बूढी गण्डकीका विषयमा काँग्रेस महामन्त्रीको सुझाव : ओलीले आत्मालोचना गर्नु
![बूढी गण्डकीका विषयमा काँग्रेस महामन्त्रीको सुझाव : ओलीले आत्मालोचना गर्नु](https://rpcdn.ratopati.com/media/albums/SUB_Biswoprakash-10_zTA51PFF7p.jpg)
मन्त्रिपरिषद्ले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय फिर्ता गरेपछि नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले त्यसको स्वागत गरेका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवा वाटर एण्ड पावर ग्रुपलाई दिने निर्णय फिर्ता लिएको थियो । मन्त्रिपरिषद्ले उक्त आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय समेत गरेको छ ।
‘डिजेल र पेट्रोल खरिद गर्दा प्रतिलिटर अघि ५ पछि १० रुपैयाँ गरेर बूढी गण्डकीका लागि अर्बौं रकम जनताबाट उठिसकेको छ । मुआब्जा टुङ्ग्याएर, सरकार र निजी क्षेत्रको लगानी सुनिश्चित गरेर यसलाई गति दिन अब ढिलाइ गर्नुहुन्न,’ महामन्त्री शर्माले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छन् ।
बूढीगण्डकी आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय अघिल्लो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो । काँग्रेस महामन्त्री शर्माले ट्वीटरमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र डा.बाबुराम भट्टराईलाई पनि बूढीगण्डकी आयोजनासँग जोडेर सुझाव दिएका छन् ।
‘बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य । श्रद्धेय केपी शर्मा ओलीको आत्मालोचना सुन्न पाइने अपेक्षा । ‘९ अर्ब बाँडेर खाएको’ आरोप फिर्ता लिन श्रद्धेय बाबुराम भट्टराईले लज्जाबोध नगर्नुहुने आशा । आवेग परित्याग गरेर विवेक अघि लगाऔँ ! अब बूढीगण्डकी बनाउन जुटौँ !,’ महामन्त्री शर्माले भनेका छन् ।
०७४ मा काँग्रेस नेतृत्वको सरकारले डा.स्वर्णिम वाग्ले नेतृत्वको कार्यदल बनाई गरेको अध्ययन र प्रस्ताव अनुरुप बूढीगण्डकी ‘स्वदेशी लगानीमा निर्माण गर्ने’ निर्णय गरेको उनले स्मरण गरेका छन् ।
‘ओली सरकारले विवादास्पद कम्पनी गेजुवालाई बिना प्रतिस्पर्धा सुम्पिने निर्णय गरेर भएको भविष्य अन्यौल अब रहनुहुन्न,’ उनले लेखेका छन् । १२ सय मेगावाटको बिद्युत उत्पादन मात्रै होइन, फेवातालभन्दा दशौं गुणा ठूलो जलाशय, वृहत् पर्यटनको केन्द्र, पिउने पानी र सिँचाइको विशाल भण्डार समेत हुने यस्तो बहुउद्देश्यीय परियोजना स्वदेशी लगानीमै बनाउनु अनेक कोणबाट जरुरी रहेको उनले जनाएका छन् ।
‘अब कुनै बिघ्न आउन नदिन सरकार, प्रतिपक्ष र दलहरु गम्भीर बन्न जरुरी छ,’ उनले भनेका छन् । समृद्धिको साझा दायित्व, आवेगमुक्त साझा अठोटमा देश जुट्नुपर्ने उनले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै
-
यसरी हुँदैछ एक महिना लामो स्वस्थानी व्रतको समापन (तस्बिरहरू)
-
‘महाकुम्भबाट नेपाल पनि लाभान्वित हुनसक्छ’
-
अवैध आप्रवासीहरूलाई अमेरिकाले हतकडी र नेल लगाएको विषयमा के भन्छन् विज्ञहरू ?
-
चिनियाँ ठेकेदार कम्पनीबाट भइरहेको अवैध उत्खननको अनुगमन गर्न समिति गठनको माग
-
भक्तजनद्वारा पशुपतिनाथको छाया दर्शन