बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

ओली सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक केही गरेन : नेता पौडेल

बिहीबार, २४ चैत २०७८, १८ : ३७
बिहीबार, २४ चैत २०७८

नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन्।   

स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका हुन्। 

कम्युनिस्ट पार्टीका कार्यकर्ता पाल्नका निम्ति राज्यको कोष दोहन गरिएको आरोप लगाउँदै पौडेलले ओलीको शासनकालमा टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत जथाभावी पैसा खर्च गर्नबाहेकको काम नभएको जिकिर गरे। 

‘ओली कालमा भएको यो दुईवटा काम मात्रै हो। टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमा जथाभावी पैसा खर्च गर्ने,’ उनले भने, ‘उहाँले अरु कुनै नयाँ कुरा दिएर देश बनाउने गरी योजना ल्याउनुनै भएन।’ 

टावर मोडेलको विकास भ्रष्टाचार बढाउने माध्यम बनेको नेता पौडेलको भनाइ थियो। ‘नेपाल डाँडैडाँडाको देश हो। प्रकृतिले हामीलाई अलरेडी टावर दिएको छ,’ उनले भने, ‘त्यसमाथि ठड्याइएका ओलीका कृतिम टावरले भ्रष्टाचार बढायो। परनिर्भता बढायो। टावर मोडेलको विकास भ्रष्टाचार बढाउने एउटा माध्यम बन्यो।’

वडादेखि केन्द्रसम्म टावर बनाएर ओली सरकारको पालमा अनुत्पादक ठाउँमा लगानी गरिएको पौडेलले बताए। ‘टावर मोडल ठीक होइन, यसले भ्रष्टाचार बढायो। कार्यकर्ता पोस्न मात्र यसो गरिएको थियो,’ उनले भने।  
प्रधानमन्त्री स्वरोजगार कोषले नेपाली जनतालाई अल्छी बनाएको पौडेलले बताए। ‘स्वरोजगार कोषले जनता अल्छी बनायो। राज्यको अर्बौ रकम अनुत्पादक ठाउँमा खर्च भयो,’ उनले भने।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप