेकपा एमालेको इमानदार कार्यकर्ता पनि हुँ ।’

उपप्रमुखको काँधमा धेरै जिम्मेवारी हुने गरेका कारण पनि आफूले यो अवधिमा धेरै कुरा सिक्न पाएको उनले बताइन् । उपप्रमुखका रुपमा आफूले निर्वाह गरेको भूमिकाका सम्बन्धमा उनले भनिन्, ‘जति धेरै जिम्मेवारी, त्यति नै काम सिक्ने अवसर प्राप्त भयो । सुप्रिम पावर नगर प्रमुखको भए पनि कार्यकारी तह उपप्रमुख हो । त्यसैले उपप्रमुखले दोस्रो दर्जाको रुपमा आफूलाई मान्न आवश्यक छैन ।’

अघिल्लो निर्वाचनका क्रममा जनताका माझ गरेका ८० प्रतिशत प्रतिवद्धता पूरा गरेको उनी बताउँछिन् । स्थानीय तहलाई संविधानले धेरै अधिकार दिएको र पहिलो पटक नयाँ संविधान अनुसारको संरचनामा स्थानीय तह गठन भएकाले सुरुमा कानुनी, प्राविधिक र अन्य विभिन्न कारणले अन्योल देखिएको उनको भनाइ छ । यद्यपि, समय क्रमसँगै यो अवस्थामा सुधार आएको उनले बताइन् ।

नगरप्रमुख द्वारिकालाल चौधरीका बारेमा चर्चा गर्दै उनले भनिन्, ‘कहिलेकाहीँ कुनै पेपरमा सहीछाप लगाएको कुरामा पनि असन्तुष्टि जनाउने, न्यायिक क्षेत्रका मुद्दामा पुलिस पठाएर हस्तक्षेप गर्ने, आफ्नो क्षेत्राधिकार भन्दा बाहिरका काम पनि उहाँले बेला–बेलामा गर्नुभयो ।’ महिलालाई नेतृत्वको रुपमा स्वीकार गर्न पितृसत्तात्मक सोचका कारण पनि समस्या भएको हुन सक्ने उनले बताइन् ।

पार्टीको निर्णायक तहमा महिलाहरु न्यून भएकै कारण पनि स्थानीय तहमा महिला सहभागिता कम भएको उनले बताइन् । भन्छिन्, ‘केन्द्रमा दबाब दिने महिला नभएपछि पुरुष प्रतिनिधिका कुरा हाबी हुनु स्वाभाविक हो । नेकपा एमालेले ५० प्रतिशत महिला सहभागिता गराउनुपर्छ भनेर हामीले आवाज उठाउँदै आएका छौं । कतिपय अवस्थामा कसले जित्छ भनेर पनि पार्टीले हेर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप