श्रीलङ्काका राष्ट्रपतिद्वारा सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन
बिहीबार, २४ चैत २०७८, २२ : ०३
श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले देशको आर्थिक सङ्कट निवारणका लागि सल्लाहकार समूह गठन गरेका छन् । देशमा आर्थिक सङ्कट टार्न तत्काल गर्नुपर्ने र दीर्घकालका लागि गर्नुपर्ने काम तथा निर्णयका बारेमा सल्लाह लिन समूह गठन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सल्लाहकार समूहसँग उनले निरन्तर छलफल गर्दै सरकारी कदम अगाडि बढाउने अधिकारीहरुले जनाएका छन् । उनले गठन गरेको सल्लाहकार समूहमा श्रीलङ्काको केन्द्रीय बैंकका पूर्व गभर्नर इन्द्रजित कुमारास्वामी, विश्व बैंकका पूर्व प्रमुख अर्थशास्त्री शान्त देवराजन लगायतका अर्थविद्हरु रहेका छन् । सल्लाहकार समूहले विश्व मुद्रा कोषसँग पनि सहयोग र सहकार्यका लागि निरन्तर पहल गर्ने जिम्मेवारी पाएको छ । –सिन्ह्वा