ad
x

चार वर्षमा रेनु दाहालले के गरिन् ?

person explore access_timeचैत २४, २०७८ chat_bubble_outline0

भरतपुर महानगरको प्रमुखका लागि पाँच वर्षअघि रेनु दाहालले टिकट पाएकी थिइन् । त्यसबेला ‘किन भरतपुरको भूगोल नबुझेको व्यक्तिलाई उठाउने ?’ भन्ने हामी धेरैलाई लागेकै हो । उनी दलबलसहित निर्वाचनमा होमिइन् । रिपोर्टिङको क्रममा उनको टिमसँग दैनिकजसो सम्पर्कमा म पनि रहन्थेँ ।


भरतपुरस्थित माओवादी पार्टी कार्यालयमा उम्मेदवारी घोषणा र प्रतिबद्धता सार्वजनिक गर्ने क्रममा उनले भनेकी थिइन्, ‘म भरतपुरको राजनीतिका लागि नयाँ भए पनि चितवनकै छोरी हुँ, अवसर दिनुस् पाँच वर्ष कुर्नुस्, बाटो थाहा नहुन सक्छ, डोर्याउनु होला तर चितवने माटोको सुगन्ध थाहा छ ।’ निर्वाचनमा उनी विजयी भइन् र चार वर्ष पनि बितिसकेको छ ।



भरतपुरको बाटो, चोक चौतारो, खोला, नालाबारे उनी जानकार छिन् । यो  चार वर्षमा भरतपुरको कुना कुना हिँडेकी छन् । प्रत्येक वडाका बासिन्दाको आँगनमा टेकेकी छन् । निम्तो आए जति सबै  कार्यक्रममा पुगेकी हुन्छिन् । जाने उनीहरूसँगै बस्ने गफगाफ गर्ने, जे छ त्यही समूहमै खाने र समस्याको पहिचान गरी तत्काल कार्यान्वयन गर्न उनी तत्पर छिन् । सबैलाई काम र आत्मविश्वासले रिझाउने प्रयासमा रहन्छिन् । 



जनताले ल्याएको विकासको काम किन हुनसक्दैन र किन नगर्ने भनेर उनी सधैँ सचेत हुन्छिन् । यस्ता प्रश्न उनले आफ्नो सचिवालय र सरकारी टिमलाई पनि ठाडै भन्दा कतिपय समयमा टिममा अप्ठ्यारो परेको देखेको छु । 




चितवनका एक पत्रकार भन्छन्, ‘विकास र सरकारी सम्पत्तिको कम अपचलनका लागि जनप्रतिनिधि महिला भएकै उत्तम देखियो ।’ उनले सो सन्दर्भमा भरतपुर, राप्ती र इच्छा कामनाको पनि उदाहरण दिएका थिए । त्यो प्रमाण हेर्न भरतपुर घुम्न आउनुहोला । अतः भरतपुरमा तथ्यगत रूपमा ४ वर्षमा के के काम भए हेरौँ । 



भरतपुरमा सुन्दर सहर, समृद्ध र सु–संसकृत महानगरको सोच अगाडि बढाउने कार्य उनको टिमले गर्यो । बीस वर्ष जनप्रतिनिधिविहीन अवस्थामा सडकदेखि अन्य भौतिक पूर्वाधारको विकास शून्यजस्तै थियो । यो चार वर्ष मुख्यगरी भौतिक पूर्वाधार विकास जनताको पहिलो रोजाइमा परेको देखियो । स्थानीयले आफ्नो अगाडि चिटिक्क परेको सडक, ढल, खानेपानीको व्यवस्था होस् भन्नु स्वाभाविक थियो ।



नेतृत्वले पनि सोही मागलाई सम्बोधन गरेको देखिन्छ । हुन त सामाजिक सञ्जालतिर बाटो बनाएर विकास हुन्छ र ? भनेर प्रश्न गरेको पनि देखिन्छ । तर सडकबिना तपाईं हामी सहज यात्रा गर्न सक्छौँ ? तसर्थ जनताको चाहना र स्थानीय आवश्यकता नै सडक पूर्वाधार थियो ।

२०७४ को स्थानीय निर्वाचनपछि भरतपुर महानगरपालिकाको नेतृत्वमा प्रदेश तथा सङ्घीय सरकारको स्रोत समन्वय, सहजीकरण अत्यधिक गरेको देखिन्छ । भरतपुरका जनताले अहिले भनिरहेको विषय पनि रेनु दाहालबाहेक अर्को व्यक्तिले प्रदेश र केन्द्रसँग यति सजिलै समन्वय र सहकार्य गरी बजेट ल्याउन सक्दैन थिए । विचारधाराले उनी माओवादी अध्यक्ष प्रचण्डकी छोरी भएको कारण विकासमा केन्द्रसँग समवन्य, सहजीकरण र पहुँचमा पक्कै लागेको हो । प्रचण्डले चितवनको एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए, ‘बाउ छोरी भेट्यो जहिले पनि भरतपुरको विकासको मात्रै गफ हुने । म पनि दङ्ग परेको छु ।’ त्यसैले मूल राजनीतिको मियोले चाह्यो भने गर्न सकिन्छ भन्ने उदाहरण हो भरतपुर । 

भरतपुरमा केही ठूला परियोजनाको भौतिक निमार्ण सुरु भएको छ । अन्य व्यक्ति हुँदा पनि नियमित बजेटबाट गर्ने काम त हुन्थे नै तर ठूला परियोजना र विकासमा ताकेता हुन सक्थेन भन्ने बुझाइ आम भरतपुरवासीको रहेको देखिन्छ । भरतपुरले उठाउने राजस्व एक अर्ब प्लस पुगेको छ ।

वार्षिक बजेट करिब ५ अर्बको छ तर भरतपुरमा अर्ब/अर्बका ठूला परियोजना प्रदेश र केन्द्र सरकारको समन्वयमा सुरु भएका छन् । रेणुबाहेक कसैले पनि यति सहजै केन्द्र र स्थानीय सरकारलाई जोड्न सक्दैनथ्यो । यो कार्यकालमा ६ सय किलोमिटरभन्दा बढी सडकमा कालोपत्रे र करिब त्यत्तिकै अनुपातमा सडकमा ग्राभेल भएको देखिन्छ ।

त्यस्तै महानगरीय चक्रपथ र ४०.५५ किमि र ५२ किमि लिङ्क रोडको कार्य निर्माणाधीन छ । त्यसैगरी पुलचोकदेखि गोन्द्राङसम्म १ अर्ब ९८ करोड ७३ लाखको लागतमा ढल तथा हरियालीसहितको ६ लेनको सडक तीव्र रूपमा निर्माण कार्य भइरहेको छ । बाइपासको ४ लेनमा ढलसहितको सडक निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ ।

 यहाँ एक दर्जनभन्दा बढी राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुने चरणमा छन् । यी परियोजना केन्द्र र प्रदेश सरकारसँगको समन्वयमा छन्  । यस अन्तर्गत ४ अर्ब ७२ करोडको नारायणी नदीमा तट बन्धन परियोजना सुरु भएको छ ।

पूर्वप्रधानमन्त्री एवं चितवन क्षेत्र नं ३ का सांसद पुष्पकमल दाहाल प्रचण्डद्वारा चैत १६ गते शिलान्यास भई काम अगाडि बढेको यस परियोजना सम्पन्न हुँदा पश्चिम चितवनका बासिन्दा वर्षातको समयमा ढुक्कसँग निदाउन पाउनेछन् । त्यसैगरी करिब ३ अर्ब, ५४ करोड लागतको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा महानगरले उच्च प्राथमिकता दिएको छ ।

जनसहभागितामा धान्याञ्चलमार्फत अर्थ सङ्कलन गरी धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा सुरुवात भएकोमा अब महानगरले नेतृत्व लिई निर्माण कार्य अगाडि बढाउनुपर्ने छ । अर्को महत्त्वपूर्ण गौरवको परियोजना सिटी हल हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन आयोजना गरिने यो सिटि हल कुल १ अर्ब ८५ करोडको लागतमा द्रुत गतिमा निर्माणाधीन छ ।

त्यस्तै सार्वजनिक– निजी साझेदारी मोडलमा नारायणगढको लायन्स चोकमा निर्माणाधीन भरतपुर मेट्रो प्लाजा भरतपुरकै हेर्न लायक बहुउद्देश्यीय परियोजना हो । महानगरले अत्याधुनिक प्रविधिमैत्री प्रशासनिक भवनको निर्माण समेत सुरु गरेको छ । यो परियोजनामा पनि केन्द्र र प्रदेश सरकारको सहयोग छ । महानगरको आफ्नो बजेट खर्च हुने छैन भनिएको छ । त्यस्तै १ अर्ब ३५ करोडको लागतमा  भएको अटोल्यान्ड निमार्णको प्रक्रिया अगाडि बढेको छ । अन्डर ग्राउन्ड विद्युतीकरण र स्मार्ट स्ट्रिट लाइटको योजना सुरु भएको छ ।

त्यस्तै देशभरका शिक्षक र उनका परिवारका सदस्यको उपचार गर्ने शिक्षक अस्पताल पश्चिम चितवनमा निर्माण सुरु हुँदैछ । आयुर्वेदिक अस्पताल पनि सोही क्षेत्रमा निमार्ण कार्य अगाडि बढेका परियोजना हुन् । 

महानगरपालिकाका २९ वटै वडामा खानेपानीका आयोजना अगाडि बढाइएको छ । शारदानगर, जखडीमाई, दिव्यनगर, पार्वतीपुर, मेघौली, धनगढा जस्ता खानेपानी परियोजनाले महानगरबासीको स्वच्छ खानेपानीमा पहुँच पुगेको छ भने विगत ४ वर्षमा ३ अर्बभन्दा बढी लागतका खानेपानी आयोजना अगाडि बढेका छन् । कैयौँ योजनामा अहिले पनि धमाधम काम भइरहेको छ । 

पर्यटन अर्थतन्त्रको मुख्य आधार हो भन्ने मान्यताका साथ भरतपुरले यस क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । भरतपुरको पर्यटन विकासका लागि नजिकका ठूला पर्यटकीय स्थल लुम्बिनी र पोखरा जोडिनुपर्छ भन्ने मान्यताका साथ ती क्षेत्रका पर्यटन विज्ञ र सरोकारवालासँग समन्वय गरेर कार्यक्रम सम्पन्न भएका छन् ।

महानगरभित्रका ३० गन्तव्यस्थलहरूको प्रवद्र्धन पहिलो चरणमा सुरु गरेको छ । नेपाल सरकारद्वारा १०० औँ गन्तव्यमा सूचीकृत बीस हजारी ताल, पटिहानी क्षेत्रका साथै सूर्यास्तको गजबको आनन्द लिन सकिने मेघौली, रापती र नारायणी किनारका पर्यटकीय स्थलहरू, रानीपोखरी, बाटुलिपोखरी, राइनोताल लगायतका विभिन्न पोखरी तथा तालहरू, धार्मिक पर्यटनको हब देवघाट एवं पहाडी भेगको रसास्वादन लागि २९ नम्बर वडाको चौकीडाँडा लगायतका क्षेत्रको प्रवद्र्धन र विकासका लागि भरतपुरले लगानी गरिरहेको छ । 

त्यसैगरी शिक्षा क्षेत्रमा करिब १३ प्रतिशत बजेट विनियोजन गरेको भरतपुर महानगरपालिकाले प्रतिफल पनि उल्लेखनीय प्राप्त गरेको छ । करिब १० हजार नयाँ विद्यार्थी सामुदायिक स्कुलमा भित्रिएका छन् । सामुदायिक स्कुलहरूलाई अनुदानमा बस प्रदान गरिएको छ ।

महिलासँग मेयर कार्यक्रमअन्तर्गत छात्राहरूलाई निःशुल्क साइकल वितरण गरिएको छ । यसका कारण छात्राहरू विद्यालय आउजाउ गर्न सुविधा भएको छ । सोही कार्यक्रममा महिलाहरूको क्षमता र दक्षता अभिवृद्धिका लागि सबै वडामा विभिन्न खालका सीपमूलक तालिमको व्यवस्था गरिएको छ । भरतपुरको कुल साक्षरता दर ९८.५ प्रतिशत रहेको छ ।

भरतपुर २३ मा बहुप्राविधिक शिक्षालय स्थापना गरिएको छ भने वडा नं १४ मा प्रहरी स्कुल सञ्चालनमा ल्याइएको छ । यसैगरी साहित्य, कला, संस्कृति उत्थानका लागि महानगर साहित्य दर्पण २०७८, प्रकाशन गरिएको छ भने भरतपुर प्रज्ञा–प्रतिष्ठान गठन भई कार्यसमेत प्रारम्भ भएको छ । 

त्यस्तै आर्थिक समृद्धिको प्रमुख आधार कृषि क्षेत्रलाई महानगरले बढी महत्त्व दिएको छ । कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्न ४ वर्षको अवधिमा ३ सय ५० वटा साना सिँचाइ र २१ वटा मझौला सिँचाइ सम्पन्न गरी ४ सय ५५ बिघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध गरिएको छ ।

कृषिको व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रीकरण, औद्योगीकरण र बजारीकरणमा महानगरले सहजीकरण र समन्वय गरेको छ । पशु बिमा प्रिमियममा १२.५ प्रतिशत अनुदान दिने काम भएको छ । भरतपुरका किसानलाई प्रतिलिटर दूधमा ३ रुपैयाँ अनुदान दिइएको छ । 

स्वास्थ्य क्षेत्र अर्को महत्वपूर्ण पाटो हो भरतपुरको । एक वडा एक स्वास्थ्य संस्था नीति लिएको महानगरमा हाल ४० वटा स्वास्थ्य संस्था स्थापना गरी सेवा प्रवाह गरिएको छ । तीमध्ये १३ वटा भवन निर्माण सम्पन्न भएका छन् । केन्द्रीय अस्पतालको मान्यता प्राप्त भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई निःशुल्क ओपिडी टिकट उपलब्ध गराउन अनुदान दिँदै आएको छ । कोभिड–१९ को समयमा सबैभन्दा पहिलो कोभिड अस्पताल पनि भरतपुरले सुरु गरेको थियो । 

सुकुम्बासीलाई लालपुर्जा र व्यवस्थापन

भरतपुरको अर्को महत्त्वपूर्ण काम लालपुर्जा वितरण पनि हो । दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई भरतपुर वडा नं २ र २९ नम्बर वडाबाट लालपुर्जा वितरण सुरु गरिएको छ । धेरै वडामा निस्सा वितरण गरिएको छ भने छिट्टै सबैलाई पुर्जा उपलब्ध गराउने छ । 

सञ्चार 
त्यस्तै स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धनका लागि लोककल्याणकरी विज्ञापनको नीति बनाई काम भइरहेको छ भने ज्येष्ठ पत्रकारहरूका लागि ज्येष्ठ पत्रकार सामाजिक सुरक्षा कोष स्थापना गरिएको छ; जसबाट ६० वर्ष उमेर पुगेका पत्रकारका लागि प्रत्येक महिना पेन्सन उपलब्ध गराउने कामको सुरुवात भएको छ । पत्रकार महासङ्घको भौतिक निमार्णका लागि पनि प्रत्येक वर्ष बजेट विनियोजन भएको देखिन्छ । 

विपद् व्यवस्थापन    
भरतपुर महानगरपालिकाले नगर प्रमुखको अध्यक्षतामा महानगर विपद् व्यवस्थापन समिति गठन गरेको छ भने २९ वटै वडामा वडा स्तरीय समिति गठन गरिएको छ । यसले आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना गरी विपद्जन्य जोखिमहरूको तत्काल सम्बोधन र व्यवस्थापन गर्न सक्ने गरी क्षमता वृद्धि गरेको छ । 

फोहोरमैला 

यो विषयमा महानगरले सबैभन्दा बढी आलोचना पनि खेप्ने गरेको छ । तर महानगरले दीर्घकालीन व्यवस्थापनका लागि कोरियन सरकारको सहयोगमा १ अर्ब २५ करोडको लागतमा वडा नं २ आँपटारी ल्यान्डफिल साइट निमार्ण गर्दैछ । यसलाई छिटो व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

घर भान्साबाट गल्ने फोहोरको व्यवस्थापनको लागि रिङकम्पोट बिन वितरण गरेको छ भने यसका लागि तालिम र प्रभावकारी अनुगमन गरिएको छ । यसैगरी हालको डम्पिङ क्षेत्रमा पुरेर हरियाली पार्क बनाउने कार्यमा महानगर अगाडि बढेको छ । भरतपुर महानगरपालिकाको विकासमा नागरिकको सहभागिता भन्ने नारालाई मूर्त रूप दिन विभिन्न टोल विकास संस्थालाई अझ बढी क्रियाशील र व्यवस्थित बनाउने काम भएको छ । 

सडक मानवमुक्त     
भरतपुरलाई नेपालकै पहिलो सहयोगापेक्षी सडक मानवरहित महानगर घोषणा कार्यक्रम सञ्चालन गरिएको छ । मानव सेवा आश्रमसँग साझेदारी गरी भौतिक पूर्वाधार निर्माणमा रु. १ करोड सहयोग गरिएको छ । पहिलो चरणमा मानव सेवा आश्रममा महिलाका लागि लक्ष्मीनारायण भवनको शिलान्यास गरी निर्माण अगाडि बढाइएको देखिन्छ ।

बेसाहारा र संरक्षण विहीन ज्येष्ठ नागरिकको सुरक्षाका लागि बालश्रम मुक्त महानगर बनाउने प्रयास अगाडि बढेको छ । लैङ्गिकमैत्री महानगर, द्वन्द्व पीडितहरुलाई राहत, अपाङ्गता परिचयपत्र वितरण, डिजिटल परिचयपत्र वितरण गर्ने कार्य भरतपुरको प्राथमिकता छन् । 

जग्गा संरक्षण
भरतपुर महानगरले ६६ बिगाहा १ कठ्ठा सार्वजनिक र पर्ती जग्गाहरू मातहतमा ल्याई संरक्षण गरेको छ । संरक्षित जग्गामा कतै महानगरले वडाका विभिन्न संरचना निमार्ण गरिरहेको छ भने धेरै तारबार गरी संरक्षित छन् । 

विपन्नका लागि घर 
जनता आवास कार्यक्रमअन्तर्गत विपन्न समुदायको लागि ८ सय वटा घर खरका छाना मुक्त बनाएको छ । यो कार्यक्रमले अति विपन्न, गरिब परिवारमा खुसियाली छाएको छ । वडा नं २५, १३, लगायतका स्थानमा स्थानीय अति विपन्न परिवारका लागि घर निमार्ण सम्पन्न भएका छन् ।  

न्याय सम्पादन 
उप मेयरको नेतृत्वको न्यायिक समितिले न्याय सम्पादन, मध्यस्थता क्षेत्रमा राम्रो उपलब्धि हासिल गरेको देखिन्छ । यस कार्यको स्व मूल्याङ्कन गर्दा शतप्रतिशत नतिजा ल्याउन सफल भरतपुर महानगरले आवश्यक पर्ने ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्डसमेत गरी १ सय १४ वटा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

प्रस्तुत काम केही उदाहरण मात्र हुन् । यसअघि भरतपुरको वार्षिक राजस्व आम्दानी ३५, ४० करोडको हाराहारी मात्रै थियो । अहिले १ अर्ब ५ करोड राजस्व सङ्कलन गरेको छ । भौतिक पूर्वाधार, न्याय सम्पादन, कार्यालयको आन्तरिक सुशासन आदिमा देशमै अब्बल नगरका रूपमा भरतपुरमा स्थापित भएको छ । 

निष्कर्ष 
भरतपुर विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज एवं रापती र नारायणी जस्ता विशाल नदीहरूले घेरिएको छ । देशको केन्द्रीय राजधानी काठमाडौँ, पर्यटकीय स्थल पोखरा, व्यापारिक केन्द्र वीरगञ्ज, सांस्कृतिक केन्द्र लुम्बिनीको बीचमा रहेको छ भरतपुर । चीन र भारत जोड्ने छोटो दूरी ठोरी–केरुङ मार्ग तथा पूर्व–पश्चिम राजमार्गको बीच रहेकाले आर्थिक केन्द्रको रूपमा समेत भरतपुरसँगै सिङ्गो चितवन स्थापित भएको छ ।

यति सुन्दर भरतपुरका लागि के यही विकास नै अन्तिम हो त ? अवश्य होइन । चार वर्षअघिसम्म विगत २० बीस वर्षको ग्याप थियो । विकासका काम शून्य जस्तै थिए  । जनप्रतिनिधि आउँदा जनतामा खुसियाली छाएकै हो । भरतपुरका जनताले सुरुमा जे चाहना राखेका छन् त्यही मोडलमा वर्तमान नेतृत्वले विकास गरेको देखिन्छ । यति हुँदाहुँदै पनि केही तत्कालै गर्नुपर्ने र छुटेका विषय पनि छन् ।

जस्तै भरतपुर, नारायणगढमा फ्लाई ओभर, तत्कालका लागि फोहोर व्यवस्थापन, बजारको उचित व्यवस्थापन, बढ्दो सवारी साधनको रुट व्यवस्थापन र चाप व्यवस्थापन आदि । अब यी निर्माणाधीन परियोजना सम्पन्न गर्न र नयाँ केही गर्न पनि यही नेतृत्वले निरन्तरता पायो भने पक्कै पनि मूर्त रूप लिने विश्वास लिन सकिन्छ । यिनै तथ्यले रेनु दाहाल नै अर्को पाँच वर्ष भरतपुरमा किन भन्ने प्रश्नको जबाफ दिन्छ ।

-लेखक एभिन्यूज टेलिभिजनका बागमती प्रदेश ब्युरो प्रमुख हुन् । 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।