सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आचारसंहिता कक्षालाई काउन्सिलले दियो निरन्तरता

शुक्रबार, २५ चैत २०७८, १६ : ५६
शुक्रबार, २५ चैत २०७८

प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई निरन्तरता दिएको छ । हरेक साताको शुक्रबार गर्ने यस कार्यक्रम अन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ । 

आज तेस्रो साता नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ शिव गाउँलेले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्नुहुँदै आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए ।  विभिन्न अनलाइन, पत्रपत्रिकामा आएका समाचारका विषयवस्तुबारे उदाहरण दिँदै उनले पत्रकारितामा सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउने भएकाले सजगता अपनाउनु पर्ने बताए । 

पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने भन्दै आफूले लेखेको समाचारबारे आफैंलाई प्रश्न गरेर प्रकाशित गर्न सकेमा पनि धेरै गल्ती हट्ने बताए ।  सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्याउन तत्परता, समाचारको स्रोत एवं सामाजिक दायित्वबारे जानकारी दिँदै अरूको समस्या पनि पत्रकारले आफ्नै समस्या मानेर कलम चलाउनुपर्ने धारणा राखे । 

काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे जानकारी दिए ।  काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास व्यक्त गरे । 

सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र र आचारसंहिता उल्लेखित फ्लेक्स वितरण गरिएको थियो । कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका भौतिकरूपमा ३० र जुममार्फत विभिन्न जिल्लाका १९ जनाको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप