शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : तनहुँमा चलेको मुद्दामा उच्चले धरौटी खोले के हुन्छ नवलपुरको मुद्दा ?

बिहीबार, २४ चैत २०७८, २० : ५०
बिहीबार, २४ चैत २०७८

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालतले पनि थुनामै पठाउने आदेश दिएको छ । नवलपुरको उक्त आदेशसँगै तनहुँमा चलेको मुद्दामा अब उच्च अदालत पोखराले धरौटीमा छाड्ने आदेश दिए पनि शाह नवलपुर अदालतका कारण थुनामै बस्नुपर्नै भएको हो ।

एक नाबालिगले आफूलाई विवाहको प्रलोभन देखाई पटकपटक जबरजस्ती करणी गरेको अभियोग लगाई अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीकै आधारमा सरकारवादी मुद्दा बनेर तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतमा शाहविरुद्ध मुद्दा चलेको थियो । तनहुँ जिल्ला अदालतले गत चैत १० गते शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

आदेशलगत्तै शाह चैत १५ गते थुना बाहिरबाटै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरा पुगेका थिए । त्यसको भोलिपल्ट नै उच्च अदालत पोखराले थुनामै पठाउने तनहुँ जिल्ला अदालतको आदेशसँगै कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो ।

उच्च अदालत पोखरामा निवेदनको अन्तिम टुङ्गो नलाग्दै बुधबार नवलपुर जिल्ला अदालतले पनि शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको छ । नवलपरासी पश्चिम (नवलपुर) मा जारी जबरजस्ती करणी मुद्दामा पनि थुनामै राख्ने आदेश दिएसँगै अब तनहुँ जिल्लाबाट भएको आदेशको उल्टी हुने गरी उच्च अदालत पोखराबाट आदेश आयो भने पनि नवलपुरको आदेशका कारण शाह थुनामै बस्नुपर्ने भएको छ ।

दुई छुट्टाछुट्टै अदालतमा दर्ता भएको मुद्दा र दुई अदालतले नै थुनामै राख्ने आदेश दिएकाले अब तनहुँको हकमा उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिए पनि नवलपुरका कारण उनी नवलपुरको कारागारमै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने हुनसक्छ ।

उच्च अदालतले थुनामुक्त गर्ने आदेश दिए के हुन्छ ?

तनहुँ जिल्ला अदालतले गत चैत १० गते थुनामै पठाउने दिएको आदेशविरुद्ध पल शाह चैत १५ गते उच्च अदालत पोखरा पुगेका थिए । उच्च अदालत पोखराले चैत १६ गते तनहुँ जिल्ला अदालतले गरेको आदेशसहित कैफियत प्रतिवेदन माग गरेको छ । तनहुँबाट उक्त मुद्दाको कैफियत प्रतिवेदन प्राप्त भएपछि ७३ नम्बरको मुद्दा (थुनुवा)का रुपमा उच्च अदालत पोखरामा सुनुवाई हुनेछ । त्यसपछि पल शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने जिल्ला अदालतको आदेश सदर गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमै रिहा गर्ने भन्ने आदेश आउन सक्ने सम्भावना छ ।

तर, उच्च अदालत पोखराले रिहा गर्ने आदेश दिए पनि नवलपुर जिल्ला अदालतको आदेशका कारण उनी छुट्न पाउने छैनन् । त्यसकारण पनि अब सम्भवतः नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध पनि पल शाह फेरि उच्च अदालत पोखरा जान सक्नेछन् ।

दुवै जिल्लाको पुनरावेदन सुन्ने अदालत पोखरा उच्च अदालत नै रहेको छ । त्यसकारण दुवै जिल्ला अदालतको थुनामै पठाउने आदेशविरुद्ध थुनछेक प्रयोजनका लागि उच्च अदालत गएमा दुवै अदालतको क्षेत्राधिकार एकै भएको कारण लगाउमै राखेर सुनुवाई पनि गर्न सकिनेछ । तर, यो पुनरावेदनको मुद्दा नभएको र मात्रै थुनछेक प्रयोजनका लागि निवेदन दिइएको कारण सामान्यतः यस्ता निवेदनलाई लगाउमा राख्ने चलन छैन ।

थुनामै पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध प्रतिवादी पुनरावेदनको निवेदन लिएर नगएसम्म नवलपुरको विषय अहिले नै जोडिने छैन । यदि प्रतिवादी अर्थात् पल शाह उक्त नवलपुरको आदेशविरुद्ध पनि उच्च अदालत गएको अवस्थामा एकै स्थानमा थुनछेक प्रयोजनका लाग सुनुवाई भए पनि आदेश भने फरकफरक रुपमै आउन सक्नेछ ।

एक जिल्ला न्यायाधीशले रातोपाटीसँग भने, ‘अब मुद्दा नै दुई स्थानमा चलेको अवस्थामा दुईवटै अदालतको क्षेत्राधिकारको विषय भयो । त्यसकारण कुन अदालतले के के गर्ने वा नगर्ने भन्ने विषय अदालतकै कुरा भयो । तर, निवेदक वा प्रतिवादीहरुले उच्च वा सर्वोच्च अदालतमा निवेदन दिएर दुवै मुद्दाका वादी र प्रतिवादी एकै भएको, मुद्दाको प्रकृति पनि एकै भएको तर वारदातस्थलमात्रै फरक परेको कारण कुनै एक अदालतबाटै मुद्दाको पुर्पक्ष गर्न माग पनि गर्न सक्नेछन् । त्यस्तो माग गरेमा उच्च अदालत वा सर्वोच्च अदालतले एकै अदालतबाट सुनुवाई गर्ने गरी अर्को अदालतको मिसिल माग गर्न सक्नेछ । तर, अहिले त थुनछेक प्रयोजनको पुनरावेदन मात्रै परेको कारण अहिलेलाई त्यो सम्भावना छैन ।’

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी पनि दुईवटा अदालतमा चलेको मुद्दा तत्काल कुनै एक अदालतले मात्रै हेर्नसक्ने सम्भावना नरहेको बताउँछन् । त्रिपाठी भन्छन्, ‘अभियोजन गर्ने कुरामै केही कमजोरी भएको छ । त्यतिबेलै कुनै एक अदालतबाट मात्रै मुद्दा चलाउन सकिने अवस्था पनि थियो । तर, वारदातस्थल फरकफरक परेको भन्दै दुई अदालतमै मुद्दा दर्ता भइसकेपछि अब एकै अदालतले हेर्ने भन्ने सम्भावना ज्यादै कम हुन्छ ।

पुनरावेदनमा नपुगेसम्म अब दुवै अदालतले मुद्दाको सुनुवाई गर्नुपर्ने हुन्छ । तर मुद्दाको फैसला भइसकेपछि चित्त नबुझेको अवस्थामा जाने भनेको एउटै उच्च अदालत हो । त्यसकारण त्यहाँ भने मुद्दालाई लगाउमा राखेर हेर्न सकिन्छ ।’

थुनछेक प्रयोजनका लागि मुद्दालाई लगाउमा राख्न सकिन्छ कि सकिँदैन भन्ने रातोपाटीको प्रश्नमा त्रिपाठीले भने, ‘तनहुँको हकमा पोखरा उच्च अदालत गई कैफियत प्रतिवेदन माग भइसकेको छ । तर नवलपुरको हकमा भर्खरैमात्र आदेश आएको छ । त्यहाँको आदेशविरुद्ध प्रतिवादी निवेदन लिएर उच्च अदालत गएका छैनन् । जब उच्च अदालत नै गएका छैनन् भने त्यहाँको आदेशलाई पनि लगाउमा राख्ने भन्ने कुरा नै भएन । तर यस विषयमा पक्ष वा विपक्षीका कानुन व्यवसायीले बहसका क्रममा अदालतलाई जानकारी दिन सक्छन् ।’

अधिवक्ता त्रिपाठीका अनुसार नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध पनि प्रतिवादी उच्च अदालत गएको अवस्थामा भने अदालतले नोटिसमा लिएर लगाउमा राखेर सुनुवाई गर्न पनि सक्नेछ । त्रिपाठीले भने, ‘अब तत्कालै नवलपुरको आदेशविरुद्ध पनि प्रतिवादी उच्च अदालत गएर निवेदन दिए भने त्यतिबेला चाहिँ निवेदनलाई एकै स्थान (लगाउ)मा राखेर सुनुवाई गर्न सकिनेछ । तर, तनहुँबाट कैफियत प्रतिवेदन माग गरिसकिएको अवस्थामा सुनुवाई चाँडो तनहुँकै हुन्छ । तर तनहुँबाट कैफियत प्रतिवेदन आउन ढिला भएको र नवलपुरको आदेशविरुद्ध पनि निवेदक उच्च अदालत गएमा भने सँगै सुनुवाई हुन सक्नेछ । तर, आदेश भने फरक फरक नै आउन सक्नेछ । एकैपटक सुनुवाई भए पनि दुई फरक जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेमा फरकफरक नै आदेश आउने सम्भावना हुनेछ ।’

थुनामुक्त भएर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका पल शाहको मुद्दाको पेसी बिहीबार उच्च अदालत पोखराको पेसी सूचीमा चढेको थियो । तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भई बिहीबार कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र उज्ज्वल शुक्लको संयुक्त इजलासमा परेको थियो । तर शाहका कानुन व्यवसायी र सरकारी पक्ष दुवैले बिहीबारको पेसी स्थगित गराएका छन् । बिहीबार स्थगित भएपछि सम्भवतः अर्को साता यो निवेदनको पेसी चढ्नेछ ।

त्यतिबेलासम्म शाहका तर्फबाट पोखरा उच्च अदालतमा नवलपुरको आदेशविरुद्ध पनि निवेदन दिने सम्भावना रहेको छ । त्यसपछि भने दुवै निवेदनलाई सँगै राखेर सुनुवाई हुने सम्भावना रहेको विज्ञहरु बताउँछन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप