महिला डाक्टरको प्रतिनिधित्व गर्दै डा भुसालले सगरमाथा आरोहण गर्ने
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत डा प्रिती भुसाल विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन् । आगामी हप्ताको मङ्गलबार सगरमाथातर्फ प्रस्थान गर्न लागेकी डा भुसाललाई बुधबार अस्पतालले एक कार्यक्रमको आयोजना गरी आरोहणको शुभकामना एवं बिदाइ गरेको छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको छ हजार ११९ मिटर अग्लो लोपुचे हिमालको सफल आरोहण गरेकी डा भुसाल गत वर्ष सगरमाथाको आधार शिविरसमेत पुगिसकेकी छन् ।
कार्यक्रममा डा भुसालले आफू सम्पूर्ण महिला डाक्टरको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण गर्न लागेको जानकारी दिइन् । यसअघि पुरुष डाक्टरले सगरमाथाको सफल आरोहण गरे पनि डा भुसाल महिला डाक्टरको प्रतिनिधित्व गर्दै पहिलोपटक सगरमाथा चढ्न लागेकी हुन् ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डी अस्पतालको प्रतिनिधित्व गर्दै सगरमाथा चढ्न लागेको भन्दै डा भुसाललाई सगरमाथा सफल आरोहणको शुभकामना व्यक्त गरे । डा भुसालले सगरमाथा आरोहण गर्न लागेकामा ग्राण्डी अस्पताल परिवार साह्रै खुशी भएको उनको भनाइ थियो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमृत खन्नाले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने कुरा चुनौतीपूर्ण रहेको भन्दै आफ्नो स्वास्थ्यको ख्याल राखी सगरमाथा आरोहण गर्न आग्रह गरे ।
कोरोना महामारीबाट ज्यान गुमाएका स्वास्थ्यकर्मीको सम्मान र जलवायु परिवर्तनका कारण स्वास्थ्यमा आउने नकारात्मक परिवर्तनसम्बन्धी सचेतना फैलाउने मुख्य उद्देश्यसहित डा भुसाल सगरमाथा आरोहणमा जान लागेकी हुन् ।अर्घाखाँची स्थायी घर भएकी डा भुसाल काठमाडौँको बाँसबारीमा बस्दै आएकी छन् । उनी हिमालयन सेफ्हर्ड इको टुरिजममार्फत सगरमाथा आरोहण गर्न लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय क्रिकेट टोलीको क्यानडा भ्रमण : पहिलो जितको खोजीमा रहेको नेपाल आज ओमानसँग भिड्दै
-
सबै विमानस्थल खुला, नियमित उडान सुरु
-
एभरेस्ट महिला भलिबल लिग खेल्न ग्रिसकी नासिया नेपालमा
-
बाढी पहिरोले पुर्याएको क्षतिप्रति पूर्व राजा शाहद्वारा दुःख व्यक्त
-
सुदूरपश्चिम प्रदेश : एउटै निर्वाचन क्षेत्रमा ७२ करोड रुपैयाँभन्दा बढीका योजना
-
हात्तीको आक्रमणबाट किसानको मृत्यु