बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

बाँसबारी क्लब र सिद्धार्थ बैंकबीच सम्झौता

बुधबार, २३ चैत २०७८, २० : ०६
बुधबार, २३ चैत २०७८

सहिद स्मारक बी डिभिजन लिग खेलिरहेको बाँसबारी क्लबले सह–प्रयोजकको रुपमा सिद्धार्थ बैंकसँग बुधबार सम्झौता गरेको छ । काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष प्रेम थापा र सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक (एजीएम) प्रदीप पन्तले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । चार लाख रुपियाको प्रायोजन सम्झौता एक वर्षको रहेको छ ।

बाँसबारीका अध्यक्ष थापाले भन्नुभयो, ‘देशकै ठूलो सिद्धार्थ बैंकसँग प्रायोजन सम्झौता गर्न पाउँदा बाँसबारी क्लब र बाँसबारी टोलबासी अत्यन्त खुशी छौं । स्थानीय बासिन्दा दीपेश आचार्यको पहलमा हाम्रो यो सहकार्य संभव भएको हो । यो सहयोगले नेपालको फुटबल विकास र क्लबको उद्देश्य तथा लक्ष्य प्राप्त गर्न ठूलो सहयोग मिल्नेछ ।’

सिद्धार्थ बैंकका एजीएम पन्तले भन्नुभयो, ‘बाँसबारी क्लबसँग सहकार्य गर्न पाउँदा हामी साह्रै खुशी छौं । हामी यसरी नै बाँसबारी​ क्लबसँग खेलकुद र सामाजिक कार्यमा सहकार्य गर्दै अगाडि बढ्नेछौं । अहिलेलाई एक वर्षको सम्झौता गरेका छौं । यो सम्झौतालाई आगामी बर्ष पनि निरन्तरता दिएर अगाडि बढ्नेछौं ।’

बाँसबारी​ क्लबको मुख्य प्रायोजक अराउन्ड द हिमालयज प्रालि रहेको छ । क्लबले अराउन्ड द हिमालयजसँग १० लाख रुपियाको प्रायोजन सम्झौता गत फागुनमा गरेको थियो । क्लबको सहप्रायोजक चोयु ट्रेकिङ प्रा.लि., हेल्थ पार्टनर वेलनेस हस्पिटल, मार्केटिङ पार्टनर काया स्पोर्ट्स एन्ड सप्लायर्स र किट्स पार्टनर कामरु ट्रेडिङ प्रा.लि. रहेका छन् । एन्फा निर्वाचनको लागि प्रतिनिधि चयन काठमाडौं महानगरपालिका ३ स्थित क्लबको कार्यालयमा बुधबार भएको कार्यसमिति बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनको लागि अध्यक्ष प्रेम थापालाई मताधिकारसहितको प्रतिनिधि र महासचिव रमेशकुमार कार्कीलाई प्रतिनिधि पठाउने सर्वसम्मत निर्णय गरेको छ ।

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप