बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जनकपुरधाम प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

शुक्रबार, २५ चैत २०७८, १८ : ०१
शुक्रबार, २५ चैत २०७८

प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । शुक्रबार जनकपुरधाममा प्रादेशिक अस्पताल जनकपुरधामका स्वास्थ्यकर्मी तथा अस्पताल मातहत रहेको नर्सिङ कलेजका विद्यार्थी र कर्मचारीहरुले नगरमा प्रदर्शन गर्दै मधेस प्रदेशका सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रतिष्ठानमा गाभेको करिब तीन महिनापछि प्रादेशिक अस्पतालका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले तीन बुँदे माग राख्दै मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरधामलाई पूर्ण सरकारी संस्था कायम गर, प्रादेशिक अस्पताल जनकपुरधाम मातहत रहेको एक मात्र जनकपुर नर्सिङ क्याम्पसलाई अन्यत्र सार्न पाइँदैन र विकास समितिलगायतका कर्मचारीलाई पूर्ण व्यवस्था गर भन्दै प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक डा. रामनरेश पण्डितले प्रादेशिक अस्पताललाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नगाभ्न माग गरेका छन् ।

उनले प्रादेशिक अस्पताललाई अलग राख्नुपर्ने मुख्य माग रहेको बताए । उनले भने, ‘प्रादेशिक अस्पताल छुट्टै अस्पताल हुनुपर्छ ।’  उनले यो प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको प्रदेश रहेको भन्दै उनले प्रदेशमा अशिक्षा, गरिबी र रोग बढी रहेको समेत बताए । डा. पण्डितले प्रादेशिक अस्पताल प्रतिष्ठानमा गाभेपछि स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीमा समेत अन्योलता उत्पन्न भएको बताए । त्यस्तै, नर्सिङ क्याम्पस जनकपुरमा अध्ययनरत छात्रा एञ्जिला शर्माले प्रादेशिक अस्पताल गएपछि क्याम्पस पनि जाने भएकाले आन्दोलनमा उत्रनुपरेको बताइन् । उनले आफूहरू अध्ययन गरिरहेको शैक्षिक पाठ्यक्रम प्रतिष्ठानमा नरहेकाले आफूहरू अन्योलतामा परेको बताइन् ।

मधेस प्रदेश सरकार मातहत रहेको प्रादेशिक अस्पताल प्रतिष्ठानमा गोभिएपछि अधिकांश स्वास्थ्यकर्मी, कर्मचारीहरुमा अलमलमा परेका छन् भने विद्यार्थीहरुलाई शैक्षिक पाठ्यक्रम नमिलेको तथा केही कोर्ष नै यस प्रतिष्ठानमा नरहेकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको भनाइ छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालयले केही दिनअघि मात्र प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुप्रिटेन्डेन्ट डा. प्रमोद यादवलाई पदमुक्त गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप