बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्वरोजगार श्रमिकद्वारा आन्दोलनमा उत्रने चेतावनी

बिहीबार, २४ चैत २०७८, १६ : ५८
बिहीबार, २४ चैत २०७८

नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनले काठमाडौं महानगरपालिकाले ठेकेदार माधवप्रसाद काफ्ले सँगको मिलेमतोमा सहरी सेवा केन्द्र रत्नपार्कमा रहेका स्वरोजगार श्रमिकहरूमाथि ज्यादती गरेको आरोप लगाएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले महानगरको आतंक बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  गत कार्तिक ११ गते काठमाडौं महानगरपालिकाले दिएको पसल बन्द गर्ने निर्देशनलाई व्यापारीहरुले पालना गरेर वार्तापछि २ वर्ष म्याद थप्ने कुरा भएपनि चैत २१ गते व्यापारीहरूलाई कुनै जानकारी नै नदिईकन ९ वटा सटर भत्काइनु र ४ वटामा तालाबन्दी गर्नु खेदजनक कार्य भएको संगठनको भनाई  छ । 

कार्यक्रममा बोल्दै संगठनका अध्यक्ष कुमार सापकोटाले आफैले रोजगारी सिर्जना गरेर सटर तथा सडक व्यापार गरेका श्रमिकहरुलाई राज्यले पटक–पटक धरपकड गर्न खोज्नु दुःखद् रहेको बताए । साथै, उनले सरकारले श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने बताए । 

राष्ट्रिय स्वरोजगार व्यवसायी संघका केन्द्रीय अध्यक्ष लीलाबहादुर दाहालले गरिवी उन्मूलन गर्छु भन्ने सरकारले आफ्नो व्यापार तथा व्यवसाय गरेर बसेका व्यवसायीमाथि अवरोध सिर्जना गर्नु आपत्तिजनक विषय भएको बताए ।  एकीकृत ट्रेड युनियन महासंघ नेपालका सचिव प्रेमबहादुर कार्कीले सडकमा बसेर व्यापार गर्ने कसैको रहर नभएको भन्दै राज्यले कानून बनाएर सडक व्यापारीहरूलाई व्यवस्थापन गर्नुपर्ने धारणा राखे । 

उनले काठमाडौं महानगरपालिकाले ठेकेदारसँगको मिलेमतोमा स्वरोजगार श्रमिकमाथि आतंक मच्चाएको भन्दै महानगरको यस कार्यप्रति महासंघको ध्यानाकर्षण भएको बताए ।  राज्यले श्रमिकहरुलाई तर्साउने कार्य जारी राखे महासंघ मूकदर्शक भएर नबस्ने बरु सशक्त संघर्षमा उत्रिने पनि उनले चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप