शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेशले एमालेमा तरङ्ग, रद्द गर्न माग

बुधबार, २३ चैत २०७८, २१ : ३०
बुधबार, २३ चैत २०७८

बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताल अलग गर्न लागेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध सुरु गरेको छ । वर्तमान सरकारले अघिल्ला सरकारले ल्याएका योजनाहरू रोक्ने उद्देश्य अनुसार राजनीतिक प्रतिशोध राखेर स्वास्थ्य क्षेत्रमा पनि हस्तक्षेपकारी भूमिका सुरु गरेको भन्दै विरोध सुरु गरेको हो । 

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याएर हेटौँडा अस्पतालबाट प्रतिष्ठान अलग गराउने निर्णय गरेको थियो । उक्त निर्णय माथि आपत्ति जनाउँदै एमालेले विरोध सुरु गरेको छ । सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वायत्त संस्थाको रूपमा स्थापना गर्नका लागि आफ्नै अस्पतालको व्यवस्था गर्ने उद्देश्य अनुसार अध्यादेश ल्याइएको जनाएको छ । 

हेटौँडा अस्पतालमा चिकित्सा शिक्षाका अन्य विषयहरू अध्यापन गराउनको लागि पर्याप्त भौतिक संरचना र जनशक्ति नभएकाले प्रतिष्ठानबाट अलग गरिएको र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक कार्यक्रमलाई बाधा नपार्नको लागि तत्काल चितवनको भरतपुर अस्पतालमा पठनपाठनको व्यवस्था मिलाइएको सरकारको भनाइ छ । सरकारले प्रतिष्ठानको लागि छिट्टै नै जग्गा उपलब्ध गराएर आफ्नै भौतिक संरचनासहितको अस्पताल निर्माण गर्ने जनाएको छ । 

यता एमालेले भने उक्त कार्य राजनीतिक बेइमानी र मकवानपुरका आम जनताप्रतिको गम्भीर र अक्षम्य अपराध भएको भन्दै विरोध गरेको छ । परिवर्तनकारी र अति महत्त्वपूर्ण संस्थालाई पनि तहसनहस बनाउन वर्तमान सरकार र मकवानपुरको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरू नै लागिपरेको एमालेको आरोप छ ।

सरकार स्वास्थ्य क्षेत्र बेकम्मा बनाउन लागिपर्यो  : पूर्व मुख्यमन्त्री पौडेल 

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेटौँडा अस्पतालबाट अलग गर्ने निर्णय तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् । उनले बुधबार पत्रकार सम्मेलन गर्दै निर्णय तत्काल फिर्ता नभए आन्दोलनमा उत्रिने चेतावनीसमेत दिए ।  

उनले वर्तमान सरकारले राजनीतिक प्रतिशोध तथा व्यक्तिगत बदला भावबाट ग्रसित भएर प्रदेशका गौरवका रूपमा रहेका विभिन्न योजनाहरू धमाधम रोक्ने काम गरिरहेको बताए । 

पछिल्लो समयमा मकवानपुरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने लक्ष्यका साथ तत्कालीन एमाले नेतृत्वको सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कमजोर बनाउने र स्वास्थ्य क्षेत्र विगतको जस्तै बेकम्मा बनाउन लागिएको भन्दै आपत्ति व्यक्त गरे । उनले अस्पताललाई प्रतिष्ठानबाट अलग गराएर पुनः रिफर अस्पतालमा झार्न काम गरेको बताए । 

एमाले निकट जनवर्गीय सङ्गठनको विरोध र्याली 

सरकारले हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञानबाट अलग बनाएर पुरानै अवस्थामा फर्काउने गरी अध्यादेश ल्याउने निर्णयका विरुद्धमा हेटौँडामा विरोध प्रदर्शन भएको छ । अध्यादेशको ल्याएकोमा नेकपा एमाले निकट जनवर्गीय संगठनले हेटौँडामा विरोध गरेका छन् । 

प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजनीतिक प्रतिशोध साँध्नको लागि बागमती प्रदेश सरकारले शिक्षण अस्पतालको रूपमा विकास भइरहेको अस्पताललाई पुन पुरानै अवस्थामा ल्याउने गरी अध्यादेश ल्याउनु मकवानपुरे जनताको स्वास्थ्य माथिको खेलबाड भएको भन्दै एमालेका जनवर्गीय संगठनले विरोध गरेका हुन् । 

जनवर्गीय संगठनका नेताहरूले हात तथा टाउकोमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले बागमती प्रदेश सरकारले जनविरोधी काम गरेको भन्दै अध्यादेश फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् 

निर्णय बदर गर्न हेटौंडाका मेयर महतको माग

हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग गर्न नहुने बताएका छन् । मेयर महतले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको यो निर्णय तत्काल बदर गर्न माग गरे । हेटौँडा उपमहानगरवासीको गौरवका रूपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताललाई बागमती प्रदेश सरकारले अलग गर्ने गरी अध्यादेश जारी गर्ने निर्णयले गम्भीर बनाएको बताए । 

प्रतिष्ठान र अस्पताललाई अलग गर्ने निर्णय नगरवासीलाई मान्य नहुने मेयर महतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानको आफ्नै अस्पताल निर्माण गर्नुपर्ने निर्णयले तत्काल अस्पताल पनि निर्माण भइहाल्ने अवस्था नरहेकाले उनले प्रतिष्ठानले चिकित्सा शिक्षा अध्यापन गराउनका लागि एक सय बेडको अस्पताल हुनुपर्ने प्रावधान राखेकाले तत्काल समस्या हुने बताए । मेयर महतले प्रदेश सरकारको सो निर्णय तत्काल बदर गर्न माग गरेका छन् । 

सामान्य ५० शैय्यामा सिमित रहेको हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत लगेर शिक्षण अस्पतालमा रूपान्तरण गर्ने काममा वर्तमान सरकारले अवरोध गरेको उनको भनाई छ । शिक्षण अस्पतालका रूपमा विकास गर्न प्रतिष्ठान मार्फत धमाधम भवन निर्माण भइरहेका छन् भने आईसियु, एचडियु, अक्सिजन प्लान्ट, डायलासिस सेन्टर, सिटी स्क्यान, एमआरआई, भेन्टिलेटर लगायतका सेवाहरू विस्तार भइरहेको उनले बताए । ५० शैयाबाट सुरु भएर ३ सय शैया हुँदै हाल ५ सय शैयामा पुग्ने क्रममा रहेको अस्पताललाई प्रतिष्ठान मार्फत नै सञ्चालन गर्नुपर्ने उनको माग छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप