जग्गा दिने प्रलोभनमा गाउँलेलाई ५ सय रुपैयाँको रसिद
मोरङको विराटनगर ८ का किन्नु मुखिया दृष्टिविहीन छन् । उनको जग्गाजमिन छैन । उनकी श्रीमती तेतरी मुखिया हुने खानेहरूको घरघरमा पुगेर भाँडा सफा गर्ने काम गर्छिन् । केही दिन अगाडि उनको टोलमा सुकुम्बासीलाई जग्गा दिने भन्दै भेला भयो । त्यही भेलामा जग्गा पाउने हो भने ५ सय रुपैयाँ दिनुपर्ने भन्ने उर्दी आयो । उनले बेलुका चामल किनेर छोराछोरीलाई खाना खुवाउने योजनालाई स्थगित गर्दै ५ सय रुपैयाँ झिकेर दिइन् । तर, उनले जग्गा होइन पैसा दिएको एउटा सानो ‘सहयोग रसिद’ पाइन् ।
उनले मात्रै होइन विराटनगर ८ को हाटखोला जेल पछाडिको सुकुमबासी टोल बस्ती र अशोक चोकदेखि पूर्वपट्टि सुकुमबासी टोल बस्तीका धेरै सुकुम्बासीले यस्तै सहयोग रसिद बोकेर जग्गा पाउने आशामा बसेका छन् ।
‘जमिन दिन्छ रे भनेपछि ५ सय रुपैयाँ दिएँ,’ तेतरी मुखियाले भनिन्, ‘म अर्काको घरको भाँडा वर्तन माझ्छु, मेरा श्रीमान् आँखा देख्नुहुन्न ।’ सोही ठाउँकी कल्धरु राजवंशीले भनिन्, ‘सबैलाई जग्गा दिने भनिरहेको छ आउनु न भनेर मेरो बुहारीले बोलाइन् । मसँग नागरिकताको फोटोकपी र ५ सय रुपैयाँ माग्यो । मैले दिएँ, उनीहरुले रसिद दिएर गए ।’
सोही ठाउँकी बिमला सहनीले थपिन्, ‘मेरो गाउँमा थुप्रै जनाले पैसा दिएका छन्, ५÷५ सय रुपैयाँ पैसा लिएको छ ।’ यी प्रतिनिधि पात्र हुन् । विराटनगरमा एमाले निकटको सुकुमबासी संगठन नेपाल भूमिहीन सुकुमबासी संगठनको नाममा २ वर्षदेखि सुकुम्बासीको घरघरमा चन्दा संकलन अभियान नै चलेको फेला परेको छ ।
बुधबार विराटनगर ८ को वडा कार्यालयमा सर्वदलीय बैठक भयो । बैठकमा सुकुम्बासीलाई भूमि आयोगबाट जग्गा सरकारले वितरण गर्ने भनेपछि फारम भरेर भूमि आयोगमा बुझाउने कुरा भयो । वडा कार्यालयले पनि सबै सुकुम्बासीलाई खबर गर्यो ।
‘त्यसपछि थाहा भयो कि नेपाल भूमिहीन सुकुमबासी संगठनका विराटनगर संयोजक बुद्धिमान लिम्बूले त्यसअगाडि नै सुकुम्बासीको घरघरमा पुगेर पैसा लिँदै कार्ड दिँदै गरेका रहेछन्,’ स्थानीय मो.जहाँगिर सद्दाम हुसेनले बताए ।
विराटनगर ८ का वडाध्यक्ष निश्चल अर्यालले आफ्नो कार्यालयमा १ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म सुकुम्बासीबाट पैसा लिएर जग्गा दिने प्रलोभन दिएको रिपोर्ट आएको बताए । वडा सचिव मनोज मल्लिकले जग्गा दिन्छु भन्दै कार्ड वितरण गरेको पाइएको बताए ।
‘वडाका मानिसले हाम्रो जग्गा हुँदाहुँदै पनि जग्गा पाइन्छ भनेर कार्ड दिएको पाइएको छ,’ उनले भने, ‘यहाँ २ सय बढी मानिसहरु वडा कार्यालय घेर्न आएका थिए । जग्गा धनीलाई पनि जग्गा दिन्छु भन्दै ५ सय रुपैयाँ लिएको पाइएको छ ।’
सुकुमबासी संगठनका विराटनगर अध्यक्ष बुद्धिमान लिम्बूले पनि आफूले झण्डै १ हजार वटा रसिद वितरण गरिसकेको बताए । त्यसबाट लगभग ५ लाख रुपैयाँ रकम संकलन भएको स्वीकार पनि गरे । ‘जिल्लाका नेताहरुले भनेर सहयोग रकम उठाएको हुँ, उठेको पैसाबाट अधिवेशन गर्ने, संगठनको मिटिङ बैठक गर्न खर्च हुन्छ,’ उनले भने, ‘सुकुम्बासीलाई १ सय रुपैयाँभन्दा लिने संगठनकै निर्णय हो, ८ सयसम्म चन्दा लिएका छौं ।’
छलफलका लागि वडा कार्यालय बोलाएपछि पुगेका लिम्बूले आफूले सुकुम्बासीबाट चन्दा लिएर गल्ती गरेको भन्दै क्षमायाचना गरे । ‘मलाई पनि जिल्लाको नेताहरुले सहयोग रकम उठाउनु भनेर निर्देशन दिएपछि उठाएको हुँ, पहिलेदेखि हामीले बाँड्दै बाँड्दै गर्दा हामीले १ हजार भन्दा बढी बाँडियो होला,’ उनले भने, ‘विराटनगरको वडा नम्बर १४, १२ र ८ नम्बरका सुकुम्बासीलाई रसिद बाँडेको हो ।’
उक्त वडामा सुकुमबासी आयोगले आह्वान गरेअनुसार १ सय ८० जनाको हाराहारीमा सुकुम्बासीले फारम भरेको वडाअध्यक्ष अर्यालको भनाइ छ । उनले सुकुम्बासीलाई सरकारी सेवा सुविधा दिँदा पनि कुनै शुल्क नलिनु भन्ने रहेको बताए । ‘सुकुम्बासीलाई सेवा दिँदा सरकारी कार्यालयले कुनै शुल्क लिँदैन, तर यहाँ सुकुम्बासीकै संगठनको नाममा घरलौरी चन्दा उठाउनु गैरकानूनी हो,’ अर्यालले भने, ‘हामीले चन्दा उठाउने लिम्बूलाई सचेत गराएका छौं र उठाएको सबै पैसा फिर्ता दिन आग्रह गरेका छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ १ देखि सिन्धुपाल्चोकको सुकुटेमा बिच भलिबल प्रतियोगिता हुने
-
बक्स अफिसमा भूल भुलैयाभन्दा बढी कमाउँदै छ यो फिल्म
-
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल
-
युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका, रुसका लागि खतरा !
-
कारको दाह संस्कार भन्दै जसले गरे ६ लाख खर्च
-
सुवेदी, कक्षपति र शर्मालाई त्रिमूर्ति पुरस्कार