बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा सुरक्षा जाँचमा कडाई, निगमका ट्यांकरलाई पनि सुरक्षा जाँच

शुक्रबार, २५ चैत २०७८, १७ : ३४
शुक्रबार, २५ चैत २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा कडाई गरिएको छ । कोटेश्वर तर्फबाट गएका युवा विमानमा प्रवेश गरेपछि प्रहरीले सुरक्षा जाँचलाई चुस्त बनाएको छ । विमानस्थल प्रवेश गरेर हवाई इन्धन अनलोड गर्ने आयल निगमका ट्यांकरलाई पनि चेकजाँच गरेर मात्र प्रवेश अनुमति दिन थालिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी भीमप्रसाद ढकालले रातोपाटीलाई बताए ।

सिनामंगलस्थित आयल निगम गेट, गोल्डेन गेट, फलामे गेटमा अहिले आयल निगमका ट्याङकरहरु विमानस्थल प्रवेश गर्नुअघि ‘भेहिकल सर्च मिरर’ प्रयोग गरेर चेकजाँच गर्न थालिएको छ ।

हवाई मैदानको पेप्सिकोला तर्फको पार्किङलाई व्यवस्थित गरिएको छ । पेप्सिकोलातर्फ बार बनाएर अनधिकृत मानिस प्रवेश गर्न नसक्ने बनाइएको एसएसपी ढकालले जानकारी दिए । विमानस्थलस्थित ‘इओडी होल्डिङ’ गेटको मुख्य प्रवेशद्वारको भित्रपट्टि पार्किङ एरिया तथा प्रहरी चेक पोष्टको बाटो प्रयोग नगरेर चेकजाँच बिना जानसक्ने अवस्था दीर्घकालीन अन्त्य गर्न प्रक्रिया शुरु गरिएको छ । नागरिक उड्ययन कार्यालयले सो संरचनालाई पुनर्निर्माण गरेर पार्किङस्थल छुट्टै बनाई कर्मचारी समेतलाई प्रहरी पोष्टतर्फ आउने गरी फलामे बार निर्माणको काम शुरु गरेको छ ।

अन्तर्राष्ट्रिय आगमनमा खटिएका पासबाहक कर्मचारी र आगन्तुकलाई एप्रोन हुँदै प्रस्थान क्षेत्रतर्फ जान पूर्ण रुपमा प्रतिबन्ध लगाइएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आयल निगम गेटमा पास रिडर मेशिन, एक्सरे मेशिन र भेहिकल स्क्यानर मेशिन जडान गर्न नागरिक उड्डयन कार्यालयलाई पत्राचार गरिएको जानकारी दिएको छ । त्यस्तै विमानस्थलको फलामे गेटमा खाना, नास्ता तथा फोहोर स्क्रिनिङको लागि एक्सरे मेशिन जडान गर्न सुरक्षा कार्यालयले विमानस्थल नागरिक उड्यन कार्यालयलाई पत्राचार गरेको छ ।

त्यस्तै, सुरक्षा लाई चुस्त राख्नका लागी प्रहरी कर्मचारीहरुलाई ड्युटीको समयमा अति आवश्यक बाहेक अन्य अवस्थामा मोबाइल फोनको प्रयोग गर्न निषेध गरिएको एसएसपी ढकालले बताए । प्रहरी कर्मचारीलाई दुई महिनादेखि ड्युटीको समयमा मोवाइल चलाउन निषेध गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप