शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

रासायनिक मल प्रयोगबाट कृषि उत्पादन बढाउने उपायको खोजि गर्दै साल्ट ट्रेड्रिङ कर्पोरेशन

बुधबार, २३ चैत २०७८, १८ : १९
बुधबार, २३ चैत २०७८

साल्ट ट्रेडिङ कर्पोरेशनले नेपालमा कृषि उत्पादन बढाउने उपायको खोजी गर्न दुई दिने गोष्ठी आयोजना गरेको छ । कर्पोरेशनले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्राविधिक सहयोगमा भारतको इण्डिया पोटास लिमिटेड (आईपीएल)सँग मिलेर उत्पादन बढाउने उपायको खोजी गर्न लागेको हो ।

 बुधबार सुरू भएको कर्पोरेशनको गोष्ठी बिहीबारसम्म चल्ने छ । यो गोष्ठीमा आइपीएलसँग माटोको गुणस्तरअनुसार रासायनिक मलको प्रयोग र लाभ लिने विषयमा छलफल हुने छ । आईपीएल भारतको सरकार स्वामित्वको रासायनिक मल आपूर्तिकर्ता हो । सोहीकारण, आइपीएलसँग मिलेर दुई दिनसम्म नेपालमा कस्तो प्रकारको रासायनिक मलको प्रयोगले कृषि उत्पादन बढाउँछ भन्ने खोजि गरिने छ ।

कर्पोरेशनका अध्यक्ष कल्याण गोबिन्द श्रेष्ठले नेपाल र भारतका विज्ञ सहभागी यस गोष्ठीले नेपालको कृषि विकासमा महत्वपूर्ण सिकाइ हुने बताए । उनले गोष्ठीको उद्घाटन सत्रमा बोल्दै नेपालको माटोलाई सुहाउने रासायनिक मल, कृषि औजार र बिउबिजनका विषयमा कार्यक्रममा गहन छलफल हुने समेत बताए ।

कर्पोरेशनका प्रवक्ता कुमार राजभण्डारीले नेपाल र भारतको भौगोलिक अवस्था, माटो र कृषि जन्य वस्तुको खेती अवस्था उस्तै रहेकाले भारतको संस्थासँग मिलेर गोष्ठी आयोजना गरेको बताए । उनले नेपाल र भारतको माटोको गुणस्तर करिब–करिब उस्तै रहेकाले भारतमा प्रयोग हुने रासायनिक मल नेपालमा पनि उपयुक्त हुन सक्ने भएकाले आइपीएललाई गोष्ठीमा निम्त्याएको जानकारी दिए ।

‘नेपालको कृषि क्षेत्रको अवस्था कस्तो छ ? माटोको गुणस्तर र नेपालमा प्रयोग हुने कृषि औजार तथा बिउको स्थिती कस्तो छ ?,’ राजभण्डारीले भने, ‘यही विषयमा गहन छलफल हुने छ । यसमा भारतका विज्ञहरूको अनुभव हामी लिन्छौं । र, नेपालको कृषि क्षेत्रको समस्या सुधारका लागि एउटा डकुमेन्ट नै जारी गर्छौं ।’ गोष्ठी सकिएपछि देशको कृषि क्षेत्रलाई नै परिवर्तन ल्याउने र कृषि उत्पादन बढाउने स्तरको डकुमेन्ट ल्याउने उनको भनाइ छ ।

कर्पोरेशनले विगत ७÷८ वर्षदेखि सरकारले कृषकलाई अनुदानमा दिने रासायनिक मल आयात गर्दै आइरहेको छ । लामो समयदेखि मल आयात गर्दै आएको कर्पोरेशनले मलको प्रयोग र माटोअनुसार कस्तो मल प्रयोग गर्ने र यसबाट कसरी फाइदा लिने विषयमा यसअघि छलफल गरेको थिएन । सोहीकारण, मल आयात मात्र नभइ देशको कुन भूभागमा कस्तो रासायनिक मलको प्रयोग गर्ने भनेर गोष्ठीबाट निष्कर्ष निस्कने तथा भारतीय विज्ञहरूको रासायनिक मल प्रयोग अनुभव समेत लिने राजभण्डारी बताउँछन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप