शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवौं राष्ट्रिय खेलकुद घिसिङको पहिलो प्रथामिकतामा

बुधबार, २३ चैत २०७८, १८ : ०८
बुधबार, २३ चैत २०७८

नेपालमा फाल्गुण महिनामा सम्पन्न हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालसम्म हुन सकेको छैन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव विवादले हालसम्म प्रतियोगिता सम्पन्न हुन नसकेको हो । 

प्रतियोगिता सम्पन्न गर्नका लागि सदस्य–सचिवको आवश्यक्ता थियो । अब राखेपको सदस्य–सचिवको जिम्मेवारीमा टंकलाल घिसिङ फर्किएका छन् । बुधबार आफ्नो कार्यकाल सम्हाल्ने क्रममा घिसिङले पहिलो प्रथामिकता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता रहेको बताएका छन् । 

सर्वोच्च अदालतले बर्खास्तीमा परेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालको रिट खारेज गरेको छ । घिसिङलाई गत मंसिर १३ गते सरकारले नयाँ राखेपको सदस्य–सचिवको नियुक्त गरेको थियो । सरकारले कार्यसम्पादन गर्न नसकेको आरोपसहित राखेपका तत्कालीन सदस्य–सचिव सिलवाललाई पदमुक्त गरेर नयाँ छनोट विधिबाट घिसिङलाई नयाँ सदस्य–सचिव नियुक्त गरेको थियो । 

सरकारले सिलवाललाई गत कात्तिक १ गते पदमुक्त गरेको थियो । आफूलाई पदमा राख्नु पर्ने मागसहित सिलवालले सर्वाेच्चमा रिट दायर गरेका थिए ।  बर्खास्तीसम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलाशले मंगलबार सिलवालको रिट खारेज गरेको हो ।

रिट खारेज भएसँगै टंकलाल घिसिङले सदस्य सचिवमा निरन्तरता पाएका छन् । आफ्नो कार्यकाल सम्हाल्न आएका घिसिङले यसै आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका गर्ने बताएका छन् । 
उक्त प्रकृयाका लागि चाडै नै आफूले सातै प्रदेशका प्रदेश सदस्य–सचिवहरुसँग छलफल गर्ने बताए ।

‘नवौं राष्ट्रिय खेलकुद मेरो पहिलो प्रथामिकता हो । प्रतियोगिता यो आर्थिक मसान्तभित्र गर्नका लागि मैले भोलि देखिनै प्रयास थाल्नेछु । त्यसैका लागि मैले सातै प्रदेशका सदस्य–सचिवहरुसँग छलफल गर्नेछु । यो विषयमा खेलकुद मन्त्रालयमा छलफल गर्दै चाँडै नै हामी निष्कर्ष निस्कनेछौँ,’ घिसिङले भने ।  

कोरोना महामारीका कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको थियो । प्रतियोगिताका लागि घिसिङले गत मंसिर १३ गते पद सम्हाल्ने वित्तिकै फागुनसम्मा गरिसक्ने बताएका थिए । नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा हुनेछ । पोखरामा आयोजना हुने प्रतियोगिताका लागि धेरै भौतिक प्रविधिहरू निर्माण भइसकेका छन् । 

सदस्य–सचिव घिसिङले प्रतियोगिता चुनावपछि मात्र हुने देखिएको बताएका छन् । चुनावअघि प्रतियोगिता गर्न असहज रहेको बताए । उनले चुनावको माहोलमा प्रतियोगिताका लागि सहज नहुने बताए ।  ‘चुनावको समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सहज छैन् । यसअघि फागुनमा हुनुपर्ने प्रतियोगिता सयमा हुन सकेन । अब बैशाख ३० सम्म राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने भन्ने तयारी थियो । तर, चुनावको समयले प्रतियोगिता गर्न सहज छैन । हामी त्यसको तयारी भने आजै देखि गर्नेछौं,’ घिसिङले भने । 

यसअघि रातोपाटीसँगको कुराकानीमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनावपछि मात्र हुने बताएका थिए । उनले चुनावको समयमा आचार संहिता लागू हुने भएकाले प्रतियोगिता चुनावपछि मात्र हुने बताए । 

‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चुनावअघि हुन सम्भव छैन । यद्यपि हामी प्रतियोगिताको तयारी राख्ने भन्ने छैन । चुनावपछि प्रतियोगिता गर्ने माहोल बनाउने छौं । त्यसका लागि सातै प्रदेशका सदस्य–सचिवहरुसँग छलफल गर्नेछौं,’ मन्त्री गहतराजले भनेका थिए । 

सदस्य–सचिव घिसिङले राष्ट्रिय प्रतियोगिता आयोजना अघि खेलाडीलाई तयारीका लागि समय आवश्यक हुने बताएका छन् । खेलाडीहरुलाई तयारीका लागि केही समय दिएपछि मात्र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति घोषणातर्फ लाग्ने घिसिङले बताए । 

‘खेलाडीहरुलाई तयारीका लागि पहिले समय दिनेछौँ । खेलकुदको विधि र विधान बमोजिम नै हामी अघि बढ्नेछौँ । त्यसका लागि हामी भौतिक पूर्वधारको तयारी पूरा गर्दै गर्नेछौं । अनि खेलाडीहरूको तयारीलाई पनि सँगै लैजानेछौँ । प्रतियोगिता गर्नका लागि गर्नेभन्दा पनि प्रतियोगिता सबै रुपमा सफल बनाउने विषयमा अघि बढ्नेछौँ,’ घिसिङले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप