सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

यसो गर्न सक्छ काठमाडौँको मेयरले

बिहीबार, २४ चैत २०७८, १४ : ५८
बिहीबार, २४ चैत २०७८

स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा हामी आइपुगेका छौँ । नयाँ संविधानअनुसार पहिलोपटक निर्वाचित स्थानीय तहको कार्यकाल पूरा हुँदैछ । यो क्षणमा हामीले सम्पन्न हुँदै गरेको कार्यकालको निर्मम समीक्षा गरेनौँ, यसअघि आफैँले गरेको निर्णय उपर चिन्तन गरेनौँ भने आफैंमाथि अन्याय हुनेछ ।

हाम्रो संविधानले स्थानीय तहलाई महत्त्वपूर्ण सरकारको रूपमा परिभाषित छ । यसलाई सरकार मात्रै होइन, न्यायिक र व्यवस्थापकीय अधिकार पनि उपलब्ध छ । आफ्नै स्रोत, साधन र शक्ति छ । सङ्घीय राजस्वको हिस्सा पाउनुको साथै आफैँले कैयौँ स्रोत उत्खनन् गरी राजस्व सङ्कलन अधिकार छ । त्यो राजस्वको परिचालन गर्ने र लगानी गर्ने अधिकार पनि संविधानले दिएको छ ।

लामो आन्दोलन र सङ्घर्षबाट हामीले महत्त्वपूर्ण अधिकार र उपहार हो स्थानीय तह । हामी सबैलाई थाहा छ नयाँ संविधानले गरेको व्यवस्था बमोजिमका सरकारमध्ये हाम्रो आफ्नो सरकार भनेकै यही हो । नयाँ संविधान बमोजिम गरिएको अर्को व्यवस्था भनेको प्रदेश सरकार हो । बिहानीले दिनको सङ्केत गरेझैँ प्रदेश सरकारको बिहानीले त्यसको दिन त्यति उत्साहजनक छैनन् भन्ने सङ्केत पनि मिलिसकेको छ । जहाँसम्म कुरा नचपाएर प्रष्ट भन्ने हो भने नयाँ संविधानले हामीलाई दिएको सबैभन्दा गतिलो उपहार भनेकै स्थानीय तहको सरकार हो ।

जीवनदेखि मृत्युसम्म, शिक्षादेखि स्वास्थ्यसम्म जनताको सबै महत्त्वपूर्ण काममा सहकार्य गर्नेगरी तय भएको स्थानीय तहहरूले आफ्नो पहिलो कार्यकालमा साँच्चिकै परिकल्पना गरिए बमोजिम जनतालाई राहत दिएकी दिएनन् ? जीवनदेखि मृत्युसम्मका हर साह्रोगाह्रोमा स्थानीय तहको सरकारले जनतालाई साथ दियो कि दिएन ? तपाईं हाम्रा सुखदुःखमा यो सरकार सारथि बनेर उभियो या फेरि पनि शासकझैँ बनेर रजाइँ गर्न खोज्यो ? जीवनलाई उज्यालो दिने शिक्षा, दैनिक पिउने पानी, हाम्रो सहरको सरसफाइ मात्रै होइन यातायात र स्वास्थ्य समस्याका बारेमा गएको स्थानीय सरकार हाम्रो सामुन्ने कति खरो उत्रियो ।

उल्लेखित विषयको उचित लेखाजोखा आज गरिएन भने फेरि अर्को एक पटक गल्ती दोहो¥याएर आगामी पाँच वर्ष पछुताउनुबाहेक अर्को के हुन सक्छ । कार्यकाल सकिनै लागेको स्थानीय सरकारको समीक्षा गर्नु भनेकै अर्को पटक गल्ती नदोहो¥याउने प्रतिबद्धता गर्नु हो ।

हामीले उपभोग गरिरहेको राजनीतिक व्यवस्थाले हामीलाई दिएको अधिकार भनेकै यही निर्वाचन त हो । जुनबेला हामीले बिना सङ्कोच निर्णय लिन सक्छौँ । राम्रो नराम्रो छुट्याउन सक्छौँ । राम्रो गर्नेलाई राजकाज र गल्ती गर्नेलाई सजाय दिन सक्छौँ । हामी जनतालाई प्राप्त भएको यो परीक्षाको घडीमा हामीले आवश्यक तयारी गरेनौँ भने आगामी हर दिन कुशासनको सामना गर्नुपर्नेछ । त्यही भएर आवश्यक तयारी गर्ने, विगतको समीक्षा गर्ने र आफूलाई चिन्तनसहित तयार गर्ने बेला हो यो ।

अन्य क्षेत्रको स्थानीय तहका भन्दा राजधानी काठमाडौँका मतदाताले अझ धेरै गृहकार्य गर्नुपर्ने छ । यो देश कस्तो छ भन्ने सन्देश एउटै काठमाडौँ महानगरपालिकाले दिन सक्छ । देशको राजधानी र सबैभन्दा बढी जनसङ्ख्या भएको सहर भएकाले मात्रै होइन आजसम्म संसारलाई प्रवेश दिने एउटा मात्रै मूल ढोका भएका कारण पनि यहाँका जनताले अझ धेरै होमवर्क गर्न आवश्यक छ । विगतको समीक्षा र आगामी निर्णयको गम्भीर तयारी गर्न आह्वान गरिसकेपछि अब विषयतर्फ पाठकहरूको ध्यान केन्द्रित गर्दछु । खासमा विगतको गम्भीर समीक्षासहित जनताले व्यापक होमवर्क गरेर लिएको निर्णयबाट उदाउने नयाँ मेयरले के गर्न सक्छ त ?

आजसम्म काठमाडाँै व्यवस्थित बन्न नसक्नुमा धेरै राजनीति र कम व्यवस्थापनका कारणले हो । काठमाडौँको मेयर धेरै ठूलो राजनीतिज्ञ होइन कुशल व्यवस्थापक चाहिएको छ । राजनीतिका लम्बेतान विचार, सिद्धान्त र भावनामा जनतालाई लट्पट्याएर परिणाम शून्य होइन बरु सिद्धान्त र विचारका ठेलीलाई सिरानी हालेर व्यवहारमा खरो उत्रिने मेयर हामीलाई चाहिएको हो ।

पूरा नहुने ठूलठूला वाचा कसम होइन पूरा गर्न सकिने साना साना काम गरेर जनताको विश्वासमा खरो उत्रिने एउटा कुशल व्यवस्थापक काठमाडौँको आजको आवश्यकता हो । यस्तो कुशल व्यवस्थापकले मात्रै सहरवासी र यहाँ आउने पाउनाको अनुहारमा मुस्कान ल्याउन सक्ने मेरो स्पस्ट बुझाइ रहेको छ ।

काठमाडौँका जनतालाई राम्रैसँग थाहा छ यहाँका सीमितता र बाध्यता । आजको भोलि नै विकासको मूल फुटाउन पनि सकिँदैन । काठमाडौँमा बसेर पेरिस र न्युयोर्कको जस्तो सुविधा भोलि नै कसैले उपलब्ध गराउन सक्दैन । यसअघि मेयरका उम्मेदवारहरूले गरेका वाचा कसमहरूलाई पनि हामीले सुन्यौँ पढ्यौँ र अनुभव पनि ग¥यौँ । पहिले हामीलाई  मेट्रो रेल चढाउँछौँ भनिएको थियो । त्यस्ता धेरै वाचा पूरा गरेनन् । मेयरका उम्मेदवारको प्रतिबद्धता पत्र कागजमा सीमित भए । त्यस्ता पूरा नहुने वाचा कसम होइन बरु दैनिक भोगिरहेका ससाना कुरामा परिवर्तन जनताले खोजिरहेका छन् । ती सम्भव पनि छन् । त्यसैले कम्तीमा काठमाडौँको मेयरले चाहँदा सहजै गर्न सक्ने काम छन् ।

हर नगरबासीले बिहान घरबाट निस्कनुपूर्व नै घरबाट निकालिएको फोहोर उठाएर महानगरपालिकाको गाडीले व्यवस्थित तरिकाले उठाएर लगोस् भन्ने चाहन्छन् । घरबाट बाहिर निसक्ने बित्तिकै सडकभरी फ्याँकिएका प्लास्टिकका पोकाभित्र यत्रतत्र देखिने दुर्गन्धित फोहोर देख्नु नपरोस् । सहरभित्रका हुनेखानेका घरबाट निस्किएको फोहोर हुँदा खानेको घर र चौकमा डम्पिङ नगरियोस् ।

घरबाट गन्तव्यमा जाँदै गर्दा तोकिएको स्थानमा सफा र व्यवस्थित सार्वजनिक बस पाइयोस् । अनि त्यो बसमा चढ्न र ओर्लिन कुनै सास्ती बेहोर्नु नपरोस् । बसहरू तोकिएको ठाउँमा रोकिऊन् । सिटभन्दा धेरै मानिस नखादून् । महानगरबासीले यही चाहना मात्र राखिरहेका छन् । मेयरले जाँगर चलाउँदा सस्तोमा पाइने जति पटक चढे पनि हुने महिनावारी टिकटवाला बस सञ्चालन गरी महनागरवासीलाई उपहार दिन सक्छ ।

पयर्टन हाम्रो समृद्धिको मुख्य आधार हो । त्यसमा पनि काठमाडौँ महानगरपालिका धेरै पयर्टकलाई स्वागत गर्ने सहर हो । त्यसो भएका कारण महनागरपालिकाले नगरवासी मात्रै होइन पयर्टकलाई समेत मध्यनजर गरेर हप अन अप अफ भनेर लेखिएको पयर्टक केन्द्रित बस सञ्चालन गर्न सकिन्छ । ती बस खासरी पयर्टकको घुइँचो हुने मुख्य ठाउँ एअरपोर्ट, बसपार्क र पयर्टकीय स्थलमा पु¥याउन सकिनेछ । ठाउँठाउँमा सफा सुग्घर सार्वजनिक शौचालय र रातविरात सुरक्षित तवरले सहरमा हिँड्न सकिने वातावरण बनाउन यो सहरको आधारभूत आवश्यकता हो र सजिलै सम्भव पनि बनाउन सकिन्छ ।

फुटपाथमा व्यापारीको अतिक्रमण होइन पैदलयात्रीहरूले हिँड्न पाऊन् । सहरभित्र भइरहेको दिन दोगुना रात चौगुनाका दरको निर्माणकार्य मापदण्ड बमोजिमको नक्सा पास गरेर बनिरहेको छ कि छैन त्यसको अनुगनम गर्ने बित्तिकै आज कसैले नसोचेको राजस्व सङ्कलन हुने निश्चित छ । सोही माध्यमद्वारा माथि आमनगरवासीले देखेका सामान्य सपना सजिलै पूरा गर्न सकिनेछन् ।

काठमाडौँवासीले पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी भोगिरहेको समस्या हो फोहोर । यसको उचित व्यवस्थापन होस् । खासमा यो सामग्री लेख्दै गर्दा पनि मेरो झ्यालबाट कैयौँ दिनदेखि सडकमा थुप्रिएको फोहोरको डङ्गुर प्रत्यक्ष आँखाले देखिरहेको छ । अझ उही मेयर पाँच वर्षभरि केके न गरे भन्दै आफ्ना केन्द्रीय अध्यक्षलाई फेरि उम्मेदावर बनाउन लबिङ गरिरहेका छन् ।

समस्या सामान्य छ । प्रत्येक घरमा कुहिने र नकुहिने फोहोर राख्न सक्ने दुई अलग अलग बकेटहरू महानगरले व्यवस्थापन गर्न सक्थ्यो । बिहान घरका मानिसहरू बाहिर निस्कनुअघि नै महनगरकै दुई अलग अलग गाडीले घरबाट फोहोर लगिसकेको हुनुपर्ने हो । यति ठूलो महानगरपालिकाबाट उत्पादन हुने दुवै प्रकारका फोहोरलाई पुर्न प्रयोगको विधिमार्फत मोहोर छाप्न सक्नुपर्ने थियो । नगरवासीलाई भोलिदेखि नै समाधान गर्न सकिने यही समस्याको निराकारण चाहिएको हो । जुन एउटा कुशल व्यवस्थापक मेयर महानगरले पाएको भोलिपल्टैबाट पूरा गर्न सकिनेछ ।

यस्तै महानगरवासीले खोजेको अर्को समाधान भनेको यातायातको समस्याको हो । यातयातको अत्यधिक समस्याको सामना गरिरहेका छन् । भनेको बेला बस चढ्न नपाउनु मात्रै होइन पाइहाले पनि गुन्द्रुक जस्तै कोचिनुपर्ने अवस्था रहेको छ । बसवालाहरूलाई मन लाग्दा जहाँबाट पनि यात्रु टिप्ने मात्रै होइन मन लागेको ठाउँमा छोड्ने गरेर ट्राफिक नियमको धज्जी उडाइरहेका छन् । त्यसैले बिगिँ्रदो यो समस्यालाई समाधान गर्न सकिन्छ । यसका लागि कम्तीमा तोकिएको ठाउँमा यात्रु राख्ने र ओराल्ने तत्काल गर्न सकिन्छ । यसका लागि इच्छाशक्ति मात्र चाहिन्छ ।

यातायात व्यवस्थित गर्न महानगरपालिकाले आफैँ सार्वजनिक यातायात सञ्चालन गर्न सक्छ । यसले विश्वका अन्य विकसित देशका सहरहरूमा भएझैँ सस्तोमा टिकट किनेर महिनाभर चाहेजति बस चढ्न पाउँछन् । अग्ला अग्ला यस्ता बसहरू प्रशस्त भइदिए आम जनतालाई राहात हुनका साथै सहरको बढ्दो ट्राफिक समस्या समाधान गर्न सहज हुन्छ । काठमाडौँका जनताले चुनावको पूर्वसन्ध्यामा यी विषयमा आवश्यक होमवर्क गरून् ।

हामीले भोगिरहेको अर्को ज्वलन्त समस्या भनेको सहरभित्रको सार्वजनिक शौचालयको व्यवस्थापनको हो । हेर्दा समान्य लागे पनि यो समस्याले सहरलाई विरुप बनाइरहेको छ । काठमाडौँ महनगरपालिकाले चहाँदा एक महिनामा यो काम गर्न सक्छ । यति सामान्य काममा पिठयुँ फर्काएर हाम्रा मेयर जनतालाई कागजमा मेट्रो रेलको सपना देखाएर पाँच वर्ष खेरफाले ।  सडकपेटीमा व्यवसाय गर्ने निम्न वर्गीय मानिसलाई अर्को उपयुक्त वैकल्पिक व्यवस्था गरी फुटपाथ सम्पूर्ण रूपमा पैदलयात्रीका लागि प्रयोग गर्ने बनाउन आवश्यक छ । यसले सहरको सुन्दरतामा सहयोग गर्नुका साथै आम मानिसलाई सुरक्षित हिँडडुलको वातावरण बनाउन सक्छ ।

उल्लेखित गरिएका विषय बजेटको अभावले असम्भव भएका होइनन् । यसका लागि धेरै बजेटको आवश्यकता पनि पर्दैन । यो असम्भव भएको त महानगरवासीले विगतको निर्वाचनमा आवश्यक होमवर्क नगर्नुको परिणाम हो । व्यवस्थित सहरीकरणका लागि चाहिने स्रोत आज जति छन् त्योभन्दा कैयौँ गुणा बढी यहीभित्रबाट जुटाउन सकिन्छ । सहरभित्र भइरहेको निर्माणलाई एउटा मापदण्ड बनाउई त्यसलाई कडाइका साथ पालना गर्ने हो । नक्सा पासको मापदण्ड नभए बनाउने र भए सोअनुसारको पालना भए नभएको कडाइका साथ निगरानी गर्ने काम गर्नेबित्तिकै आजको दिनमा राजस्वको दायराभित्र नआएको धेरै ठूलो विषय राजस्वको दायरमा आउन सक्छ । यसले निर्माण व्यवस्थित मात्रै बन्ने होइन सिङ्गो सहरको विकास गर्नका लागि निकै ठूलो राजस्व हामीलाई उपलब्ध हुनेछ । हाम्रो सहर काठमाडौँ खाली सहर मात्रै पनि होइन । यो त हाम्रो प्राचीन सभ्यता एउटा खुला म्युजियम हो । यसको सौन्दर्यताका लागि हामीले हामीसँग नदीनालाहरूको उचित सरसफाइ गर्दै मठमन्दिरको पुनर्निर्माण गर्नुपर्छ । त्यति मात्रै होइन नदीमा मिसिएको ढल व्यवस्थापनका लागि पहल गर्दै आज ढल बगिरहेको नदीहरूमा कञ्चन पानी बगाउँदै नदीको दुवैतिर हरियालीसहितको सुन्दर सहर निर्माण गर्न सकिन्छ ।

नयाँ त्यस्तो कुनै सिर्जना गर्नुपर्दैन । हाम्रा परम्परा जात्रा र गुठीहरूको उपयुक्त व्यवस्थापन गरिदिए मात्रै पनि पुग्छ । हामीले संसारलाई बेच्न सक्ने यानी देखाउन सक्ने भनेकै हाम्रो संस्कृति हो । त्यसै पनि काठमाडौँ उपत्यका सांस्कृतिक हिसावले धनी सहर हो । यहाँका रैथाने जात्रा यहीकै गुठीहरूलाई बलियो बनाउँदै संरक्षण र प्रवद्र्धन गर्न सक्छौँ । जात्रा संरक्षण मात्रै होइन युगौँ युगौँसम्म यी जात्रा चलाउन पनि हामी तत्कालै उययुक्त कदम चाल्न सक्छौँ ।

राजधानी काठमाडौँको पेटीलाई सौन्दर्यकरण गर्दै यो सहर अपाङ्गमैत्री बनउनु पर्नेछ । जुन कुरा त्यस्तो असम्भव पनि होइन । खाली संयोजन र सक्रियताले मात्रै पनि माथि उल्लेख गरिएकालाई समाधान गर्न सकिन्छ । काठमाडौँ खुल्ला म्युजियम हो । यहाँको संस्कृति जात्रा र नाचलाई समयसँगै व्यवस्थित गर्ने र आगामी पुस्ताले पनि सहजै संलग्नता जनाउने प्रकारले नयाँ योजनाहरू अघि ल्याउनुपर्यो । जुन कुरा काठमाडौँको मेयरले नगरी नहुने विषय हो । यहाँको ह्यान्डिक्राफ्टलाई सधैँ बचाइराख्नका लागि महनगरले ती कलाकारसित हातेमालोको प्याकेज ल्यउन आवश्यक छ । उनीहरूका सिर्जनालाई संसारभर प्रचार प्रसार गरिदिन आवश्यक छ । साथै स्थानीय जनता र वाड प्रतिनिधिसँग हातेमालो गर्दै ठाउँठाउँमा पार्क बनाउने सहरभरि खुला व्ययामशाला निर्माण गर्ने, सहरलाई सफा सुग्घर बनाउन कम्मर कसेर लाग्न सकिन्छ । यसका लागि सकारात्मक सोच र ऊर्जासहितको मेयर हुने हो भने यो सबै सम्भव छ ।

सहरको सबैभन्दा जल्दोबल्दो समस्या भनेको ढलको हो । त्यसका लागि महानगर एक्लैले पनि सम्भव नहुन सक्छ । महानगरलाई प्राप्त भएको सबैभन्दा महत्त्वपूर्ण अवसर भनेको केन्द्र सरकारको अधिकार हो । राजधानी काठमाडौँलाई राम्रो बनाउने दायित्व सिङ्गो केन्द्रीय सरकारको पनि हो । ढल, सडक र खानेपानी जस्ता समस्या समाधानका लागि महानगरको मेयरले कन्द्रीय सरकारसँग उत्साहजनक सहकार्य गर्न सक्छ । त्यो उत्साह र सोचसहितको मेयरले पहलकदमी लिने हो भने कन्द्रीय सरकार पनि खुसीसाथ राजधानी काठमाडाँैलाई व्यवस्थीत बनाउन सहकार्य गर्न तयार हुनेछ ।

महानगरपालिका आँफैले मेट्रो सिटी अस्पताल सञ्चालन गरी आफ्ना नागरिकलाई सहुलियत दिन सक्छ । अन्यको हकमा पनि न्यूनतम सुल्कसहित व्यवस्थापन गर्न सक्छ । त्यसका अलावा आजभोलि हचुवाका भरमा बाँडिएको वृद्धभत्तालाई निरुत्साहित गर्दै त्यो उमेर समूहलाई स्वास्थ्य उपचार पो निःशुल्क गरिदिने हो कि ? यहाँको ज्ञान सीप व्यवस्थापन गर्दै स्वरोजगारीको सिर्जना गर्न सकिन्छ भने शिक्षालाई पनि समयानुकूल व्यवस्थित गर्न सकिन्छ । यसको दायित्व पनि वर्तमान संविधानले स्थानीय तहलाई दिएको छ ।

यी कार्य गर्न आर्थिक स्रोत र मानव स्रोतको आवश्यकता पर्छ । त्यसलाई सबैभन्दा पहिले पहिचान गर्न सक्नुपर्छ । त्यसलाई राजस्वको दायरामा ल्याउनु पर्छ । साथै राजस्व चुहावट रोके मात्रै पनि चालिस प्रतिशत काममा सुधार ल्याउन सकिन्छ । महानगरपालिकासँग भएका विभाग, महाशाखा र शाखालाई तल्लीन भएर काम गर्ने बनाउनुपर्यो । मानव स्रोत कम भए थप्ने र बढी भए काटछाँट गर्नेवित्तिकै महानगरको आजको कामको रफ्तार त्यसै बढिहाल्नेछ । यो सहरले धेरै राम्रो व्यवस्थापन पाउने योग्यता राख्छ । नगरवासीले आफू बाँचिरहेको सहरबारे सूचनाको पारदर्शितासमेत नियालिरहेका हुने हुनाले सूचना लुकाउनुभन्दा डिजिटल प्रविधिको सहारा लिई सहज उपलब्धताको प्रत्याभूति गराउन असम्भव भने छैन ।

महानगरका १४ विभाग, ३१ महाशाखा, ५५ शाखाको उद्देश्यबमोजिमका अधिकार, कर्तव्य र साङ्गठनिक आन्तरिक निरीक्षण चुस्त बनाउँदा निक्लने परिणामले कायापलट हुने विश्वास गर्न सकिन्छ । ठूला ठूला सपनाका महल र मिथ्या प्रचारको पछाडि दौँडिदा हाम्रा दशकौँ समय खेर गए । त्यसैले पूरा नहुने सपनाका महलले जनतालाई थिच्नुभन्दा पूरा हुनेमाथि उल्लेख गरिएका ससाना कामहरूले नै सिङ्गो महानगरवासीमा उत्साहको नयाँ सञ्चार गर्न सक्छ । विगत पाँच वर्षको कामनपाको बजेट ३.६६ अर्ब बाट सुरु भई १८.९० अर्ब पुग्दा स्थानीय सरकार बलियो हुँदै गएको देखिन्छ तर त्यसको लाभ नगरवाशीले महसुस हुने गरी पाएको देखिँदैन । विगत पाँच वर्षमा झण्डै ६० अर्ब बजेटको व्यवस्थापनबाट प्राप्त विकासले ल्याएको सहजताले खर्च भएको रकमसँग तालमेल नराखेपछिको उकुसमुकुसले ल्याउने परिवर्तन यस आसन्न चुनावमा उल्लेखनीय रूपमा अतरित हुन्छ भन्नेमा अधिकांश नगरवाशी विश्वस्त छन् ।

तसर्थ यसैपालि घरदैलोमा आएको निर्वाचनका लागि मतदानस्थल जानुपूर्व व्यापक गृहकार्य गरौँ, आफू सोचौँ । परिवार, टोल समाजलाई यस पटक सोच्नका लागि भनौँ । पार्टी, समुदाय र जात होइन जनताका सामान्य समस्या तत्काल समाधान गर्न सक्ने कुशल व्यवस्थापक र सकारात्म सोच सहितको एउटा ऊर्जाशील व्यक्तिलाई आगामी कार्यकालका लागि काठमाडौँ महनगरपालिकाको मेयरको कार्यभार सुम्पनु महनगरवासीको दायित्व हो । समयमै विचार पु¥यायौँ भने जनताले जित्नेछौँ । नत्र वितगको समीक्षा गरेनौँ र निर्वाचन अघि आवश्यक होमवर्क गरेनौँ भने काँग्रेसले जित्ला, एमालेले जित्ला र माओवादीले जित्ला तर जनताले भने फेरि पनि हार्नु नै पर्नेछ ।

 (थापा नेपाल स्वीस चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा गुणस्तर व्यवस्थापन प्रणाली परामर्शदाता हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील थापा
सुशील थापा
लेखकबाट थप