बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य बीमा बोर्डले अझै ७ अर्ब भुक्तानी गर्न बाँकी

शुक्रबार, २५ चैत २०७८, ०७ : १६
शुक्रबार, २५ चैत २०७८

बीमितहरुलाई उपचार गराए बापत आफूले समयमै भुक्तानी नपाएको गुनासो अस्पतालहरुले गर्दै आएका छन् । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले साउन महिनादेखि बोर्डले साढे ६ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको बताए । उनले ६ वर्षको अवधिमा अस्पतालहरुलाई १६ अर्बभन्दा बढी रकम भुक्तानी गरिसकेको सुनाए ।

यद्यपि बोर्डले सेवा प्रदायक संस्थाहरुलाई अझै ७ अर्ब भुक्तानी गर्न बाँकी छ । कार्यकारी निर्देशक बसौलाले सेवा प्रदायक संस्थाहरुले तत्कालै भुक्तानी पाउने चाहना राख्नु स्वाभाविक भए पनि कर्मचारी अभाव र विविध कारणले तत्काल भुक्तानी दिने अवस्था नरहेकोे बताए ।

उनका अनुसार अस्पतालहरुबाट स्वास्थ्य बीमा बोर्डले प्राप्त गरेको कागजातहरु रुजु नगरीकन सरकारले भुक्तानी गर्न मिल्दैन । अस्पतालबाट प्राप्त भएका दाबीहरुलाई ‘दाबी परीक्षण शाखा’ले हेर्छ । अस्पतालबाट प्राप्त भएका कतिपय दाबीमा सच्चाइ नहुँदा पनि भुक्तानी गर्न गाह्रो र लामो समय पनि लाग्न सक्ने उनको भनाइ छ ।

उनले भने, ‘बीमितहरुको मेडिकल रेकर्ड आधुनिक तरिकाले राख्ने र रुजु गरेर भुक्तानी गर्र्ने व्यवस्था नभएकाले भुक्तानीका लागि केही ढिला हुन्छ ।’

स्वास्थ्य बीमा बोर्डले दुई वर्षको अवधिमा १५ अर्ब प्राप्त गरेको छ । अब स्वास्थ्य बीमाको पहुँचमा पु¥याउन र स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न प्रदेश र स्थानीय तहलाई पनि जिम्मेवारी दिनुपर्ने उनले बताए ।

अति गरिब परिवारका ५ लाखले गराए स्वास्थ्य बीमा

नेपालमा अति गरिब परिवारका झण्डै ५ लाख सदस्यले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा बोर्डका अनुसार ४ लाख ८८ हजार ४ जनाले स्वास्थ्य बीमा गराएका छन् । नेपाल पछिल्लो समय स्वास्थ्य बीमा गराउने दर बढ्दै गएको बोर्डका अध्यक्ष डा.सिनेन्द्र उप्रेतीले बताए । 

२०७१ चैत २५ गते कैलाली जिल्लाबाट औचारिक रुपमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ जिल्लामै विस्तार भइसकेकोे डा.उप्रेतीले बताए । बीमित सदस्यमा एच.आई.भी संक्रमित परिवारका २५ हजार २८९ जना र अति अशक्त अपाङ्गता भएका परिवारको ९३ हजार ६२९ जना छन् ।

यस्तै, कुष्ठरोग संक्रमितको परिवारका २ हजार ८४९ जना, एम.डी.आर. क्षयरोगी परिवारका दुई हजार ४७४ जना, महिला स्वास्थ्य स्वयंसेवीको परिवारका ८३ हजार ६२६ जना र ज्येष्ठ नागरिक ६ लाख ३४ हजार ७३५ जनाले पनि स्वास्थ्य बीमा गराएका छन् ।

लक्षित वर्गहरुको स्वास्थ्य बीमा नवीकरण सरकार आफैले गरिदिने स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए । बोर्डले लक्षित समूहलाई स्वास्थ्य बीमा नवीकरण गरिदिए पनि कुल बीमितमध्ये ७० प्रतिशतले मात्रै स्वास्थ्य बीमा नवीकरण गराउने गर्छन् । ‘स्वास्थ्य बीमाको पहुँचमा नपुगेका सबैलाई स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्छ,’ उनले भने, ‘यो बीमा सामाजिक सुरक्षा कार्यक्रम हो, नाफामूलक कम्पनी होइन ।’

७७ जिल्लाका ७४५ वटा वार्डमा स्वास्थ्य बीमा कार्यक्रम  पुगेको छ । नेपालमा कुल बीमित परिवार भने जम्मा २७.७९ प्रतिशत अर्थात् १५ लाख ८ हजार  ५१४ छन् । बोर्डका अनुसार, कुल बीमितमध्ये सेवा लिने ३९.३९ प्रतिशत अर्थात्  २० लाख ८९ हजार ५९९ जना छन् । यस्तै, स्वास्थ्य बीमा गराउने २०.०३ प्रतिशत अर्थात् ५३ लाख ४ हजार २७० जना छन् । स्वास्थ्य बीमा गराउनेहरुलाई देशका ४४१ स्वास्थ्य संस्थाबाट सेवा प्रदान हुँदै आएको छ ।

स्वस्थ्य बीमा बोर्डले मोबाइल एप्लिकेसन सार्वजनिक गर्ने

स्वास्थ्य बीमा बोर्डले मोबाईल एप्लिकेसन सार्वजनिक गर्ने भएको छ । बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गर्न लागेको छ । चैत २५ गते शुक्रबार स्वास्थ्य बीमा दिवसको अवसर पारेर सार्वजनिक गरिने यस एप्लिकेसनबाट स्वास्थ्य बीमा गराएकाहरुले उपचार गर्दा कति खर्च लाग्यो, कति रकम बाँकी छ लगायतका विषयमा जानकारी पाइने बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए ।

एचआईबी एप्लिकेसनबाट बीमा नवीकरण गर्ने समय भए नभएको समेत थाहा पाइने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप