शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

गोलभेँडा खेती गर्ने किसान मर्कामा, सरकारी सुविधा पाउन नसकेको गुनासो

बुधबार, २३ चैत २०७८, २१ : २०
बुधबार, २३ चैत २०७८

सरकारले मल र बिउमा सुविधा नदिँदा गोलभेँडा खेती गर्ने सर्लाहीका किसान मर्कामा परेका छन् । भारतमा गोलभेँडाको बिउ ५ ग्रामको २ सय रुपैयाँ पर्छ । त्यही बिउ नेपाल आइपुग्दा ११ सय रुपैयाँ पर्ने गरेको हरिवन नगरपालिका–४, तीन घरेका किसान उमेश चौधरीले बताए ।

३ बिगाहा जग्गामा व्यावसायिक गोलभेँडा खेती गर्दै आएका चौधरीले सरकारले मल र बिउ अनुदानमा उपलब्ध नगराउँदा आफूहरु मर्कामा परेको गुनासो गरे । ‘सरकारले अनुदान सुविधा नदिएकै कारण गोलभेँडा खेती खर्चिलो बन्दै गएको छ,’ उनले भने, ‘गोलभेँडाको बिउमा सरकारले चर्को भ्याट लगाएको छ ।’ सरकारले बिउमा लाग्ने भ्याटमात्र छुट गरिदिए किसानलाई धेरै राहत मिल्ने उनको तर्क छ ।

तरकारी खेतीमा बिउ र मलमै किसानले सबभन्दा बढी रकम खर्च गर्नुपर्ने बाध्यता रहेको उनले बताए । चौधरीले एक्लै ३ बिगाहा जग्गामा यसपाली गोलभेँडा खेती गरेको जानकारी दिए । यहाँका किसानले सरकारको भरोसामा नभई आफ्नै बलबुतामा गोलभेँडा खेती गर्दै आएको उनको भनाइ छ ।

गोलभेँडा खेती गर्ने किसानले अहिलेसम्म सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल र बिउ पाउन नसकेको उनले गुनासो गरे । उनीजस्तै हरिवन–३ अत्रौलीका किसान रामकुमार कुशवाहाको पनि सरकारप्रति धेरै गुनासो छ । ‘व्यावसायिक खेती गर्ने किसानलाई सरकारले हेरेकै छैन,’ उनले भने, ‘यदी हेरिदिएको भए गोलभेँडा खेतीको लागत हदैसम्म घटने थियो ।’

उत्पादन लागत घटेपछि गोलभेँडा सहितका तरकारीको मूल्य पनि सस्तो हुने थियो । तर उत्पादन लागत बढेकै कारण तरकारीको भाउ पनि उच्च रहने गरेको उनको भनाइ छ । यसपाली ३ बिगाहामा गरेको खेतीबाट अहिलेसम्म ३४ सय क्रेट गोलभेँडा उत्पादन भइसकेको कुशवाहाले जानकारी दिए । अहिले पनि गोलभेँडा फल्ने क्रम जारी रहेको उनले बताए ।

उनका अनुसार, एक क्रेटमा कम्तीमा २५ देखि २० किलो गोलभेँडा अटाउँछ । थोकमा बिक्री गर्दा एक क्रेट गोलभेँडाबाट कम्तीमा एक हजार रुपैयाँ आम्दानी हुन्छ । झट्ट हेर्दा धेरै अम्दानी देखिन्छ तर गोलभेँडा खेतीका लागि हुने खर्च कटाउँदा आम्दानी कम हुने उनले बताए ।

सरकारी निकायले कृषि क्षेत्रलाई बेवास्ता गरेकै कारण तरकारी खेतीमा लागेका किसान र आम उपभोक्ता चरम महँगीको सामना गर्न बाध्य भएको सर्लाहीकै अर्का अगुवा कृषक महेश यादवले गुनासो गरे । स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा थोकमा खरीद बिक्री गर्न सर्लाहीको हरिवन नगरपालिका–४, तीनघरेमा बिक्री केन्द्र राखिएको छ ।

त्यहाँ दैनिक ४/५ सय क्रेट गोलभेँडा जम्मा हुने गर्दछ । यसरी जम्मा भएको सबै गोलभेँडा राजधानी काठमाडौं लगायत बीरगंज, हेटौडा, भरतपुर, पोखरा लगायतका सहरमा बिक्रीका लागि पठाउने गरिएको उनले जानकारी दिए ।

अहिले गोलभेँडाको अफ सिजन हुन लागेकोले विस्तारै यसको उत्पादन घट्न थालेको स्थानीय किसानले जानकारी दिए । व्यावसायिक गोलभेँडा खेतीका लागि सर्लाहीको हरिवन नगरपालिका प्रसिद्ध छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप