आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सहकारीसहित सात घरमा चोरी

शुक्रबार, २५ चैत २०७८, ०९ : ४०
शुक्रबार, २५ चैत २०७८

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो ।​कुश्मीशेरा बजारका व्यवसायी गोविन्द अँखेलीको घरबाट दुई तोला सुन र नगद रु २० हजार चोरी भएको चेम्बर अफ कमर्श कुश्मीशेराका अध्यक्ष विष्णु आचार्यले बताउनुभयो । त्यस्तै शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीको घरबाट रु पाँच हजार चोरी भएको छ । कुश्मीशेरा बजारमा व्यापार गर्ने अनिल सापकोटाको पसलबाट रु २७ हजार चोरी भएको आचार्यले बताए ।

चुडामणि शर्माको मेडिकल, नयनसिंह थापाको घर र मनबहादुर परियारको पसलबाट पनि चोरी भएको छ । उहाँहरुको के–कति चोरी भएको भन्ने विषयमा खोजी भइरहेको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको शाखा रहेको घरमा समेत तोडफोड भएको आचार्यले बताए ।

चोरी भए, नभएको विषयमा खोजी भइरहेको छ । चोरी भएका सबै घर तथा पसलमा झ्याल, ढोका फोडेर चोरी भएको प्रहरीले जनाएको छ । बिहीबार राति साढे २ बजेसम्म बजारमा गस्ती गरेको प्रहरीले चोरीका विषयमा आज बिहानमात्रै जानकारी पाएको जनाएको छ ।

घटनाका विषयमा खोजी र अनुसन्धान भइरहेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार हरि शर्माले जानकारी दिनुभयो । तीन महिना पहिला कुश्मीशेरा बजारकै हेमलाल पौडेलको पसल फोडेर चोरी भएको थियो । प्रहरीले त्यतिबेला चोरी गर्नेलाई समेत पक्राउ गर्न सकेको छैन । तीन महिनापछि कुश्मीशेरा बजारमा पुनः चोरीका घटना बढेको स्थानीयवासी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप