मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जिल्लामा भएको चुनावी तालमेलमा छुटाएको भन्दै जसपाको आक्रोश

बुधबार, २३ चैत २०७८, २१ : ४०
बुधबार, २३ चैत २०७८

स्वतःस्फूर्त रूपमा जिल्लामा भइरहेको चुनावी गठबन्धनमा आफूहरूलाई छुटाएको भन्दै जनता समाजवादी पार्टी (जसपा) आक्रोशित बनेको छ। पार्टी कमिटी हुँदाहुँदै जिल्लामा निषेध गरेर योजनाबद्ध रूपमा चार दलीय तालमेल मात्रै गरेको भन्दै जसपा चिढिएको हो।

केन्द्रमा रहेको सत्ता गठबन्धनबीच १५ भन्दा बढी जिल्लामा स्वतःस्फूर्त रूपमा गठबन्धन भइसकेको छ। ती मध्ये सत्ता गठबन्धनमा सहभागी काँग्रेस,माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले रोल्पा, नुवाकोट, अछाम लगायत जिल्लाहरूमा छुटाएपछि आक्रोशित बनेको छ । नुवाकोट जिल्लामा सत्ता गठबन्धनले जसपालाई छुटाएपछि गत आइतबार संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा आक्रोश व्यक्त गरेका थिए।  ‘जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जो कसैले गरे पनि त्यो स्वीकार्य हुन्न’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्दै भने, ‘गठबन्धनको धर्म र मर्यादा सबैले इमानदारितापूर्वक पालना गरौँ। कुनै छलछाम नगरौँ। राजनीतिमा सबै कुरा करबलले हैन स्वेच्छाले हुन्छ भन्ने नभुलौँ !’ 

नुवाकोट जिल्लामा सत्ता गठबन्धनमा नसमेटेपछि जसपा नेताहरूले भट्टराईलाई भेटेर गुनासो राखेका थिए। लगतै भट्टराईले सामाजिक सञ्जालबाट जिल्लामा सत्ता गठबन्धन नसमेटिएको भन्दै विरोध जनाए। जिल्लामा हुने सत्ता गठबन्धनमा जसपालाई नसमेटिएको भन्दै भट्टराईले निरन्तर आलोचना गर्दै आएका छन् । जसपा जनाधार मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका जिल्लामा मात्रै बढी प्रभाव भएकाले अन्य जिल्लामा चार दलले छुटाएका छन्। आफूहरूलाई हेलोहोचो गरेर जिल्लामा हुने गठबन्धनमा नसमेटिएको भन्दै जसपा नेताहरू आक्रोशित भएका छन्।  

देउवा,प्रचण्ड र नेपाललाई गुनासो राख्ने 
जसपाको कमजोर जनाधारलाई लक्षित गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका जिल्ला तहका नेताहरूले मिनिमाइज गरेको भन्दै जसपा नेता सुवेदीले आक्रोश पोखे। केन्द्रमा हुने छलफलमा जसपा निरन्तर सहभागी भए पनि जिल्लाहरू निषेध गरेकाले प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गुनासो राखिने बताए।  ‘हरेक जिल्लामा भइरहेको सत्ता गठबन्धनमा प्राय जसपालाई छुटाएको छ।

पार्टीको सम्बन्धित प्रदेश कमिटी बोलिरहेको छ’ रातोपाटीसँग कुरा गर्दै सुवेदीले भने, ‘जसपाको कतै प्रभाव कम होला कतै धेरै होला । प्राय सबै जिल्लामा पार्टी कमिटी छ। कमिटी भएको जिल्लामा समेत जसपालाई निषेध गरियो। अरू पार्टीहरूले नजरअन्दाज गर्नु राम्रो होइन ।’ जिल्लामा पाँच दलका सबैलाई समेटेर मोर्चाबन्दी गर्नुपर्नेमा त्यसो नगर्नु ठिक नभएको सुवेदीले जिकिर गरे। गठबन्धनको संस्कार ठूला दलले पालना नगर्नु दुःखद भएको जसपा नेताहरूले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप