उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठ समापन (फोटोफिचर)
मधेश प्रदेशमा शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिएसँगै चैती छठ सम्पन्न भएको छ । सूर्यको पहिलो किरणलाई अर्घ दिन व्रतालुहरू बिहानैदेखि प्रतिक्षामा थिए । लामो समयको पर्खाईपछि उनीहरुले सूर्यलाई अर्घ दिएका हुन् । निर्जल उपवास बसेका व्रतालुहरूले बिहीवार अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका थिए ।
तराई मधेशको सबैभन्दा ठूलो तथा महान पर्वको रुपमा छठ व्रतलाई मान्ने गरिन्छ । छठ पर्व तराईकै सबैभन्दा ठूलो चाड भएपनि मधेश प्रदेश सरकारले यो पर्व मनाउन सार्वजनिक विदा दिएको छैन । छठ व्रत मान्ने व्रतालुहरुले जनकपुरको गंगासागर, धुनुषसागर, अरगज्जा सागर, दशरथ तल्ला लगायतका छठीघाटमा रातभरि जाग्राम बसेर भजन-कीर्तन गरेका थिए ।
ब्रतालुले भरिभराउ छठीघाटहरुबाट अहिले झक्तजनहरु आ आफ्नो घर फर्किन थालेका छन् । प्रायः सबै छठीघाटमा छठी माताको गीत साउण्ड बक्समा ठूला आवाजमा घन्की रहेको थियो । व्रतालुहरू ले बिरा (माटोको दियो बालेर) जलायशयमा बगाएका थिए ।
कात्तिक महिनामा मनाइने छठ व्रतभन्दा चैती छठमा श्रद्धालु भक्तजनको संख्या कम देखिएपनि अन्य जिल्लाको तुलनामा जनकपुरमा चैती छठ गर्नेहरुको संख्या बढी देखिएको छ । छठ पूजा गर्न गंगासागर घाटमा आइपुगेकी व्रतालु ६५ वर्षीया देवमुनी ठाकुरले चैतमा पनि छठ व्रत बस्दा कुनै कठिनाइ नभएको बताउँछिन् ।
उनी ३० वर्ष देखी चैती छठ व्रतलाई निरन्तरता दिँदै आएको छिन् । ‘यो व्रत बस्दा भोक प्यास लागेको अनुभूति हुँदैन,’ उनले भनिन्, ‘छठी माताको कृपाले भोक प्यास सबै हराएर जान्छ ।’ सन्तान सुखको प्राप्तिको लागि खासगरी विवाहित महिलाले यो व्रत बस्ने गरेको उनले जानकारी दिइन् ।
१९ वर्ष अगाडि अरुको देखासिकी मनमनै भाकल राखेर गंगासागर जलाशयमा बस्दा भाकल पुरा भएको जनकपुरकै जानकी देवी सरवरियाले बताइन् । ‘हे छठी माता मलाई पुत्र देउ अनि म छठ व्रत बस्छु भनी भाकल गरेको थिए,’ उनले भनिन्, ‘छठी माताको आशिर्वादले मलाई पुत्र प्राप्ति भयो ।’ त्यसपछि १८ वर्षदेखि निरन्तर छठ व्रत बस्दै आएको उनको भनाइ छ । छठी माताको कृपाले व्रतलाई सकेसम्म निरन्तरता दिँदै जाने उनले जानकारी दिइन् ।
‘छठी माताप्रतिको विश्वासको पर्व हो छठ व्रत,’ अर्का व्रतालु ६० वर्षीया रामनेही ठाकुरले भनिन्, ‘छठी माताप्रति विश्वास बढेकै कारण व्रतालुले निर्जल, निराहार यो व्रत बस्छन् ।’ यसअघि व्रतालुहरूले छठ पर्वको पहिलो दिन नहायखाय विधी र दोश्रो दिन बुधवार ‘रसियाउ रोटी’ अर्थात खरना विधिको पूजाआजा गरेका थिए ।
उनीहरुले मिठा, सख्खर, दुध, शुद्ध चामलको प्रयोग गरी माटोको हडियामा रसियाउ र खपरी (माटोको तावा) मा शुद्धता पुर्वका गहु पानीले सफा गरेर घाममा सुकाई सफा गरेको मेसिनमा पिँधेर निकालेको पीठोबाट सतर्कता पूर्वक रोटी पकाएर प्रसादको रुपमा ग्रहण गरेका थिए ।
रसियाउ र रोटी छठी माता र घरको देवतालाई चढाएपछि पहिला व्रतालु महिला (छठैतिन) ले रसियाउ रोटी खाने चलन छ । त्यसपछि परिवारका अन्य सदस्यले प्रसादको रुपमा त्यही रसियाउ रोटी खाएर बस्छन् । यो विधिलाई नै रसियाउ रोटी भनिन्छ ।
छठ पर्वको पहिलो दिन मंगलवार छठ ब्रत बस्ने महिला÷पुरुषहरु खाना खानु अघि नुहाई धुवाई गरी पवित्र भई लसुन प्याज नहालेको शुद्ध घ्यूमा बनाइएको सात्विक खाना खाएर नहाय खाय विधि पुरा गरेका थिए ।
उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठको पूजा सामाग्री, ठेकुवा चिउरा राखिएको दउरा, छैटा बोकेर आफन्तहरु घर फर्किएका छन् । पर्व समापन भएपछि व्रतालुले गाउँ घरमा रहेका इनार, चापाकल, घरमा भएका सवारी साधन, गाई, गोरु, पति तथा आफ्ना अग्रज, मठमन्दिर आदिमा पूजा गर्दै घर फर्किने चलन छ ।
पूजा समाप्तिपछि ३६ घण्टा देखि निराहार, निर्जल ब्रत बसेका व्रतालुले घरमा बनेको मिठो पकवान खाएर ब्रत तोड्ने चलन रहेको व्रतालु अनिता मिश्राले बताइन् ।
‘सबै घरमा पकौंडासहितको पकवान बन्दछ,’ उनले भनिन्, ‘पूजा सकिएपछि परिवारका सबै मिलेर खान बस्छन् ।’ पारिवारिक समस्या, प्रगति लगायतका बारेमा खानाकै अवसरमा छलफल समेत गर्ने चलन रहेको उनले जानकारी दिइन् ।
‘हिन्दुले मान्ने पर्व मध्ये छठ ब्रत सबैभन्दा कठिन ब्रत मानिन्छ,’ बारा उत्तर झिटकैयाकी व्रतालु कोशिला देवीले भनिन्, ‘यो पर्वमा व्रतालुले निर्जल, निराहार बस्छन् । ब्रत अवधिमा पानी समेत सेवन गरिँदैन ।’ शौच गर्ने बित्तिकै नुहाई धुवाई गरेर नयाँ कपडा फेर्ने चलन समेत रहेको उनले बताइन् ।
व्रत समाप्त भएपछि छठ पर्वको प्रसाद छर छिमेक ईष्ट मित्र कहाँ पठाउने र विवाह गरेर गएका छोरी बेटीहरुलाई बायन पठाउने चलन रही आएको छ । छठ व्रत बस्दा चर्मरोग निको हुने, सन्तान प्राप्ति हुने र मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको कारणले तराई भेगमा मनाइने यो व्रत विस्तारै पहाडी भेगमा समेत मनाउन थालिएको छ ।
श्रद्धाभक्ति र धार्मिक सहिष्णुताको प्रतीकको रुपमा स्थापित छ । तराई मुलका ९५ प्रतिशत हिन्दु महिलाले मान्ने यस पर्वलाई तराई भेगमा बसोबास गर्दै आएका पहाडी मूल, माडवारी र बङ्गाली समुदायका महिलाहरुले समेत अत्यन्त श्रद्धा र भक्ति पूर्वक मान्ने परम्परा बढदै गएको स्थानीयले जानकारी दिए ।
व्रत बस्न महिला असमर्थ भएको खण्डमा परिवारका पुरुष सदस्यले पनि व्रतलाई निरन्तरता दिनु पर्ने मान्यता रही आएको छ । छठ पर्वको लागि अनिवार्य मानिने पूजा सामग्रीहरूमा माटोको भाडो (ढकनी), हात्ती, दियो, बासको भाडाहरु (दौरी, सुपुली, छैंटी), उखु, नरिवल,आलसको तेल, फलफुल, चिनीको विशेष किसिमको मिठाई बतासा, पहेलो धोती आदि पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत