शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

बिहीबार, २४ चैत २०७८, १२ : ५३
बिहीबार, २४ चैत २०७८

देशको विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर, चितवन, झापा, पर्सा र काभ्रेमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–१३ सोल्टि दोबाटोमा बा १७ च ४९०३ नम्बरको भ्यानले प्र ३ ०२–०२८ प ७५२१ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार चन्द्रागिरि नगरपालिका–२ बस्ने ३० वर्षीय किसोर सुबेदी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट पैदलयात्री दुई वर्षीय बालक आर्यन पुरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल इमाडोलमा उपचारको क्रममा मृत्यु भएको हो । 

चितवनको रत्ननगर नगरपालिका–१० स्थित सडकमा बागमती प्रदेश ०३–०२ प ३१४८ नम्बरको स्कुटर बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–५ झुवानी बस्ने ४० वर्षीय मलाहा महतो रहेका छन् । 

झापाको दमक नगरपालिका–१० जहदा टोलमा ट्रयाक्टर बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टरमा लेबर काम गर्ने सोही नगरपालिका–८ बस्ने २३ वर्षीय विकास ताजपुरिया रहेका छन् ।

पर्साको संखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियामा प्रदेश नं।२–०३–००१ त ४०९४ नम्बरको ट्रयाक्टरको टेलरबाट खसेर बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने धनिलाल यादवको ५ वर्षीय छोरा रितेश कुमार यादव रहेका छन् । 

काभ्रेको रोशी गाउँपालिका–९ चिउरीबासमा प्रदेश ३–०२–००१ प ३६४८ नम्बरको मोटरसाइकल बा ४ ख ५८०१ नम्बरको बसमा ठोक्किदा बुधबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक म्याग्दी बेनी नगरपालिका–२ बस्ने २४ वर्षीय सरोज कुवँर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप