अन्तरवार्ता

मधेसमा एमालेले माओवादीसँग प्रतिस्पर्धा गर्नै सक्दैन : मातृका यादव

‘शरीरमा पिलो आएपछि त्यसलाई निचोर्नुपर्छ’

person explore access_timeचैत २३, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका नेता मातृका यादव झ्वाँकी स्वाभावका मानिन्छन् । आफूलाई चित्त नबुझेको कुरा प्रचण्डलाईसमेत खुल्ला रुपमा राख्न सक्ने उनी एकताका माओवादी पार्टीबाट विद्रोह गरेर बाहिरिएका थिए । अहिले पार्टीभित्र उनले नारायणकाजी श्रेष्ठ र गिरिराजमणि पोखरेललसँग खुल्लारुपमै अन्तरसंघर्ष गरिरहेका छन् । खासगरी मधेसमा चर्को अन्तरविरोधमा मातृकाले एउटा खेमाको नेतृत्व गरिरहेका छन् ।


माओवादी नेता यादव भर्खरै मधेसका जिल्लाहरुको भ्रमण सकेर काठमाडौँ फर्केका छन् । तर, यसअघि मधेसमा प्रचण्डको आतिथ्यमा आयोजित प्रशिक्षण कार्यक्रममा भने उनी सहभागी भएनन् । महोत्तरीमा रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक खडा गरिएको भन्दै मात्रिका यादव गिरिराजमणि पोखरेलसँग चिढिएका थिए । तर, पोखरेलले आत्मालोचना गरेपछि अहिले यो विवाद सुल्झिएको यादवले रातोपाटीलाई बताए ।



माओवादी नेता यादवले अगाडि भने, ‘भर्खर अस्ति अध्यक्षले हामीलाई बोलाएर छलफलसहित हल गरेर घोषणा गर्नुभयो । उहाँले माड्साव (रामवृक्ष) को शालिक यहीँ राखिन्छ भन्नुभयो । शालिक हटाउने कमरेडले पनि कसैको भावनामा खेलेको होइन, यदि कसैको भावनामा चोट पुगेको छ भने आत्मालोचित हुन्छु भन्नुभयो ।’ 



पार्टीभित्रको अन्तरविरोधबारे यादव भन्छन्, ‘पार्टीमा मिलाउने नाममा अवसरवादी प्रवृत्तिलाई काँधमा बोक्न सक्दिनँ । पार्टीमा फरक मत जसको पनि हुन्छ, फरक मतको कदर गर्नुपर्छ । मेरो न हिजो प्रभु साहविरुद्ध गुटबन्दी थियो, न नारायणकाजी श्रेष्ठ विरुद्ध गुटबन्दी छ । मेरो विचारमा लडाइँ हो ।’

माओवादी नेता प्रभु साहले पार्टी छाडे पनि मधेसमा माओवादीको अवस्था राम्रो रहेको यादवले दाबी गरे । मधेसमा माओवादीसँग एमालेको तुलना नै हुन नसक्ने उनको दाबी छ । प्रस्तुत छ, माओवादी नेता यादवसँग रातोपाटीकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी–     

तपाईं हालै मधेस प्रदेशका जिल्लाहरु घुमेर काठमाडौँ फर्कनुभएको छ । अघिल्लो चुनावमा मधेस प्रदेशका कुल १३६ स्थानीय तहमध्ये माओवादीले २१ वटा स्थानीय तहमा जितेको थियो । आगामी चुनावमा मधेसमा माओवादीको पोजिसन कस्तो रहला ?

अघिल्लो चुनावमा माओवादीको अवस्था राम्रै थियो । हामीले २१ स्थानीय तह प्रमुख जित्यौँ । कतिपय पालिकामा उपप्रमुख जितेर पनि प्रमुखमा थोरै मतले पराजित भएका थियौँ । वडाध्यक्ष र सदस्यहरु ठूलो मात्रामा जितेका थियौँ । मधेस प्रदेशमा बाहिर भनिएजस्तो माओवादीको जनमत अझै बिग्रेको छैन ।

मधेस प्रदेश घोषणा गर्दा पार्टीले महत्वपूर्ण भूमिका खेल्यो । त्यसमा सबैभन्दा बढी माननीय मन्त्री भरत साहले रचनात्मक भूमिका खेल्नुभयो । पहिलो पटक प्रदेश सरकारले औपचारिकरुपमा जनयुद्ध दिवस समेत मनायो । यसले मधेसमा अर्कैखालको तरंग पैदा भएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता, लगायत परिवर्तनका मुद्दाहरु स्थापित गर्न माओवादीको अहम भूमिका रहयो । सिंहदरबारको अधिकार गाउँ गाउँमा माओवादीले नै पुर्‍यायो । यी यावत मुद्दाहरु छन्, जो जनयुद्ध हुँदैनथ्यो भने जनताले प्राप्त गर्ने थिएनन् । यो माओवादीको उपलब्धि हो भन्ने आम जनताले बुझेका छन् । त्यसलाई हामीले क्यास गर्न सकेनौँ । बरु हामीले स्थापित गरेका मुद्दाहरु अरुले ‘क्यास’ गर्न थाले ।

यी परिवर्तनका मुद्दाहरु हामीले ल्यायौँ भनेर गर्व त गर्नुहुन्छ तर, यी मुद्दालाई समाजका पिँधमा रहेका समुदायले अनुभूति नै गर्न पाएका छैनन् । परिवर्तन ल्याउनुको अर्थ नै नभएजस्तै भएन र ?

हामीभित्र पनि अवसरवादहरु छन् । आन्दोलनमा क्रान्तिकारिता र अवसरवाद सँगसँगै आउँदा रहेछन्। हामीभित्रै पनि त्यो अवसरवाद हुन सक्छ । हामीले पनि जनयुद्धको महत्व, उपलब्धि र जनताले गरेको बलिदानलाई जसरी स्वामित्व लिनुपर्ने थियो, त्यो लिन सकेका छैनौँ ।

कतिपय साथीहरुलाई जनयुद्ध भन्ने शब्द उच्चारण नै गर्न आउँदैन । जनयुद्धलाई राम्रो मानिँदैन । यसको असर जनतामा पनि स्वाभाविकै रुपमा पर्छ । जनताले माओवादी देख्न चाहन्छन् । कतिपय मान्छेलाई माओवादी भन्दा डर लाग्न थाल्छ । त्यो अमेरिकालाई हेरेर कसले के भन्छन् भनेर हेर्ने कि जनतालाई के चाहिएको छ त्यसलाई भन्ने हो ।

मधेसमा माओवादी सोचेभन्दा राम्रो छ । अझै माओवादी आफ्नो पुरानो विरासतलाई जर्बजस्तरुपमा प्रस्तुत गर्न खोज्दैछ । मधेसको मुक्ति माओवादीबिना सम्भव छैन । माओवादी जनयुद्धकै जगमा मधेस आन्दोलन भएको हो । मधेस आन्दोलन माओवादीको एउटा अंश हो ।

तपाईं मधेसमा माओवादी राम्रो छ भन्नुहुन्छ । तर, प्रभु साहलगायत माओवादी जनप्रतिनिधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दैनिकजसो प्रवेश गराएको देखिन्छ । किन यस्तो भइरहेको छ ?

एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा विभिन्न स्वार्थहरु हुँदा रहेछन् । एउटा कुरा, पहिलेको पार्टीबाट टिकट नपाइने भएपछि अर्को पार्टीमा प्रवेश गर्दा रहेछन् । यही पार्टीमा भए चुनाव हार्छु भन्ने चिन्ता पनि हुने रहेछ । यसमा अरु धेरै कारणहरु जोडिन्छन् ।

मैले अघि भनेँ, अवसरवाद, गलत प्रवृत्तिहरु लामो समयदेखि पार्टीभित्र लुकेर बसेका हुन्छन् । त्यो बेलाबेला प्रकट भयो भने पार्टी छोड्दोरहेछ । निकिता ख्रुस्चेभ ह्वातै पार्टीमा पसेका होइनन् नि । लामो समय रुसी कम्युनिस्ट पार्टीमै काम गरेका नेता हुन् । तर, त्यस्ता मान्छेहरु वर्गसंघर्ष कमजोर भएका बेला ह्वातै बाहिर देखिने रहेछन्। नेपालमा पनि त्यस्ता अवसरवादीहरु बेलाबेला प्रकट भइरहन्छन् । यो नेपालमा महाविद्वान मार्क्सवादको क्लास चलाउनेहरुमा देखिएको छ ।

माओवादीबाट एमालेमा प्रवेश नगरेको होइन गरेका छन् । पार्टी छोड्नेहरुको असर नै हुँदैहुँदैन भन्ने पनि होइन । नेताले छोडेपछि पक्कै पनि असर हुन्छ । शरीरमा पिलो आएपछि त्यसलाई निचोर्नुपर्छ । त्यसपछि त्यहाँ तत्काल खाल्डो हुन्छ । तर, पछि विस्तारै पूर्ति हुँदै जान्छ । सवाल त्यो पिलो निचार्ने कि ननिचोर्ने भन्ने हो ।

पार्टी छाडेर गएका पिलो हुन्। उनीहरु गएर सञ्चो भयो भन्न खोज्नुभएको हो ?

मैले सिधै पिलो नै भन्न खोजेको होइन । गलत विचार र चिन्तन बोक्नेहरुले पार्टी छाडेका हुन् । पार्टी छोड्न त मैले पनि छोडेको हुँ । तर, त्यसमा तात्विक रुपमा फरक छ भन्ने लाग्छ । मैले  पार्टीले क्रान्ति गरेन भनेर छोडेको हुँ । म आफैँ क्रान्ति गर्छु भनेर हिँडेको हुँ । मैले पद पाइनँ भनेर छोडेको होइन । म पद छोड्दै हिँडेको नेता हुँ । नेताहरु टिकट नपाउँदा विद्रोही उम्मेदवार बन्छन् । आफूले राजनीति गरेको पार्टीबाट टिकट नपाए अर्को पार्टीबाट उम्मेदवार बन्न तयार हुन्छन् । तर, म विचारलाई प्रमुख ठान्छु । माओवादीबाट एमालेमा गएपछि थोरै चुनौति खडा पक्कै भएका हो । तर, हामी कस्सिएर लाग्यौँ भने त्यो अझ राम्रो गरेर देखाइदिन्छौँ ।

यसअघिको निर्वाचनमा मधेसमा पहिलो नेपाली कांग्रेस, दोस्रो मधेसकेन्द्रित दल, तेस्रो माओवादी र चौथो एमाले थियो । अब फेरि एमालेभन्दा माओवादी अगाडि हुन्छ कि एमालेले मधेसमा उछिन्छ ?

मधेसमा एमालेसँग प्रतिस्पर्धा नै हुँदैन । एमालेसँग प्रतिस्पर्धा गर्ने भनेर तुलना नै गर्नु बेठीक छ ।  

तपाईंकै पार्टीबाट एमालेमा प्रवेश गरेका प्रभु साहले माओवादीबाट ७ जना पालिका प्रमुख र १० उपप्रमुखसमेत  एकसय जनप्रनिधि एमालेमा प्रवेश गराएको दाबी गरेका छन् । प्रभु साह एमालेमा प्रवेश गरेपछि माओवादीले मधेस प्रदेशमा इज्जत जोगाउन गाह्रो नहोला र ?

माओवादीका केही जनप्रतिनिधि एमाले गए पनि सबै जनता एमालेमा गएका छैनन् । नेता जाँदैमा जनता सबै जाँदैनन् । एमालेले यसअघि निर्वाचनको स्थिति कसरी कायम गर्न सकिन्छ भनेर सोच्नुपर्‍यो ।

उहाँ( प्रभु साह) ले ओलीको भाषा बोलेर हुँदैन । आन्दोलनको स्थिति कहाँबाट कहाँ पुगिसक्यो, बोलेर मात्रै हुन्छ र ? अस्तिसम्म ओलीजीले एक्लै चुनाव लड्छु भन्नुहुन्थ्यो । निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकतातिर अनि नेकपा एमाले एर्कातिर भए पनि लड्छु भन्नुहुन्थ्यो । तर, अहिले राप्रपासँग चुनावी तालमेल गर्ने कुरा गर्दै हुनुहुन्छ । सनकमा कुरा गर्नु एउटा कुरा भयो, परिस्थितिको यथार्थमा जानु अर्को भयो । हामी कम्युनिस्टहरुले यथार्थमा पुगेर कुरा गर्नुपर्छ ।  हेर्नुहोला, एमाले हिजोको भन्दा अझ तल पुग्ने अवस्था हुनेछ ।

अब माओवादी पार्टीको आन्तरिक कुरा गरौँ । माओवादी केन्द्रका मधेस बाहेक सबै प्रदेश कमिटी कतै सर्वसम्मत कतै निर्वाचन विधिबाटै टुंगो लगाएर स्थानीय निर्वाचनमा जुटिसकेका छन् । मधेस प्रदेश, जहाँ तपाईं समेत प्रतिनिधित्व गर्नुहुन्छ, किन प्रदेश कमिटी टुंगो लगाउन सक्नुभएन ?

त्यो अवस्था अहिले मात्रै होइन, पहिला पनि थियो । पहिला जिल्लामा संयोजक मात्रै थिए, चुनावमा राम्रो नतिजा आयो । मुख्यरुपमा तीनवटा संघर्ष हुन्छ । एउटा आत्मसंघर्ष, अर्को वर्गसंघर्ष र पार्टीभित्रको संघर्ष । पार्टीको द्वन्द्वको कुरा गर्नुहुन्छ भने कुन पार्टीमा द्वन्द्व र संघर्ष छैन ? अस्ति भर्खरै उहाँ(एमाले)हरुको कुटाकुट नै भयो । हाम्रो पार्टीमा कुटाकुट भएको छैन । प्रदेशमा विवाद नै छैन भन्ने होइन, विवाद छ ।

प्रदेशमा तपाईंले नै नारायणकाजी श्रेष्ठ पक्षसँग लाप्पा खेलेका कारण प्रदेश कमिटीले पूर्णता नपाएको र विवाद भएको भन्ने गरिन्छ नि?

मैले उहाँसँग किन लाप्पा खेल्नु ? मैले सात वर्ष पार्टी नै छोडेर हिँडेको हुँ । म पार्टीमा नहुँदा पनि त्यस्तै गुटबन्दी र कुटाकुट थियो । बरु म पार्टीमा फर्किएपछि कुटाकुट भएको छैन । प्रदेश शान्त छ । मेरो स्वभाव कसैसँग लाप्पा खेल्ने होइन। बरु विचारमा अडिग हुने नेता हुँ ।

तपाईं मधेसको ठूलो नेता हुनुहुन्छ, सबैलाई मिलाउनुपर्नेमा कचिंगल किन ?

पार्टीमा मिलाउने नाममा अवसरवादी प्रवृत्तिलाई काँधमा बोक्न सक्दिनँ । पार्टीमा फरक मत जसको पनि हुन्छ । फरक मतको कदर गर्नुपर्छ । तर, फरक मतको कदर गर्नुको अर्थ अवसरवादलाई काँधमा राखेर बोक्नु मार्क्सवादसम्मत होइन । अवसरवाद माओवादी आन्दोलनको ठूलो चुनौति हो । यो अवसरवादलाई कतिपयले काधँमा हालेर बोक्नु ज्यादै नराम्रो पक्ष हो।

तपाईं पहिला प्रभु साहविरुद्ध गुटबन्दी गर्नुहुन्थ्यो, उनी एमालेमा प्रवेश गरेपछि अहिले नारायणकाजी श्रेष्ठविरुद्ध गुटबन्दी गरेर पार्टीलाई क्षति गराउनुभएको भन्ने सुनिन्छ नि ? खास तपाईंहरु दुईजनाबीचको विवाद के हो?

मेरो न प्रभु साह विरुद्ध गुटबन्दी थियो, न नारायणकाजी श्रेष्ठ विरुद्ध गुटबन्दी छ । मेरो विचारमा लडाइँ हो । मैले प्रदेशको कुनै जिम्मेवारी लिएको छैन। अध्यक्ष कमरेडलाई जे मन लाग्छ, त्यही गर्नुस् भनेर छोड्दिएको छु । फेरि चुनावमा सक्रिय हुनैपर्‍यो । त्यसैले मधेस प्रदेश गएर भर्खरै फर्किएँ ।

मधेसमा आफ्नै पार्टीले आयोजना गरेको कार्यक्रमचाहिँ किन बहिस्कार गर्नुभएको त ?

मैले पार्टीको आमसभा, बैठक बहिस्कार गरेकै छैन । मेरो आवश्यकता थिएन, त्यहाँ गइनँ । अध्यक्ष कमरेडलाई स्वागत गर्न गएकै हो, विदाइ गर्न गएकै हो । मैले भेटघाट र छलफल गरेकै हो । फेरि, पार्टीका सबै कार्यक्रममा जानैपर्छ भन्ने पनि छैन । कार्यक्रममा नेताहरु मञ्चमा भरिने गरी एक घण्टासम्म आशनग्रहण गराउँछन् । त्यो किन गराउनुपर्‍यो ?

तपाईं यही क्षेत्रबाट सांसद हुनुभयो, प्रदेशका कार्यक्रममा जानुपर्ने होइन र ?

प्रदेशमा मेरो जिम्मेवारी नै छैन । जिम्मेवारी नभएपछि प्रदेश प्रशिक्षण लगायत कार्यक्रममा गएको छैन ।

तपाईंलाई जिम्मेवारी नै नदिएको हो कि नलिएको ?

त्योबारेमा छलफल नै भएको छैन । जिम्मेवारी नदिएको हो कि नलिएको मलाई थाहा छैन ।

महोत्तरीमा रामवृक्ष यादवको शालिकको  विषयमा महाधिवेशन हलमै बबण्डर भयो भन्ने समाचार पनि आएका थिए । खासमा यो विवाद के हो ?

जनयुद्धका बेला र शान्ति प्रक्रियामा आएपछि त्यहाँ रामबृक्ष यादवको शालिक राखिएको थियो त्यो ठाउँमा । अहिले निर्मल लामा प्राधिविक स्कुलको स्थापना भएको छ । स्कुल बनाउने, नबनाउने मेरो सरोकारको विषय होइन । तर, कमरेड रामबृक्ष यादवको शालिक काटेर गाउँमा पुर्याउने योजना बन्यो । त्यही जिल्लाका स्थानीय साथीहरुले विरोध गरे । त्यो कुरा मेरो जानकारीमा आएपछि मैले अध्यक्ष लगायत पार्टी बैठकमा लगातार आवाज उठाएको हो ।  महाधिवेशनमा पनि चर्कैै रुपमा उठ्यो । समुह छलफलमा पनि साथीहरुले उठाए । चर्कै भयो ।

महाधिवेशनमा उहाँहरु (गिरिराजमणि पोखरेल र नारायणकाजी श्रेष्ठ ) केहीबेर हलमै आउनुभएन, तर पछि आउनुभयो । उहाँहरु आएपछि सरसल्लाह र छानविन गरेर पछि टुङ्गो लगाउने भनियो । अहिले अध्यक्षले नीतिगत रुपमा रामबृक्ष यादवको शालिक पहिलेकै ठाउँमा राख्ने भनेर टुंगो लगाइसक्नुभएको छ ।

शालिक प्रकरणमा अब माओवादी पार्टीमा विवाद छैन त ?

अब विवाद आउँदैन । तर, त्यसको समीक्षा हुनुपर्‍यो । त्यसरी सहिदलाई गरिएको व्यवहारको समीक्षा त हुनैपर्छ, लडाइँ नै त्यहीँ हो । पार्टीभित्र डकुमेन्ट र स्कुलिङ त हुनुपर्छ । भोलि त्यस्तै विवाद अरु ठाउँमा पनि हुन सक्छ । सहिदलाई ट्रान्सफर गर्न मिल्छ कि मिल्दैन भनेर पार्टीले सबैतिर प्रशिक्षित गर्नुपर्छ ।

त्यसोभए तपाईंका धेरैजसो असन्तुष्टि सम्बोधन भैसके ?

भर्खर अस्ति अध्यक्षले हामीलाई बोलाएर छलफलसहित हल गरेर घोषणा गर्नुभयो । उहाँले माड्साव (रामवृक्ष) को शालिक यहीँ राखिन्छ भन्नुभयो । शालिक हटाउने कमरेडले पनि कसैको भावनामा खेलेको होइन, यदि कसैको भावनामा चोट पुगेको छ भने आत्मालोचित हुन्छु भन्नुभयो । 

तपाईंले अर्को एउटा पत्र केन्द्रीय कार्यालय पेरिसडाँडामा पेश गर्नुभएको थियो, त्यसबारे के निर्णय भयो ?

पार्टीमा बुझाएको पत्रका बारेमा अहिले छलफल किन गर्नु ? पार्टीमा बुझाएको उतै छलफल हुन्छ । पार्टीको पत्र मिडियामा दिन मिल्दैन । पार्टीमा अलिअलि विवाद त भैहाल्छ । विना विवादको कुन पार्टी हुन्छ ? विवाद सकिनेवित्तिकै पार्टी खत्तम भयो भनेर बुझ्नुपर्ने हुन्छ । मार्क्सवादी थ्यौरीले त्यो बताउँछ । पार्टीमा आएको विवाद सही र गलत भन्ने पार्टीले छुट्याउँछ ।

कुनै समय लाल मधेस बनाउँछु भनेर हिँड्ने मात्रिका यादवमा अहिले मधेसमोह किन भंग भयो ?

मलाई मोह भंग भएको छैन । मैले भिडेरै मधेस प्रदेश घोषणा गराएको छु । त्यस क्रममा अध्यक्षको सहमति लिएरै भिडेको हो । हाम्रै पार्टीभित्र त्यो कतिपयलाई मन परेको थिएन । जानकी प्रदेश भन्ने हाम्रै पार्टीभित्र पनि धारणा आएको थियो । म नलागेको भए हुने थिएन ।

लाल मधेस होइन, लाल नेपाल बनाउने हो म त । लाल मधेस मैले किन भनेको भने जय मधेस भन्न थाले । म मधेस आन्दोलनमै थिएँ । त्यसपछि मैले जय लाल मधेस भन्न थालेको हो ।

जहिले पनि मार्क्सवाद लेनिनवाद र माओवादबाट मात्रै समस्याको हल हुन्छ भन्ने मेरो धारणा हो । तिनीहरु मधेसवादी दलहरुमा त कुनै विचार थिएन । उनीहरुमा जय मधेसको भावनामा मात्रै थियो । मैले लाल मधेस भनेर विचार जोडेको हो । त्यसकारण म कहीँ पनि विमुख छैन, लागिपरेको छु ।

हिजोको मात्रिका यादव र आजको मात्रिका यादवमा कुनै भिन्नता छैन त ?

मात्रिका बिग्रेको छैन । म सबैलाई भन्छु– मात्रिका नबिग्रियोस् भनेर आलोचना र चेतावनी दिइराख्नुस् । यो मेरा लागि औषधीमुलक नै हुन्छ ।

फेरि माओवादी पार्टीकै विषयमा कुरा गरौँ, पार्टीको मधेस विवाद समाधान गर्ने कुरामा तपाईंको भुमिका हुन्छ कि हुँदैन ?

मसँग जोडिएका विषयमा म सहभागी हुन्छु । हाम्रो समस्या समाधान हुन्छ ।

तर, गुटबन्दी बढेको बढ्यै छ, कमिटी बन्न सकेको छैन, पार्टी छोड्ने क्रम उस्तै छ भनिन्छ नि त ?

पार्टी छोड्ने भन्दा पार्टीमा आउने कति गुणा बढी आएका छन्, त्यो पनि हेर्नुपर्छ । एउटा कुरा, ओलीजस्तो तामझाम हाम्रो अध्यक्षले गर्नुहुन्न । उहाँ जहाँ भेटिन्छ, त्यहीँ प्रवेश गराइदिनुहुन्छ । चुनावसम्म हेर्दै जानु, माओवादीमा आउनेको लहर पैदा हुन्छ ।

तपाईं आगामी निर्वाचनमा नलड्ने मुडमा हुनुहुन्छ भन्ने पनि सुनिन्न छ के त्यस्तै हो र ?

तीनवटा मोर्चा भए । एउटा सडक मोर्चा, अर्को सदन मोर्चा र सरकार मोर्चा । सरकार मोर्चामा पटक–पटक म एक्लै परेँ । टिमको साथ भएन । पहिलो पटक अन्तरिम सरकारमा हुँदा त महराजीले साथ दिनुभयो । त्योबेला महराजीले टीम लिडरको हैसियतमा साथ दिनुभयो । तर, पछि नेकपाकै सरकार बन्यो, त्यहाँ साथ पाइनँ । सरकारलाई आन्दोलनका रुपमा लाने कि व्यक्तिगत रुपमा जाने भन्ने महत्वपूर्ण कुरा हो । मेरो प्रश्न त्यो हो, यसमा अध्यक्षसँग पनि छलफल भइरहेको हुन्छ ।

अहिले पार्टीले पनि सडक प्रधान भनेको छ । आफ्नै पार्टीको सरकार हुँदा हामी प्रतिगमनविरुद्ध सडकमा गयौँ । त्यसलाई निहीत स्वार्थको साधन बनाउने कि आन्दोलनको साधन बनाउने ? वा समाजवाद निर्माणको साधन बनाउने ? त्यहाँ अध्यक्षसँग छलफल गरेको मात्रै हो, चुनाव लड्दिनँ भनेको होइन ।

चुनाव हारिन्छ भन्ने डर त होइन ?

होइन, होइन । हार्नु जित्नु एउटा हो, ब्याटल लड्दा कहिले जितिन्छ, कहिले हारिन्छ । तर, युद्ध हार्नुहुदैन । ब्याटल नहार्ने सफल कमाण्डर पनि हुँदैनन् ।

चुनावी मोर्चावन्दी र पार्टी एकताप्रति तपाईंंको विरोध हो ?

मेरो विरोध होइन । आफ्नो बलबुँताले निर्माण गर्ने कि अरुको पछि लाग्ने भन्ने हो । त्योबेलामा पनि एमालेसँग मोर्चा बनाउनुपर्छ, तर पार्टी एकता गर्नुहुँदैन भन्ने मेरो भनाइ थियो । तर, अध्यक्षले समाजवादमा लाने भनेर गर्नुभयो । यसमा ओलीजीको आफू सर्वसत्तावादी बन्ने सोच थियो । ट्रेन्ड नै आकास जमिनको थियो । अध्यक्षलाई समाजवादमा लगिन्छ भन्ने थियो, त्यसैले ठुलठुला निर्णय लिनुहुन्छ । मैले के देखेको छु भने पार्टी एकता गर्दा पनि किरण कमरेडले एकचोटि भन्नुभएको थियो– खाइन्छ पचाइन्छ ।

विगतमा जति पार्टी आए पनि माओवादी माओवादी नै भयो नि, दायाँ बायाँ भएन । मैले किरण कमरेडलाई तपाईं जेलबाट छुट्नुभएको छ, तर पार्टी हाम्रो बिग्रिसकेको छ, पाचनक्रिया बिग्रिसकेको छ । एकता गर्दा सोचविचार गरेर गर्नुुस् छेरपाटी लाग्छ भनेँ । उहाँले खाइन्छ, पचाइन्छ भन्नुभो ।

त्यसपछि खरिपाटी भेला भयो । त्यसमा (नारायणकाजीहरुसँग) तीन–चारवटा कुरा स्वीकारेपछि मात्र एकता गर्ने कुरा भएको थियो । जनयुद्धलाई फासिवाद भनेर आलोचना गरिएको थियो, त्यो गलत हो भनेर स्वीकार्नुपर्‍यो । माओवादबारे कुनै छलफल नगर्ने, संघर्षका सबै रुप पालन गर्ने । कुरा भएको थियो । विप्लवजीले पनि खाइन्छ पचाइन्छ भन्नुभयो । तर, पछि हतियार उठाउनुभयो । म सानै नेता भए पनि निस्किएँ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।